जथाभाबी फोहोर फाल्दा लमही बजार छेउको वन क्षेत्र दुर्गन्धित – Nepal Press

जथाभाबी फोहोर फाल्दा लमही बजार छेउको वन क्षेत्र दुर्गन्धित

अजम्मरी सामुदायिक वन बन्यो नगरपालिकाको अव्यवस्थित डम्पिङसाइड

रुपन्देही । दाङको लमहीमा रहेको अजम्मरी सामुदायिक वन क्षेत्र जथाभाबी फोहर फालेर दुर्गन्धित बनेको छ । पूर्वपश्चिम राजमार्ग लमही बजारसँग जोडिएको अजम्मरी सामुदायिक वन क्षेत्र यसरी दुर्गन्धित बनेपछि स्थानीयलाई मात्रै होइन बाटो हिँड्ने सबैलाई असर गर्न थालेको छ ।

लमही बजार क्षेत्रको फोहोर लमही नगरपालिकाले जथाभाबी वन क्षेत्रमा फाल्नाले स्वच्छ वातावरण मानिने यो क्षेत्रमै दुर्गन्ध बढेको स्थानीयको गुनासो छ ।

बिहानको समयमा लमही नगरपालिकाको केही ट्याक्टरबाट अजम्मरी सामुदायिक वन क्षेत्रमा घर, मासु पसल, सैलुन पसल, मेडिकलबाट निस्किने फोहोर जथाभाबी फ्याँकिएका छन् ।

त्यसै गरी, रक्सीका बोतल, मेडिकलमा प्रयोग भएका सुई, सीसी, बोतल जथाभाबी फालिएका छन् । लमही नगरपालिकाले बजार क्षेत्रको फोहोर जथाभाबी फाल्ने गरेका कारण अजम्मरी सामुदायिक वन क्षेत्रमा दुर्गन्ध बढेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन रिजालले बताए । सामुदायिक वनमा फ्याँकिएको फोहोरको दुर्गन्धका कारण आसपास बस्नसमेत समस्या भएको उनको भनाइ छ ।

‘सामुदायिक वन उपभोक्ता समूहद्वारा जैविक विविधता ग्रिन पार्क सञ्चालन गरेका छौँ । उक्त पार्कदेखि करिब पाँच सय मिटर पश्चिमतर्फ लमही नगरपालिकाले बजार क्षेत्रभित्र निस्कने फोहोर जथाभाबी रूपमा फाल्ने गरेको छ । सामुदायिक वनमै पर्यटकीय आकर्षणको पार्क रहेको छ र पार्कमा घुम्न आउने पर्यटकहरूले समेत गुनासो पोख्ने गरेका छन्’, उनले भने ।

लमही नगरपालिकाले अजम्मरी सामुदायिक वन क्षेत्रभित्र गल्ने र नगल्ने फोहोर छुटाउनका लागि भवन निर्माण गरेको छ । तर ती भवन सञ्चालनमा नआएर यसै अलपत्र परेको छ ।

भवनले राम्रो स्याहारसुसार नपाउँदा भवन दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । हरियाली भएको वन क्षेत्र वातावरणीय हिसाबले राम्रो मानिँदै आए पनि लमहीलाई सुन्दर बनाइएका सामुदायिक वनहरू भने फोहोर फाल्ने ‘डम्पिङ् साइट’ बनेको अध्यक्ष रिजालले बताए ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रवि श्रेष्ठले लमही नगरपालिकाले फोहोर मैला व्यवस्थापन ऐनको कार्यान्वयन गर्न आवश्यक रहेको बताउँछन् । यता वनका कोषाध्यक्ष तेजबहादुर विकले वन क्षेत्र नै कुरूप हुने गरी फोहोर फाल्ने कार्य भइरहँदा सम्बन्धित निकायको ध्यान नपुगेको गुनासो गरेपनि सुनुवाइ नभएको बताए ।

स्थानीय तहले फोहोर मैला व्यवस्थापन ऐनको कार्यान्वयन नगरेका धेरै उदाहरण छन् । फोहोर मैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले फोहोर मैला व्यवस्थापन नियमावली २०७० जारी गरे पनि कार्यान्वयन नहुँदा स्थानीय तहले फोहोरलाई बाटो तथा सामुदायिक वनमा लगेर फाल्ने गरेको पाइएको छ । तर निगरानी भएको छैन ।

लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी सागरले अजम्मरी सामुदायिक वन क्षेत्रमा फालिने फोहोर पुनः निस्केर बजारमा आउने भएको कारण फोहोर फाल्ने ठाउँ उपयुक्त नरहेको स्वीकार गर्छन् ।

उनले बस्तीदेखि केही टाढा फोहोर फाल्नुपर्ने बताए । ‘अहिले फोहोर जथाभाबी फालिँदै आएको ठाउँको विकल्प खोज्नुपर्ने देखिएको छ । बजार क्षेत्र वा अन्य क्षेत्रबाट निस्किएका विभिन्न किसिमका फोहोर जथाभाबी वन क्षेत्रमा फाल्न मिल्दैन’, डिभिजन वन कार्यालय दाङ (देउखुरी)का डिभिजनल प्रमुख राजु क्षेत्रीको भनाइ छ ।

उनले अजम्मरी सामुदायिक वनले लिखित कारबाहीको सहयोगको माग गरेमा वन ऐन अन्तर्गत कडा कारबाही हुने बताएका छन् ।

‘देउखुरी क्षेत्रका सामुदायिक वनमा फोहोरले गर्दा वन क्षेत्र दुर्गन्धित बनेको लिखित रूपमा जानकारी हामीसम्म आइपुगेको छैन । जे भए पनि त्यसरी फोहोर फाल्न चाहिँ मिल्दैन’ उनले भने ‘कुनै सामुदायिक वनमा कसैले जथाभाबी फोहोर फालेको छ भने डिभिजन वन कार्यालय दाङ (देउखुरी)मा पत्राचार गरोस्, तत्कालै नियन्त्रणमा लिन्छौँ ।’

फोहोरमा लगाइएको आगोको झिलिङ्गोले लाग्छ वनमा डढेलो

लमही नगरपालिका अजम्मरी सामुदायिक वनको केही भागलाई डम्पिङ् साइडको रूपमा प्रयोग गर्दै उक्त क्षेत्रमा जथाभाबी फोहोर फाल्दै आएको छ ।

अजम्मरी सामुदायिक वनले पटक–पटक पत्राचार गरेतापनि नगरपालिकाले अटेरी गर्दै जथाभाबी फोहोर फाल्ने गरेको हो । डम्पिङ साइड फोहोरमा लगाइएको आगोको फिलिङ्गोका कारण अजम्मरी सामुदायिक वन क्षेत्रमा प्रत्येक वर्ष डढेलो लाग्ने गरेको छ ।

वनमा लागेको डढेलो नियन्त्रणमा लमही नगरपालिकाले कुनै चासो नदिँदा प्रत्येक वर्ष कयौँ वन्यजन्तु, वनमा वृक्षारोपण गरिएका बोटबिरुवाहरू मासिँदै गएका छन् ।

फोहोर मैला व्यवस्थापनका लागि छुट्टै नियमावली बनाउनुपर्ने भए पनि स्थानीय सरकारले ध्यान नदिँदा समस्या आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर