पालिका उपाध्यक्षको चलाखी- ससुराको गाडी भाडामा देखाएर मासिक १ लाख २० हजार बुझ्दै – Nepal Press

पालिका उपाध्यक्षको चलाखी- ससुराको गाडी भाडामा देखाएर मासिक १ लाख २० हजार बुझ्दै

जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी यादवले ससुराको गाडी भाडामा देखाएर मासिक लाखौँ रुपैयाँ बुझ्दै आएको खुलेको छ ।

उपाध्यक्षमा निर्वाचित भए लगत्तै यादवले गाउँपालिकाको सरकारी नम्बर प्लेट भएको मोटरसाइकल पाइन् । उनी सोही मोटरसाइकल प्रयोग गर्छिन् । मोटरसाइकल चढ्दा लाग्ने पेट्रोल पनि उनलाई गाउँपालिकाले उपलब्ध गराउँदै आएको छ ।

तर पनि उनी प्र २–०१–००१ च ०४५७ नम्बरको चार पाङ्ग्रे गाडी भाडामा लिएकी छन् । उक्त चार पाङ्ग्रे गाडी भने उनी चढ्ने गरेकी छैनन् । तर उनी मासिक १ लाख २० हजार रुपैयाँ बुझ्दै आएकी छन् ।

उनी भाडामा लिएको गाडी नवराजपुर गाउँपालिका ५ का तेजीलाल यादवको नाममा छ । तेजीलाल उपाध्यक्ष यादवकी ससुरा हुन् ।

उक्त गाडी भने उपाध्यक्ष यादवका जेठान वजिन्द्र प्रसादले गाउँघरमा भाडामा लगाउने रुपैयाँ कमाउँछन् । वजिन्द्रले सोही गाडी बिहेवारि र अन्य कामका लागि सर्वसाधारणलाई भाडामा समेत दिने गर्छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज किशोर साहले कार्यपालिकाको निर्णय अनुसार ०७९ भदौ १ देखि गाडी भाडामा लिएर उपाध्यक्ष यादवलाई चढ्न दिएको बताए ।

उनले दिएको जानकारी अनुसार उपाध्यक्षका लागि चार पाङ्ग्रे गाडी भ्याटसहित मासिक १ लाख २० हजार बुझाउने गरी पालिकाले भाडामा लिएको छ । उपाध्यक्षले चार पाङ्ग्रे गाडी बाहेक पालिकाको एउटा मोटरसाइकल पनि राखेकी छन् ।

अधिकृत साहका अनुसार उपाध्यक्ष यादवलाई चार पाङ्ग्रे गाडीका लागि १ सय लिटर डिजेल र मोटरसाइकलका लागि १०–१५ लिटर पेट्रोल पालिकाले उपलब्ध गराउँछ । इन्धन प्रदेश सरकारले तोकेको मापदण्ड अनुसार बुझ्ने गरेकी छन् ।

यता, उपाध्यक्ष यादवले पनि पालिकाबाट मोटरसाइकल र चार पाङ्ग्रे गाडी सुविधा लिएको स्वीकार गरेकी छन् । उनले आवश्यकता अनुसार दुवै गाडी प्रयोग गर्ने गरेको बताइन् ।

चार पाङ्ग्रे गाडी त तपाईँको आफ्नै हो ? भन्ने जिज्ञासामा उनले भनिन्, ‘गाउँपालिकाले भाडामा लिएर आफूलाई चढ्न दिएको चार पाङ्ग्रे गाडी विषयमा बुझ्नु छ भने पालिकामा आएर कुरा गर्नुस् । म अहिले छलफलमा छु ।’


प्रतिक्रिया

One thought on “पालिका उपाध्यक्षको चलाखी- ससुराको गाडी भाडामा देखाएर मासिक १ लाख २० हजार बुझ्दै

  1. हो यसरी नै हो बिस्तारै राष्ट्रिय भाउजु बन्ने तरिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर