युएईमा बाबुको मृत्युपछि न्यायका लागि भौँतारिएका १८ वर्षीय छोरा (भिडिओ) – Nepal Press

युएईमा बाबुको मृत्युपछि न्यायका लागि भौँतारिएका १८ वर्षीय छोरा (भिडिओ)

‘मम्मी र बहिनी म पाल्छु, काम दिनुस्’

कैलाली । ‘खगराज भट्ट हुनुहुन्छ ?’, माओवादी सुदूरपश्चिम संसदीय दलको कार्यालय पुगेका एक युवकले मलिन स्वरमा सोधे ।

‘एउटा छलफलमा हुनुहुन्छ’, भट्टको स्वकीय सचिव केशव जोशीले जानकारी दिए ।

‘केही थियो की ?’

‘उहाँलाई भेट्न आएको, ठूलो आश लिएर’, ती युवकको स्वर अझै मलिन भयो ।

भट्टलाई कुरिरहेका ती युवकले आफ्नो झोलाबाट झिकेर केही कागजपत्र मिलाइरहेका थिए ।

केका कागज हुन् ?’, जोशीले जिज्ञासा राखे ।

‘मेरो बुवाको दुबईमा हत्या भयो । अहिलेसम्म कसले मारे भन्ने पनि थाहा भएको छैन, बुवाको मृत्युपछि हामीले पाउनु पर्ने राहत र क्षतिपूर्ति पनि पाएका छैनौँ’, ती युवकले भने, ‘बुवाले सापटी दिनु भएकाहरूले पनि पैसा दिएका छैनन् । हामीलाई त सारै समस्या भयो सर, केही गर्दिनु पर्यो ।’

युवकले समस्याबारे जानकारी दिँदै गर्दा भट्ट कार्यालयमा पुग्छन् ।

‘उहाँ नै हो खगराज भट्ट’, जोशीले चिनाए । युवकले उठेर नमस्कार गरे ।

भिडिओ:

‘भाइ १८ वर्षको हुनुभयो । विदेशमा बुवाको मृत्युपछि न्याय, क्षतिपूर्ति र राहतको लागि आउनु भएको रहेछ । केही गर्न सकिन्छ ?’, जोशीले भट्टलाई जानकारी दिँदै सोध्छन् ।

‘के नाम हो ?’

‘प्रेम बडू’

‘के ठाउँ ?’

‘दार्चुला, व्यास गाउँपालिका धौलाकोट ।’

भट्ट र बडूबीच संक्षिप्त चिना परिचय हुन्छ ।

चार वर्ष पहिले दुबई गएका आफ्ना बुबाको रहस्यमय मृत्युपछि विक्षिप्त बसेका १८ वर्षीय युवक प्रेम अहिले सरकारबाट पाइने सुविधाका लागि विभिन्न सरोकारवाला निकाय र व्यक्तिलाई भेट्दै आफ्ना पीडा राखिरहेका छन् ।

अघिल्लो कात्तिक ६ गते प्रेमका बुबा कृष्णानन्द बडूको युएईमा मृत्यु भएको थियो । त्यसको केही समयपछि शव नेपाल आयो । तर, उनले पाउनु पर्ने क्षतिपूर्ति केही पाएनन् ।

‘१ गते बुबाले फोन गर्नुभएको थियो । सबै राम्रै थियो’, प्रेमले भने, ‘एक्कासि ६ गते मृत्यु भएको खबर आयो । हामीलाई त मृत्यु होइन बुबाको हत्या भएको जस्तो लागि रहेको छ । ’

प्रेमले बुबाको राम्रो कमाइ भइरहेको र अन्य समस्या परेका साथीहरूलाई पनि ब्याजमा पैसा लगाउने गरेको बताए । पैसाकै कारणले बुबाको हत्या गरिएको हुन सक्ने उनको भनाइ छ । तर, त्यसको आधिकारिक प्रमाण भने उनीसँग छैन । घरमा प्रेमको एक बैनी र आमा छन् ।

कमाउन गएका बुबाको मृत्यु भएपछि अहिले आर्थिक संकटले प्रेमको परिवारलाई समस्यामा पारेको छ । त्यसैमाथि बुवाले पाउनु पर्ने रकम पनि नपाएको उनको गुनासो छ । दुबईबाट शव आउँदा उनको मोबाइल पनि परिवारले पाएका थिए । त्यसमा भएका कुराका आधारमा अहिले उनले बुबाले रकम दिएका व्यक्तिहरूबाट पनि रकम असुल गरिदिन अपील गरिरहेका छन् ।

यस क्रममा प्रेमले मुख्यमन्त्रीदेखि प्रहरी प्रमुखसम्मलाई भेटिसकेका छन् । १८ वर्षको कलिलो उमेरमा बुबाको निधनपछि न्याय र आर्थिक समस्याको अवस्था लिएर उनी जहाँ–जहाँ पुगे त्यहाँ आश्वासन र निराशाबाहेक केही पाएनन् ।

प्रेम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, प्रदेश प्रहरी प्रमुख कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसम्म उनी पुगिसकेका छन् । विभिन्न दलका कार्यालय र दलका नेताहरूलाई प्रत्यक्ष भेटेरसमेत याचना गर्दा पनि समस्याको समाधान नभएको उनको गुनासो छ ।

‘मुख्यमन्त्री कार्यालय जाँदा पहिला पत्र ल्याउनु अनि हुन्छ भन्नुभयो । अहिले कागज पत्र ल्याएपछि सामाजिक विकास मन्त्रालय जाऊ भन्नुहुन्छ’, उनले भने, ‘सामाजिक विकास मन्त्रालयका निमित्त सचिवले कागज पत्रमा तोक पनि लगाइदिनु भएन ।’

नेपालगन्ज निवासी गणेश केसीसँग बुबाले ५ लाख रुपैयाँ लिन बाँकी रहेको र उक्त रकम उपलब्ध गराइदिन अपील गर्दै उनले विभिन्न व्यक्तिहरुलाई समेत गुहारी सकेका छन् । तर, कहीँ कतैबाट न्याय पाएको आभास उनलाई भएको छैन ।

‘बुबा बित्नु भयो । सरकारले राहत र क्षतिपूर्ति पनि दिएको छैन । त्यसैमाथि बुबाले पाउनु पर्ने रकम पनि अहिले दिएका छैनन्’, उनी भन्छन्, ‘घरमा मम्मी र सानी बहिनी छे । हामीलाई के खाने के लाउने भन्ने चिन्ता छ ।’

एसईई दिएका प्रेमले आफूलाई कुनै अस्थायी रोजगारीसँग जोडिदिन पनि अपील गरिरहेका छन् । ‘मेरो नागरिकता बनिसकेको छ । जस्तो पनि काम गर्न सक्छु । कार्यालय सहयोगीको काम भएपनि दिनुहोला’, उनले प्रदेश सभामा बिन्ती गर्दै भनिरहेका थिए, ‘बुबा बित्नु भयो । मम्मी र बहिनीलाई मैले पाल्छु । जस्तो भए पनि कुनै काम दिनुस् हजुर ।’

युएईबाट बुबाको शवसँगै आएका कागजात र स्थानीय प्रशासनबाट बनाएका सिफारिस बोकेर न्यायको लागि प्रेम भौँतारिन लागेको पनि झन्डै तीन महिना भइसकेको छ । तर, उनले कहीँ कतैबाट आश्वासन बाहेक केही पाएका छैनन् ।


प्रतिक्रिया

3 thoughts on “युएईमा बाबुको मृत्युपछि न्यायका लागि भौँतारिएका १८ वर्षीय छोरा (भिडिओ)

  1. उहाँको समस्या समाधानको लागि हामी केही गर्न सक्छौ कि? मा. हरि ढकाललाई भेटन लगाउनुहोला है। अथवा भाईको फोन न. उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौं ।

  2. सरकारकाे ध्यान जावाेस भाई काे
    परिवारकाे अवसथा एकदम कमजाेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर