पत्रकारले आरजूलाई छोराको नाममा किरिया खुवाएपछि… – Nepal Press

पत्रकारले आरजूलाई छोराको नाममा किरिया खुवाएपछि…

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजू देउवा शरणार्थी प्रकरणमा मुछिएर विवादित छन् । यो प्रकरण अन्तिममा आरजूमै पुगेर विसर्जन हुन सक्ने अड्कलबाजीहरू भइरहँदा उनको एउटा ताजा अन्तरवार्ताको क्लिप भाइरल भएको छ ।

हिमालय टेलिभिजनमा प्रशारण हुने ‘यक्ष प्रश्न’मा आरजूले दिएको अन्तरवार्ता प्रशारण नहुँदै भाइरल भएको हो । उक्त अन्तरवार्ताको प्रोमो नै ट्रेन्डिङमा आइसकेको छ । यसमाथि विभिन्न टीकाटिप्पणी भइरहेका छन् । आरजूको मात्र नभएर अन्तरवार्ता लिने पत्रकार राजेन्द्र बानियाको समेत ट्रोल भएको छ ।

ट्रोलको कारण हो, आरजूलाई छोराको नाममा खुवाइएको किरिया । प्रोमोमा अन्तरवार्ताकार बानियाले शरणार्थी प्रकरणमा आरजूले पैसा खाएको हो भनेर र्‍याखर्‍याख्ति पारिरहेको देखिन्छ ।

बानियाले भनेका छन्– आत्मालाई साक्षी राखेर भन्नुस्… (भुटानी शरणार्थी प्रकरणमा पैसा खानुभएको हो कि होइन ?)

आरजूको जवाफ दिएकी छन्– आत्मालाई होइन, म मेरो छोराकै कसम खाएर भन्छु, मैले यो गरेको छैन । बिकौज, आइ एम नट द्याट स्टुपिड ।

त्यसपछि बानियाले छोराको नामै लिएर कसम खान लगाउँछन्- ‘एक चोटि भन्नुस् त ‘म मेरो छोरो जयवीरको कसम खाएर भन्छु, भुटानी शरणार्थी प्रकरणमा एक रुपैयाँ खाएको छैन’ भनेर…

आरजूलाई के थियो । तुरुन्तै खाइदिइन् कसम । ‘म मेरो छोरो जयवीरको कसम खाएर भन्छु, भुटानी शरणार्थी प्रकरणमा एक रुपैयाँ खाएको छैन’

यही संवादलाई लिएर सामाजिक सञ्जालमा ट्रोल भएको हो । पत्रकारले आफ्नो दायरा नाघेर एक महिलालाई छोराको नाम लिएर कसम खान लगाउनु अतिशयोक्तिपूर्ण भएको टिप्पणी धेरैले गरेका छन् ।

कतिपयको प्रश्न यो पनि छ, ‘उनले कसम खाएपछि भ्रष्टाचारबाट चोखिन्छिन् त ? त्यसो भए अनुसन्धान किन गर्ने ? सबैलाई लाइन लगाएर कसम खान लगाए भइगो नि ।’

अन्तरवार्तामा बानियाँले अर्को पनि त्रुटि गरेका छन् । उनले सोधेका छन्, ‘तपाईँको एउटा कोड नाम राखिदिएका छन् सुन्नुभएको छ कि छैन ? लक्ष्मीदेवी ।’

खासमा अहिले आरजूमाथि प्रयोग भइरहेको नाम लक्ष्मीदेवी नभएर ‘पम्फादेवी’ हो । सांसद अमरेशकुमार सिंहले आरजूलाई ‘पम्फादेवी’ संज्ञा दिएका थिए । २०४६ सालअघि तत्कालीन रानी ऐश्वर्याले स्वीट्जरल्यान्डको बैंकमा ‘पम्फादेवी’ नाममा ठूलो रकम थुपारेको हल्ला थियो ।

उनको सिधै आलोचना गर्न नपाइने हुँदा ‘पम्फादेवी’ भनेर लेख्ने गरिएको थियो । त्यही नामलाई अहिले आरजूमा प्रयोग गर्न थालिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर