सीमित व्यक्ति र समूहले बैंकिङ क्षेत्र उपयोग गर्दा अर्थतन्त्रमा समस्या : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

सीमित व्यक्ति र समूहले बैंकिङ क्षेत्र उपयोग गर्दा अर्थतन्त्रमा समस्या : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत, साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको दाबी गरेका छन् ।

सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशालासम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उपलब्ध स्रोत, साधनहरू अनुत्पादक र कम उत्पादक क्षेत्रमा केन्द्रित हुँदा पनि अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ छ । बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिएको भन्दै यसतर्फ समयमै उचित कदम चाल्न ध्यानाकर्षण गराए ।

प्रधानमन्त्रीले भने, ‘बैंकिङ क्षेत्रको विकास र विस्तारबाट देशमा वित्तीय पहुँच बढेको छ । कर्जा लगानीमा भएको वृद्धिबाट हरेक क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउन मद्दत पनि पुगेको छ । तर, बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिन्छ । त्यसैगरी सिमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत, साधनको उपयोग गर्ने, उपलब्ध स्रोत, साधन प्रत्यक्ष, अप्रत्यक्ष रुपमा अनुत्पादक वा कम उत्पादक क्षेत्रमा केन्द्रित हुने जस्ता समस्या पनि यस बीचमा राम्रैसँग देखिएका छन् । अहिले अर्थतन्त्रमा समस्या देखिनुमा यस्तै अनपेक्षित क्रियाकलाप पनि धेरै हदसम्म जिम्मेवार रहेका छन् । यस्तो प्रवृत्तिलाई रोक्न केन्द्रीय बैंक तथा बैंकिङ क्षेत्रले समयमै उचित कदम चाल्नु आवश्यक छ ।’

प्रधानमन्त्री दाहालले उत्पादन र रोजगारी वृद्धितर्फ देशले प्रगति हासिल गर्न नसकेको स्वीकारे । दैनिक उपभोग्य वस्तुहरूको ठुलो मात्रामा आयात गर्नुपरेकाले व्यापार घाटा चुलिँदै गएको उल्लेख गर्दै सरकारको नीति, योजना र कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्तो भएको प्रचण्डको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर