गाउँपालिकाले छाइदियो दृष्टिविहीनकाे घर – Nepal Press

गाउँपालिकाले छाइदियो दृष्टिविहीनकाे घर

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका–७ स्वारका ५२ वर्षीया राजु कामी सात वर्षको उमेरमा नै दृष्टिविहीन भए । २०७२ को भुकम्पले घर लडेपछि पुनर्निर्माण प्राधिकरणबाट आउने अनुदानले घर त जसोतसो निर्माण गरेर तर छानो छाउना नसक्दा उनी समस्यामा थिए ।

पुरानो घरको जस्तापाताले बेरबार गरेर घर छाएपनि वर्षाको पानीले घर चुहिने,हिउँदमा हुरीले छानो उडाउने भएपछि दृष्टिविहीन राजु घर छाइदिने दाताको खोजीमा धेरै ठाउँमा भौतारिए तर कतैबाट पनि घर छाइदिने दाता फेला परेन ।

सेतो छडी टेक्दै उनी घर नजिकै रहेको गाउँपालिकामा आफ्नो घर छाउने व्यवस्था गर्न अनुरोध गर्दै गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनालाई भेटे । घरमा बस्न नसक्ने अवस्था भएपछि गाउँपालिकाले तत्कालै प्राविधिक कर्मचारीहरु खटाएर स्थलगत निरीक्षण गर्न अध्यक्ष तिमिल्सिनाले निर्देशन दिएका थिए ।

प्राविधिकहरु गएर उनको घरको स्थलगत निरीक्षण पछि समस्या भएको देखिएपछि गाउँपालिकाले ट्रस्ट राखेर जस्ताको छानो छाउने निर्णय गरेपछि अहिले दृष्टिविहीन राजुको परिवार हिउँदमा हुरी आउँदा मात्रै होइन वर्षामा पानी आउँदा पनि आफ्नै घरमा आनन्दसँग बस्न पाउने भएपछि खुसी भएका छन् ।

गाउँपालिकाले फलामको ट्रस्ट, जस्ता लगेर उनको घर छाइदिएको गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले जानकारी दिए । ‘उहाँ दृष्टिविहीन मात्रै होइन आर्थिक अवस्था पनि कमजोर भएपछि गाउँपालिकाको सहयोगमा उहाँको घर छाइदिएका छौं’ तिमिल्सिनाले भने,‘ जनशक्ति, सामग्री सहित १ लाख रुपैयाँ खर्च गरेर घर छाएका छौं ।’ गाउँपालिकाले घर छाइदिएपछि अहिले राजुको परिवार खुसी भएका छन् ।

घरसम्म जानको लागि पक्की बाटो

राजुको घरसम्म जाने बाटो खेतको आली हुँदै जानुपर्ने हुँदा उनलाई दैनिक घरसम्म आवतजावत गर्न निकै समस्या थियो । धेरै पटक त म अप्ठ्यारो बाटोमा लडे पनि ।

उनले भने,‘ अहिले गाउँपालिका र वडाले व्यवस्थित बाटो बनाइदिएपछि हिँडडुल गर्न सजिलो भएको छ ।’ गाउँपालिकाले चालु आर्थिक वर्षमा साढे २ लाख रुपैयाँको बजेटबाट पुरानो बाटोलाई ढलान र सिढी राखेर व्यवस्थित बनाइएको वडा नम्बर–७ का वडाध्यक्ष इश्वर तिमिल्सिनाले जानकारी दिए ।

खासमा उहाँ कै लागि लक्षित गरेर बाटो निर्माण गरेका हौ,यो बाटो निर्माण भएपछि अन्य स्थानीयलाई पनि आफ्नो खेत सम्म जानका लागि सहज भएको छ ‘ वडाध्यक्ष तिमिल्सिनाले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *