एसपी बढुवालाई लिएर प्रहरीभित्र चरम असन्तुष्टि, भन्छन्- मूल्याङ्कन नगर्ने भए जवानलाई जिम्मा दिए भो – Nepal Press

एसपी बढुवालाई लिएर प्रहरीभित्र चरम असन्तुष्टि, भन्छन्- मूल्याङ्कन नगर्ने भए जवानलाई जिम्मा दिए भो

काठमाडौं। नेपाल प्रहरीको उपरीक्षक (एसपी)का लागि शुक्रवार राती निकालिएको बढुवा सिफारिसलाई लिएर चरम असन्तुष्टि देखिएको छ।डीएसपीको वरियतामा अगाडी रहेका शीर्ष २२ जनालाई एसपीमा बढुवाका लागि सिफारिस निकालिएको थियो।

त्यसअघि आईजीपी वसन्त बहादुर कुँवरलेपनि बढुवाको लाइनमा रहेका डीएसपीहरुलाई आफूले वरियता नमिच्ने जवाफ दिँदै आएका थिए। तर, डीएसपीको वरियता भनेको इन्स्पेक्टरमा गरेको कार्य सम्पादनका आधारमा निर्धारण हुने हो।

‘एसपीमा बढुवा गर्नका लागि त डिएसपीमा गरेको कामलाई आधार मान्नुपर्छ की पर्दैन’ असन्तुष्ट एक डीएसपी आक्रोश पोख्छन्, ‘त्यसो गर्ने हो भने इन्स्पेक्टरकै वरियता क्रमलाई आईजीपीसम्म कायम गरिदिए भो। त्यसका लागि न आईजीपी चाहिन्छन् नत बढुवा समिति। जवानले पनि यी कामहरू गर्न सक्छन्।’

भएको के हो ?

२०६१ सालमा प्रहरी निरीक्षकमा खुला स्पर्धाबाट ८४ जनाले नाम निकालेर सेवा सुरु गरेका थिए। तीमध्ये केही त्यसअघि नै तल्ला दर्जामा रहेर इन्स्पेक्टरमा भिडेका थिए।

उक्त ८४ जनाको टोलीबाट पहिलो लटमा २०७१ फागुनमा ३८ जनालाई डिएसपीमा बढुवा गरिएको थियो। इन्स्पेक्टरको योग्यता क्रम (वरियता) मा ५ औँ नम्बरमा रहेका विनोद घिमिरे र नवौँ नम्बरमा रहेका अंगुर जिसीसहित पहिलो लटमा बढुवा हुन सकेनन्।

५ महिनापछि थप १५ जना डिएसपीमा बढुवा भएका थिए। पहिलो लटमा बढुवा भएका ३८ मध्ये ३२ जना मात्र विभिन्न कारणले सेवामा छन्। उक्त भर्ना ब्याचबाट गत असारमा पहिलो लटमा १५ जना एसपीमा बढुवा भए। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पूर्व पीएसओ कोमल शाह २४ स्थानमाथि उक्लिएर पहिलो नम्बरमा पुगे।

डीएसपीको वरियता क्रममा पहिलो नम्बरमा रहेका अपिल बोहरा, दोस्रो नम्बरका गौतम केसी, सातौँ नम्बरमा रहेकी वसुन्धरा खड्का, नवौँ नम्बरमा रवीन्द्रबहादुर सिंहसहितका डीएसपीहरु पहिलो लटमा बढुवा हुन सकेका थिएनन्।

२०५८ सालमा प्रहरी निरीक्षकमा नाम निकालेका हरिहरनाथ योगी, रामप्रसाद घर्ती र राजेश थापासमेत बढुवा हुन सकेका थिएनन्। त्यसयता थापाले राजीनामा दिएका थिए। अघिल्लो भर्ना ब्याचका घर्ती र योगी मात्र बाँकी थिए।

अहिले गृह मन्त्रालयले डिएसपीमा बढुवा हुँदाको वरियता र ज्येष्ठतालाई नमिची एसपी बढुवाका लागि सिफारिस निकालेको छ।

‘अघिल्ला बढुवाहरूमा चाहिँ मिचेर पछि पार्ने अनि अहिले चाहिँ वरियता र ज्येष्ठता मिच्दिन भन्न पाइन्छ ?’, असन्तुष्ट अर्का डीएसपीको गुनासो छ।

आईजीपीले अडान लिएकै हुन् ?

प्रहरीमा सरुवा बढुवामा आईजीपीदेखि प्रधानमन्त्रीसम्म विवादमा पर्छन्। एकातर्फ वरिष्ठता र ज्येष्ठता मिचेको आरोप लाग्छ भने अर्कातर्फ कार्य सम्पादन र व्यावसायिकतालाई बेबस्ता गरेको पनि आरोप खेप्छन्।

त्यसमा पनि बढुवा समितिमार्फत आफूले चाहेको अधिकृतलाई बढुवा मात्र होइन चाहेको वरियतामा पनि राखेर बढुवा गर्ने गरेको गुनासो प्रहरीले वर्षौँदेखि गर्दै आएका छन्। गत चैतमा नेपाल प्रहरीको प्रमुख बनेयता वसन्तबहादुर कुँवर पनि यस्ता आरोप मुक्त छैनन्।

उनले लिएको वरियता र ज्येष्ठता कायमको अडान एसएसपी बढुवा र डीआईजी बढुवामा भने देखिएको थिएन। डीआईजी बढुवामा २० महिना जुनियर एससपी विकाशराज खनालले बाजी मार्दा उनीभन्दा सिनियर एसएसपीहरू जिल्लिएका थिए। यस्तै १८ जना एसपीलाई एसएसपीमा गरिएको बढुवामा पनि केही अधिकृतहरू वरियता सुधार गर्दै शीर्ष १८ मा अँटाउन सफल भएका थिए।

‘अघिल्लो ब्याचका बढुवामा चाहिँ वरियता र ज्येष्ठता मिचेर कार्य सम्पादनका कारण अगाडि आयो भन्न मिल्ने अनि अहिले चाहिँ सिनियर जुनियरको कुरा कहाँबाट आयो, प्रहरी अधिकारीको गुनासो छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *