नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका दुई जोडी बाबुछोरा, तेस्रो बन्लान् बादल-प्रतीक ? – Nepal Press

नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका दुई जोडी बाबुछोरा, तेस्रो बन्लान् बादल-प्रतीक ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १३ जना पक्राउ परेका छन् । केही फरार छन् । अनुसन्धानमा तानिएकामध्ये दुई जोडी बाबुछोरा छन् ।

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप पक्राउ परिसकेका छन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई पक्राउ परेका छन् भने राईका छोराविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । उनी फरार छन् ।

बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । फरार रहेका उनको प्रहरीले सक्रियतासाथ खोजी गरिरहेको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा भएको एक अर्ब रुपैयाँभन्दा बढीको ठगीमा रायमाझी बाबुछोरा र राई बाबुछोरा संलग्न रहेको बलियो प्रमाण रहेको प्रहरीको दाबी छ । उनीहरुले पैसा बुझेको प्रमाण भेटिएको अनुसन्धान अधिकारीहरु बताउँछन् ।

बैशाख २० गते रायमाझी बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सोही दिन साँझ छोरा सन्दीप भैरहवाबाट पक्राउ परेका थिए ।

पूर्वउपप्रधानमन्त्री तथा सांसदसमेत रहेका टोपबहादुर आइतबार पक्राउ परेका छन् । बैशाखको तेस्रो साता सचिव टेकनारायण पाण्डे र सुरक्षाविद् राई पक्राउ परेका थिए । पाण्डेको बयानका आधारमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण पनि पक्राउ परिसकेका छन् ।

यो प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते तीन जना विचौलियालाई पक्राउ गरी अनुसन्धान सुरु गरेदेखि नै राईका छोरा निरज ‘भूमिगत’ छन् ।

पछिल्लो समय यो प्रकरणमा संलग्न भनेर चर्चामा रहेकी खाणकी पत्नी मञ्जु पनि विदेशमा छिन् । आफू पनि पक्राउ पर्नसक्ने डरले उनी विदेशमा भागेको हुन सक्ने प्रहरी अधिकारीहरु बताउँछन् । यद्यपि मञ्जुविरुद्ध हालसम्म पक्राउ पुर्जी भने जारी भइसकेको छैन ।

आशंकाको घेरामा बादल

नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार राई यतिबेला हिरासतमा छन् । बादल र राईका छोराहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार चैतको दोस्रो साता काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेको केही दिनमै बादलका छोरा प्रतीक ‘भूमिगत’ भएका थिए ।

यो प्रकरणमा आफ्नो नाम जोडिएपछि प्रतीकले एक विज्ञप्ति निकाल्दै आफू निर्दोष रहेको र अनुसन्धानमा सहयोग गर्ने बताएका थिए । बादल गृहमन्त्री रहेका बेला भुटानी शरणार्थी समस्या समाधानका लागि कार्यदल बनेको थियो ।

कार्यदल बनाउनुअघि नै नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा पैसा उठाउन थालिएको दाबी गरिएको छ ।

त्यतिवेला गठन भएको कार्यदलले बुझाएको प्रतिवेदनमा नेपालीहरुलाई समावेश नगरे पनि राई र प्रतीकले पीडितबाट पैसा लिएका प्रमाणहरु भेटिएको प्रहरीले दाबी गरेको छ । बादलपछि खाण गृहमन्त्री भएका वेला प्रतिवेदनमा नेपालीहरुको नाम घुसाइएको पाइएको अनुसन्धान अधिकारीहरु बताउँछन् ।


प्रतिक्रिया
सम्बन्धित खवर