हात हल्लाउँदै अदालत गएका टोपबहादुर घोसेमुन्टो लगाएर निस्किए – Nepal Press

हात हल्लाउँदै अदालत गएका टोपबहादुर घोसेमुन्टो लगाएर निस्किए

निस्कँदा तारा बरालको नाराबाजी

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी आज म्याद थपका लागि अदालत लैजाँदै गर्दा ‘बिन्दास’ मुडमा देखिन्थे ।

गम्भीर अभियोगमा मुछिएर हिरासत बस्नु परे पनि उनको अनुहारमा मुस्कान हराएको थिएन ।

कांग्रेस नेता बालकृष्ण खाणजस्तै रायमाझीलाई पनि प्रहरीले बिना हत्कडी जिल्ला अदालत लगेको थियो । उनले अनुहारमा मास्क लगाउन पनि आवश्यक ठानेनन् । जिल्ला सरकारी वकिलको कार्यालयबाट निस्किने क्रममा केही व्यक्ति ‘चोर चोर’ भन्दै चिच्याएका थिए, तर रायमाझीले मतलब राखेनन् ।

जिल्ला अदालतभित्र प्रवेश गर्दा रायमाझी खोइ किन हो, प्रफुल्लित मुद्रामा देखिन्थे । उनले उपस्थित सञ्चारकर्मीलाई हेरेर हात हल्लाउँदै अभिवादन गरे, मानौं कुनै आसभामा सम्वोधन गर्न लागिरहेका छन् । रायमाझीको हाउभाउबाट कतै पनि उनी हिरासतबाट आएका अभियुक्त हुन् भन्ने भाव पर्थेन ।

अदालतबाट निस्किने क्रममा भने टोपबहादुरको हाउभाउ परिवर्तन थियो । उनी घोसेमुन्टो लगाएर मलिन अनुहारमा बाहिरिए । निस्कँदा पनि उनीविरुद्ध नाराबाजी भयो । यसपटक नारावाजी गर्ने अरु कोही नभएर चर्चित अभियन्ता तारा बराल थिइन् । बरालले एक्लै टोपबहादुर विरुद्ध नारा लगाइन् । उनलाई प्रहरीले पक्रेर लगेको थियो ।

तस्बिरहरू: उमेश कार्की

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर