इतर समूहका नेताहरुको आरोपः नेतृत्वको अक्षमताले कांग्रेस बिग्रियो – Nepal Press

इतर समूहका नेताहरुको आरोपः नेतृत्वको अक्षमताले कांग्रेस बिग्रियो

रुपन्देही । नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुले पार्टीको वर्तमान नेतृत्वको असक्षमताका कारण पार्टीले लय समात्न नसकेको आरोप लगाएका छन् ।

नेपाली कांगे्रस रुपान्तरण अभियानले रुपन्देहीको भैरहवामा आयोजना गरेको अन्तरक्रियामा बोल्ने नेताहरुले नेतृत्वको गलत कार्यशैलीबाट पार्टी कमजोर बनेको उल्लेख गर्दै रुपान्तरणको खाँचो रहेको तर्क गरेका छन् ।

उनीहरुले कांग्रेसलाई रुपान्तरण गर्दै बलियो कांग्रेस बनाउनतर्फ अब दवाव दिनुपर्ने बताए । नेताहरुले भ्रष्टाचारमा मुछिएका कुनै पनि नेतालाई उम्कन दिन नहुने र यो विषयमा कोही पनि उदार हुन जरुरी नभएको धारणा राखेका छन् ।

युवा नेतृत्वले हस्तक्षेप गरेरै भएपनि पार्टी नेतृत्वमा जान नसके अस्तित्व खतरामा पर्ने उनीहरुको भनाइ थियो । कार्यक्रममा सहभागी कांगे्रसका नेता तथा कार्यकर्ताले नीति महाधिवेशन तथा विशेष महाधिवेशन बोलाएरै भएपनि पार्टीलाई जोगाउनुपर्नेमा विषयमा जोड दिएका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य मधु आचार्य, डा.गोबिन्द पोखरेल, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्व केन्द्रीय सदस्य गुरु घिमिरे, युवा नेता भुपेन्द्रजंग शाही, लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाल, पाल्पा सभापति बीरबहादुर राना, रुपन्देही उपसभापति थानेश्वर घिमिरे, कांग्रेस नेताहरु फकरुद्धिन खान, रमा अर्याल लगायतले बोल्दै पार्टीलाई कुनै नेताको नीजि मामिला, घरेलु मामिला हुन दिनबाट जोगाउदै साझा मामिला बनाउनुपर्ने बताएका छन् ।

नेपाली कांगे्रसका नेता प्रमोदकुमार यादवको अध्यक्षता तथा लुम्बिनी प्रदेश सदस्य विष्णु पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा नेताहरुले कांगे्रसलाई युगसापेक्ष रुपान्तरण गर्दै लैजानका लागि अभियानको सुरुवात गरिएको बताउँदै सागठनिक सुशासन अभियानलाई पनि संगै चलाउनुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर