प्रहरीको दोहोरो व्यवहार- विचौलियालाई हतकडी, ‘भीआईपी’ फुक्का – Nepal Press

प्रहरीको दोहोरो व्यवहार- विचौलियालाई हतकडी, ‘भीआईपी’ फुक्का

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई अदालत लैजाने क्रममा प्रहरीले उनीहरूको ‘हैसियत’ अनुसार फरक व्यवाहार गरेको छ । ‘कथित’ भीआईपीहरूलाई हातमा हतकडी नलगाइ लगियो भने विचौलियाहरूलाई हतकडी लगाइयो ।

कानून सबैका लागि समान हुने सर्वमान्य सिद्दान्तविपरीत प्रहरीले एउटै मुद्दाका आरोपीहरूलाई फरक व्यवहार गरेको हो । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अहिलेसम्म प्रहरीले हतकडी लगाएको छैन । खाणलाई निवासबाट पक्राउ गर्दा हतकडी नलगाएकै कारण उनले प्रहरीको हातमा रहेको ‘गोप्य पत्र’ खोसेर चपाउन भ्याएको समाचार मिडियामा आएका थिए । खाणलाई पहिलोपटक म्याद थपका लागि अदालत लगिँदा पनि हतकडी लगाइएको थिएन ।

खाणसँगै बहालवाला सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राईले पनि हतकडी भिर्नुपरेन ।

हतकडी नलागे पनि पूर्वगृहमन्त्री खाण निकै उदास मुद्रामा थिए । अदालतबाट निस्किने क्रममा उनले बाहिर रहेकाहरूलाई नमस्कार गरेका थिए । आज उनले अनुहारमा मास्क पनि लगाएका थिएनन् । अन्य सबै आरोपीहरूले मास्क लगाएका थिए ।

कुनै पनि मुद्दामा पक्राउ परेकालाई म्याद थपका लागि अदालत लैजाँदा वा बिरामी भएर अस्पताल लगिँदा हतकडी लगाउने गरिन्छ । तर, कहिलेकाहीँ प्रहरीले सदासयता देखाएर विनाहतकडी पनि लैजाने गरेको छ । क्रिकेटर सन्दीप लामिछानेलाई विमानस्थलबाट पक्राउ गर्दा हतकडी लगाइएको थियो । पछि म्याद थपका लागि अदालत लगिँदा पनि लगाइएन ।

कुनै पनि आरोपी भाग्ने डर नभएमा हतकडी नलगाउने गरिएको प्रहरी स्रोत बताउँछ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले हतकडी लगाउने कि नलगाउने भन्ने कुरा तीनवटा कुरामा निर्भर हुने बताए ।

‘पहिलो त अदालत लैजाने कमान्डले सुरक्षा चुनौती मूल्यांकन गरेर निर्णय गर्ने हो । दोस्रो र तेस्रो भनेको थुनुवाको उमेर र स्वास्थ्य अवस्था हो’, रिजालले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

One thought on “प्रहरीको दोहोरो व्यवहार- विचौलियालाई हतकडी, ‘भीआईपी’ फुक्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर