जजिराले पनि छाड्यो नियमित उडान, राष्ट्रिय ध्वजावाहकको छैन चासो – Nepal Press
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको एक वर्ष:

जजिराले पनि छाड्यो नियमित उडान, राष्ट्रिय ध्वजावाहकको छैन चासो

रुपन्देही । ०७९ जेठ २ गते निकै तामझामबीच तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका थिए ।

तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, पर्यटन मन्त्री प्रेम आलेसहितका उच्च पदस्थ व्यक्तिहरू यो विशेष अवसरमा आएका थिए । सोही दिन बुद्ध जयन्ती पनि परेकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने कार्यक्रम थियो । यही सन्देश दिनका लागि निर्माणको सबै काम पूरा नभए पनि हतारमा यसको उद्घाटन गरिएको थियो ।

भरखर स्थानीय तहको निर्वाचन सकिएर संघीय तथा प्रदेश सभाको निर्वाचनको लागि मिति तोक्ने विषयमा छलफल चल्दै गर्दा चुनावी नारा बनाउन पनि तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले आफ्नो क्षेत्रमा विकासे योजना छिटो उद्घाटन गराउन चाहेका थिए ।

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आफू मन्त्री हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक–पटक यहाँ ल्याएर यसको लागि आवश्यक बजेट विनियोजन गराएपनि उद्घाटन देउवामार्फत आफू सरकारमा भएको बेला गराएर यसको जस लिन खोजेका थिए खाणले । यही कारणले हतारमा उद्घाटन भएको यो अन्तर्राष्ट्रिय विमानस्थल अहिले अन्तर्राष्ट्रिय उडानविहीन भएको छ ।

यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको नाममा सेवा दिँदै आएको एक मात्र वायुसेवा कम्पनी जजिरा एयरलाइन्सले उडान रोकेपछि विमानस्थल आन्तरिक उडानमा सीमित भएको हो । नेपाल वायु सेवा निगमले नै अहिलेसम्म यहाँबाट अन्तर्राष्ट्रिय उडान नगरेपछि र अन्य कम्पनीहरूले समेत चासो नदेखाएपछि यो विमानस्थल सञ्चालनको चुनौती बढेको हो ।

पहिलो फेजको काम सकिएपछि दोस्रो फेजको कामका लागि ढिलाइ गरिएको छ । विदेशी एयरलाइन्सले मात्र नभएर स्वदेशकै हिमालय एयरलाइन्सले पनि दुई महिना चलाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोकेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक पूर्वाधार तयार भएर पनि विमान कम्पनीले चासो नदेखाएका कारण अर्बौँ लगानी गरेको निजी क्षेत्र अहिले त्रासमा छ ।

एक वर्षअघि जेठ २ मा पहिलो उडान गरेको जजिराले समेत पटक पटक आफ्नो सेवा बन्द गर्दै चलाउँदै गरेपनि अहिले पुनः रोकेको अवस्था छ । गत पुसमा तीन महिना विमानस्थलमा समस्या देखाउँदै उडान रोकेको जजिराले व्यावसायिक कारण देखाउँदै अहिले उडान रोकेको छ ।

अबौं लगानीको यो आयोजनामा अन्तर्राष्ट्रिय उडानको नाममा कुवेत–भैरहवा उडान गरिरहेको एकमात्र विमान सेवा कम्पनी जजिरा एयरलाइन्सले एक महिनादेखि उडान रोकेपछि यो विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले जजिरा एयरलाइन्ससँग कुराकानी भइरहेको बताए । गत पुस ६ देखि फागुन २५ सम्म जजिराले उडान रोकेको थियो । यो विमानस्थलमा नयाँ विमान कम्पनीले उडानका लागि चासो नदेखाउनु र चलिरहेका विमान कम्पनीले समेत विभिन्न कारण उडान बन्द गरेपछि अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था संकटतर्फ धकेलिएको हो ।

नाटा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्तले जेठ २ गते अन्तर्राष्ट्रिय उडान गरेको विमानस्थलमा पहिलो वार्षिकोत्सव मनाउने दिन शून्य उडानले यहाँको अवस्था झल्काउने बताएकी छन् ।

‘अवस्था यस्तो छ, व्यवसायीले यही योजना देखेर अर्बौँ लगानी गरेका छन्, यही योजना पूरा गर्न सरकारको अर्बौँ ऋण लगानी भएको छ, हाम्रो नेतृत्व कहाँ चुक्यो ? ’ उनले प्रश्न गरेकी छन् ।

पर्यटन व्यवसायी सागर अधिकारीले विमानस्थलमा उडान बढ्दै जानुपर्नेमा भएका उडान पनि रोकिनु राम्रो नभएको बताए ।

उनले भने, ‘विमानस्थल निर्माण भएको १ वर्ष नपुग्दै अन्य विमान कम्पनीहरूको उडान थप्नु पर्नेमा भएका उडान पनि रोक्नु राम्रो सङ्केत होइन, यसले व्यवसायीलाई चुनौती थपेको छ ।’

विमानस्थलले गति नलिएका कारण स्थानीय पर्यटन व्यवसायी पनि चिन्तित भएका छन् । अन्तर्राष्ट्रिय उडानले गति लिएमा पर्यटकको चहलपहल बढ्ने आशा गरेका व्यवसायीहरू पछिल्लो एक वर्षको अवस्था देखेर निराश भएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भुल भने जजिराले रातमा उडान गर्दा विमानस्थलमा ‘ओभर टाइम’ दिएर ड्युटी लगाउनुपर्ने कारण सञ्चालन खर्च बढेकाले बिहानको समयमा सार्न अनुरोध गरेपछि त्यसकै व्यवस्थापनका लागि उडान रोकेको बताउँछन् ।

उनले जजिराले फेरि उडान सुरु गर्छु भनेको जानकारी दिए । जजिराले यसअघि हप्तामा तीन दिन मङ्गलवार, बिहीबार र शनिवार नियमित उडान गर्दै आएको थियो ।

अन्तर्राष्ट्रिय उडान रोकिँदा विमानस्थललाई लक्षित गरेर होटेललगायत पर्यटन क्षेत्रमा लगानी गरेकाहरू मारमा परेका छन् भने अर्बौँ लगानीमा बनेको विमानस्थलले अन्तर्राष्ट्रिय उडान भित्र्याउन नसक्दा दैनिक लाखौँ रूपमा नोक्सान व्यहोर्नु परेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३ देखि ४ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्न सक्ने भए पनि अहिले पूर्ण रूपमा अन्तर्राष्ट्रिय उठान ठप्प भएको छ । तर विमानस्थलमा प्रवक्ता दीपक बज्राचार्यले अन्य विमान कम्पनीले पनि उडानमा चासो देखाइरहेका कारण केही समयमा विमानस्थलले गति लिने विश्वास व्यक्त गरे ।

जजिराले मे १५ देखि नियमित गर्ला ?

जजिरा एयरलाइन्सले रोकेको उडान मे १५ गतेदेखि गर्ने भएको छ । कुवेत–भैरहवा उडान गरिरहेको यो एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भुल जजिराले १५ मे देखि फेरि उडान सुरु गर्छु भनेको बताएका छन् ।

अहिले रातमा उडान गर्दा विमानस्थलमा ओभर टाइम दिएर ड्युटी लगाउँदा सञ्चालन खर्च बढेकाले बिहानको समयमा सार्न अनुरोध गरेपछि त्यसकै व्यवस्थापनका लागि जजिराले उडान रोकेको उनले बताए । जजिराले यसअघि एक हप्ताअघिदेखि नै उडान सुरु गर्ने बताए पनि प्राविधिक कारण देखाएर उडान गरेन । यसअघि हप्तामा तीन दिन मङ्गलवार, बिहीबार र शनिवार नियमित उडान गर्दै आएको छ ।

पूर्ण क्षमतामा सञ्चालन गर्न बेवास्ता गरेको व्यवसायीको गुनासो

गएको माघ महिनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा आएका बेला व्यवसायीको एक समूहले भेट गरी नेपाल वायुसेवाबाट उडान भर्न आग्रह गरे ।

उनीहरूले ज्ञापन पत्र बुझाउँदै विमानस्थललाई पूर्ण क्षमता सञ्चालन गर्न माग गर्दै नियमित उडानका लागि पहल गरे । निजी क्षेत्रको अर्बौँ लगानी विमानस्थल पूर्ण क्षमतामा नचल्दा डुब्ने जोखिम भएको उनीहरूको चिन्ता थियो । त्यसबेला विमानस्थलमा एउटा पनि अन्तर्राष्ट्रिय उडान थिएन । सातामा तीन उडान गर्दै आएको जजिराले पनि स्थगित गरेको थियो ।

त्यसयता व्यवसायीले पटक पटक आन्दोलन र ज्ञापन पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गरिरहेका छन् । तर, विमानस्थल पूर्ण क्षमतामा चल्न सकेको छैन । सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ, सिद्धार्थ होटल संघ, नेपाल टुर्स एण्ड ट्राभल एजेण्ट (नाट्टा) लगायतका दर्जर्नौं व्यावसायिक संघसंस्थाले विमानस्थल पूर्ण क्षमतामा नचलेकोप्रति चिन्ता व्यक्त गर्दै आएका छन् । यो बीचमा पर्यटनमन्त्रीसँगै पर्यटन राज्यमन्त्री, नागरिक उड्डयन प्राधिकरण, काँग्रेस, एमाले, माओवादी लगायतका उच्चका तहका नेताहरूलाई व्यवसायीले ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गरेका छन् ।

एक महिना अघि त ४० बढी संस्था विमानस्थलको गेटमा धर्ना नै दिए । विरोध जनाए । सरकारलाई तत्काल नेपाल वायुसेवाबाट सेवा सुरु गर्न आग्रह गरे । तर, कतैबाट सुनुवाइ भएको छैन । बुद्धजयन्तीको अवसरमा लुम्बिनी आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि सिद्धार्थ उद्योग वाणिज्य संघले दर्जन माग राख्दै विमानस्थल तत्काल पूर्ण क्षमतामा सञ्चालनका लागि ज्ञापन पत्र बुझाएको छ ।

‘हामीले विरोध गर्ने, ज्ञापन पत्र दिने जति गरे पनि सरकारले सुनेन’, उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘अब थप कार्यक्रम घोषणा गरेर नै आन्दोलन गर्नुपर्ने स्थिति नआउला भन्न सकिँदैन ।

उद्योग व्यापार संगठनका अध्यक्ष अनिलकुमार ज्ञवालीले सरकारले पूर्णरुपमा बेवास्ता गरेकाले अब आन्दोलन चर्काउने चेतावनी दिए । विमानस्थल नियमित सञ्चालनको माग गर्दै रुपन्देहीका उद्योगी व्यवसायीले पछिल्ला केही महिनायता निरन्तर दबाबका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उडान नियमित नभएपछि उनीहरूले दबाबका कार्यक्रम सञ्चालन गरिरहेका हुन् ।

अहिले कुवेतको जजिरा एयरलायन्सले मात्र उडान भरिरहे पनि जजिराले पनि केही समययता उडान रोकेपछि यहाँका उद्योगी व्यवसायी चिन्तित बनेका छन् । विमानस्थल लक्षित गरेर जिल्लामा ठूलो लगानी भइसकेको जनाउँदै उनीहरूले पूर्ण क्षमतामा चलाउनु पर्ने माग गरिरहेका हुन् ।

सरोकारवालाले नेपाल एयरलायन्सले यहाँबाट उडान भर्नुपर्नेमा माग गरिरहेका छन् । विमानस्थल चलाउन स्थानीय, प्रदेश र संघ सरकारलाई दबाब दिने उनीहरूले जनाएका छन् । जजिरा एयरलाइन्सले अहिले सातामा तीन दिन उडान भरिरहेको थियो ।

धेरैजसो जजिराले खाडी मुलुक आउजाउ गर्ने श्रमिक मात्र बोकिरहेको छ । यहाँबाट भारत लगायतका मुलुकमा यात्रा गर्ने धेरै व्यक्ति भए पनि मुलुककै वायुसेवा कम्पनीले उडान नभर्दा विमानस्थल ओझेलमा परेको स्थानीयको दुखेसो छ ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमको कम्तीमा एउटा विमान अनिवार्य रूपमा सञ्चालनमा ल्याउनुपर्ने बताए । निजी क्षेत्रले आवाज उठाइरहेको सम्बन्धित निकायले नसुनिदिँदा बाह्य पर्यटकका अगाडि मुलुककै लाज भइरहेको उनले बताए ।

‘सरकारको ध्यान नै नपुगेकाले समस्या देखिएको हो,’ उनले भने,‘भौतिक पूर्वाधार बनाएर खर्च गर्ने, सञ्चालन गर्न नसक्ने हो भने जनताको पैसाले बनेका सरकारी सबै संरचना यसरी नै खेर जानेछन् ।’

व्यवसायीले दर्जनौंपटक विमानस्थल कार्यालयलाई ज्ञापन पत्र दिएका छन् । छलफल गरेका छन् । तर, व्यवसायीको माग सरकारले नसुन्दा सार्थकता पाउन सकेको छैन । एक हिसाबले भन्ने हो भने सरकारले व्यवसायीको माग र विमानस्थल सञ्चालनप्रति पूर्ण बेवास्ता गरिरहेको छ ।

निजी क्षेत्रले विमानस्थललाई लक्षित गरी अर्बौँ लगानी गरेको छ । तर, त्यो लगानी विमानस्थल पूर्ण क्षमतामा नचल्दा बालुवामा पानी हाले सरह भएको छ । व्यवसायीको निरन्तर दबाब पछि सरकारले आउँदो जेठ १७ बाट नेपाल वायुसेवामार्फत भैरहवाबाट उडान भर्ने जनाएको छ । पर्यटन मन्त्री किराँतीले जेठ १६ बाट उडान हुने भन्दै व्यवसायीलाई ढुक्क हुन आग्रह गरेका छन् । तर, पटक पटक झुकाइरहेको सरकारले जेठ १६ गतेबाट नेपाल वायुसेवामार्फत उडान सुरु गर्छ भन्नेमा व्यवसायी ढुक्क भने छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर