पूर्वअर्थमन्त्री खतिवडा भन्छन्- उधारो खाएको तिर्ने पैसा छैन, शेयर कसरी बढ्छ ? – Nepal Press

पूर्वअर्थमन्त्री खतिवडा भन्छन्- उधारो खाएको तिर्ने पैसा छैन, शेयर कसरी बढ्छ ?

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार कसैले चाहेर पनि तलमाथि नहुने बताएका छन् । नेपाल प्रेससँगको कुराकानीमा उनले लाभांश, पूँजीकरण भएको अवस्था र बुक भ्याल्यू वृद्धिलाई हेरेर लगानी गर्नुपर्ने बताए ।

उद्योग, व्यवसाय र कम्पनीको क्षमता हेर्नुपर्ने भन्दै खतिवडाले त्यो चेतना कमी हुँदा कहिलेकाहीँ बजारमा उतारचढाव आउने बताए ।

बैंकको ब्याज सस्तो हुँदा लगानी बढाएर सेयर बजारमा सुधार हुने उनी बताउँछन् ।

उनले भने, ‘म अर्थमन्त्री भएका बेला सेयर बजारको लागि धेरै काम गरेको थिएँ । त्यसैले नै बजार पनि सुधार भएको थियो । थोरै बचत गरेर शेयरमा लगानी गरेपछि होल्ड गर्न सक्ने गरी मात्रै लगानी गर्नुस् भन्ने गरेको थिएँ । बैंकको व्याजकै भरमा ऋण लिएर धेरै लगानी गर्न हुँदैन । पुँजी बजारको सुधारका अधिकांश काम मेरै पालमा सुरू भएर अगाडि बढेको हो ।’

अहिले विश्वव्यापी रुपमा नै शेयर बजारमा गिरावट आएको उनको भनाई छ । करेन्सीहरूको भाउ पनि घटेको वर्तमान अवस्थामा गैरआवासीय नेपालीको लगानी व्यवस्थित गर्न सके केही सुधार हुनसक्ने खतिवडाको आँकलन छ ।

‘मान्छेसँग उधारो खाएको पैसा र बैंकबाट लिएको ऋणको सावाँव्याज तिर्ने पैसा छैन । कसरी सेयर किन्ने अवस्था देखिएको छ’, उनी बताउँछन् ।

आर्थिक मन्दीको बेला यस्तै हुने भन्दै खतिवडाले भने, ‘सेयर बजारलाई स्थायित्व दिनुपर्छ । धेरै उछालिएर जानु पनि हुँदैन । धेरै तल झर्दा सरकारले हेर्नुपर्छ । अहिले बजार ओभर करेक्सन भएको छ ।’

३ हजार २ सय अंकसम्म पुगेको सेयर बजार अहिले १ हजार ८ सय १२ मा झरेको छ । पछिल्लो सयम बजार निरन्तर ओरालो झरिरहेको छ ।

(खतिवडासँगको विस्तृत भिडिओ कुराकानी प्रतीक्षा गर्नुहोस्)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर