सीआईबीको टोली दिल्लीमा भौतारिँदै थियो, टोपबहादुर बुढानिलकण्ठमा प्रकट – Nepal Press

सीआईबीको टोली दिल्लीमा भौतारिँदै थियो, टोपबहादुर बुढानिलकण्ठमा प्रकट

काठमाडौं ल्याइएका हुन् कि आफैं आएका हुन् टोपबहादुर ?

काठमाडौं । आइतबार राति हुरीबताससहित काठमाडौं उपत्यकामा घनघोर वर्षा भइरहेका बेला अचानक एउटा खबर सार्वजनिक भयो- टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ ।

समाचार आइसक्दा पनि काठमाडौं प्रहरी परिसरदेखि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयसम्मले यसबारे अनभिज्ञता प्रकट गरे । बरु उनीहरुले अनुमान लगाए- आईजीपीले खटाएको टोलीले पक्राउ गरेको हुनसक्छ ।

नभन्दै रायमाझी बुढानिलकण्ठस्थित आफन्तको घरबाट पक्राउ परेको आईजीपी बसन्तबहादुर कुँवरले पुष्टि गरे । त्यसको केही समयमै आईजीपीको प्रत्यक्ष निर्देशनमा चल्ने प्रतिआतंकवाद हेर्ने प्रहरीको युनिट विशेष व्युरोको टोलीले रायमाझीलाई गाडीमा राखेर टेकुस्थित काठमाडौं जिल्ला प्रहरी परिसरमा बुझाएको थियो ।

टोपबहादुर शनिबार पोखराबाट काठमाडौंस्थित आफन्तको घरमा आएर बसेको र विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरी अधिकारीका भनाइहरु सार्वजनिक भए । एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जालमा स्टाटस लेख्दै टोपबहादुरले आत्मसमर्पण गरेको दाबी गरे ।

बस्नेतले लेखेका छन्, ‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरीसामु पुग्नुभएको छ । नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पूर्ण अपराधीहरुलाई कारबाहीको दायरामा ल्याउन अनुरोध छ ।’

प्रहरीका अनुसार रायमाझीलाई नियन्त्रणमा लिइँदा उनी मदिरा सेवन गरेको अवस्थामा थिए । तर, उनी कसरी पक्राउ परेका हुन् भन्नेबारे स्वयं यो ठगी प्रकरणको अनुसन्धान गरिरहेका अधिकारी नै अन्योलमा छन् ।

‘शनिबारसम्म कुनै चालचुल थिएन, हामी हेरिरहेका थियौं । आइतबार साँझ एक्कासि पक्राउ पर्दा छक्क पर्‍यौं’, एक अधिकारी भन्छन् । टोपबहादुरलाई भारतबाट ल्याएर काठमाडौंमा पक्राउ परेको देखाइएकोदेखि उनी आफैं काठमाडौंमा आएर आत्मसमर्पण गरेकोसम्म अनुमान प्रहरी अधिकारीहरु लगाउँछन् ।

‘यत्रो दिनदेखि नेपाल र भारतमा खोजी भइरहेका व्यक्ति काठमाडौंको बुढानिलकण्ठमा टुप्लुक्क देखिएर पक्राउ पर्नु सामान्य तरिकाले सहज छ जस्तो देखिँदैन’, एक अधिकृत भन्छन्, ‘आफैं जानकारीसहित काठमाडौंमा आएर आत्मसमर्पण गरेको हुनसक्छ । भारतबाट प्रहरीले ल्याएको पनि हुनसक्छ । यो त ल्याउने टोली, आईजी साब र स्वयं टोपबहादुरलाई मात्र थाहा हुने कुरा भयो ।’

रायमाझीले भने आइतबार प्रहरीले नियन्त्रणमा लिएपछि काठमाडौं प्रहरी परिसरका अधिकारीसँग आफू पोखरामा बसेको र शनिबार साँझ काठमाडौं आएको बताएका थिए ।

उल्लेखनीय के छ भने आईजीपी कुँवरकै निर्देशनपछि रायमाझीलाई खोज्दै भारत पुगेको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोली आइतबारसम्म त्यहाँ भौतारिइरहेको थियो । आइतबार साँझसम्म उनीहरु दिल्लीका विभिन्न स्थानमा खोजिरहेका थिए । उक्त टोली सोमबारमात्र नेपाल फर्किएको छ ।

गत वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि त्यही साँझदेखि रायमाझी मोबाइल स्वीच अफ गरेर सम्पर्कविहीन भएका थिए । त्यसअघि उनी अर्घाखाँचीमा आयोजित एक कार्यक्रममा सहभागी भएर सभामुखकै गाडीमा भैरहवासम्म आएका थिए । काठमाडौं आउने हवाई टिकटसमेत काटिसकेको अवस्थामा उनी रातिबाट बेपत्ता भएका हुन् ।

प्रहरीले रायमाझीलाई भारतको गोरखपुरसम्म पुर्‍याउने व्यक्तिलाई भेटेको थियो । त्यहाँबाट नयाँ दिल्ली पुगेका उनले आफन्तहरुसँग भेटघाट गरेको पनि प्रहरीले चाल पाएको थियो । उनी चण्डीगढसम्म पुगेको जानकारी नेपालमा रहेका प्रहरी अधिकारीले पाएका थिए ।

‘बिहीबारसम्म उहाँ दिल्लीमा रहेको जानकारी पाएपछि यहाँबाट सीआईबीको टोली मुभ भएको थियो । तर, प्रहरी टोली भारत लागेको जानकारी पाएपछि उहाँ त्यहाँबाट नेपालतर्फ आएको देखिन्छ’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारी भन्छन् ।

पछिल्लो समय रायमाझीमाथि उनकै पार्टी नेकपा एमालेबाट पनि दबाब बढेको प्रहरी अधिकारीहरु बताउँछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि रायमाझी निकटका व्यक्तिहरु आफ्नो सम्पर्कमा आएको बताएका थिए । एमाले बैठकले पनि रायमाझीलाई प्रहरीमा उपस्थित भएर कानूनी प्रक्रियालाई सघाउन निर्देशन दिएको थियो ।

‘भगाएको’ आरोप लागेपछि कस्सिएका आईजीपी कुँवर

रायमाझीलाई लिन वैशाख २१ गते काठमाडौं प्रहरी परिसरको विशेष टोली धादिङसम्म पुगेको थियो । रायमाझीले आईजीपी कुँवरलाई फोन गरेर आफू दिउँसो २ बजेसम्म काठमाडौं प्रहरी परिसरमा आइपुग्ने बताएपछि भैरहवाबाट काठमाडौंतर्फ आइरहेको उनको निजी गाडीलाई रेकी गर्दै धादिङसम्म पुगेको थियो ।

तर, गाडी भेटिए पनि रायमाझी भेटिएनन् । आफू काठमाडौं आउँछु भनेका उनी गाडी र चालकलाई मात्र काठमाडौंतर्फ पठाएर फरार भएका थिए । यही कारण कुँवर दबाबमा परे ।

रायमाझीको विश्वासमा पर्दा प्रहरीले ‘चक्मा’ खायो । कुँवरकै कमजोरीका कारण आरोपित प्रहरीको हातैबाट उम्किएको आरोप लाग्यो । त्यसयता कुँवर आफैंले रायमाझीको खोजीमा सक्रियता बढाएको अधिकारीहरु बताउँछन् । विशेष व्युरोको टोली रायमाझीलाई नियन्त्रणमा लिन पठाउनुको पछाडि पनि आईजीपीले जवाफ दिएको अर्थमा बुझ्न सकिने उनीहरुको भनाइ छ ।

‘विशेष व्युरोको टोली बाहिर देखिँदैन । उनीहरु आईजीको प्रत्यक्ष निर्देशनमा काम गर्छन् । काठमाडौंमा यति धेरै युनिट हुँदाहुँदै आईजी साबले विशेष व्युरोको टोलीलाई त्यहाँ पठाउनुले पनि त्यसको पुष्टि हुन्छ’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारी भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर