उपेन्द्र यादव सरकारमा नजाने निश्चित ! यी हुन् सम्भावित नाम – Nepal Press

उपेन्द्र यादव सरकारमा नजाने निश्चित ! यी हुन् सम्भावित नाम

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री नपठाउँदा सरकारले पूर्णता पाउन सकेको छैन।

दश पटक मन्त्रिपरिषद् विस्तार गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म सरकारलाई पूर्णता दिन नसकेका हुन्।

जसपाले आफ्नो भागमा परेको दुईमध्ये एक मन्त्रालयमा मात्रै मन्त्री पठाएको छ। अहिले जसपाबाट शिक्षा मन्त्रालय लिएर अशोक राई सरकारमा गएका छन्।

जसपाबाट सरकारमा जान राज किशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायत आकांक्षी छन्। तर, कतिपयले अध्यक्ष उपेन्द्र यादव नै सरकारमा जाने चर्चा गरिरहेका छन्। बारा २ बाट निर्वाचित रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचनबाट यादव निर्वाचित भएका आएका छन्।

सरकारलाई बलियो बनाउनका लागि प्रधानमन्त्री प्रचण्डले यादव सरकार आए हुने अपेक्षा राखेका छन्। अब जसपाको भागमा वन मन्त्रालय मात्रै छ।

कतिपयले उपप्रधानसहित पाए अध्यक्ष यादव तयार रहेको बताउँदै आइरहेका छन्।

तर, जसपा नेता राज किशोर यादव सरकारमा मन्त्री पठाउने जिम्मा अध्यक्ष यादवकै भएको बताउँछन्।

उनी भन्छन्, ‘पार्टीले उहाँलाई नै जिम्मेवारी दिइसकेको छ। त्यसैले अस्तिको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा पनि छलफल भएन। अब कहिले उठाउनुहुन्छ उहाँलाई नै थाहा होला।’

अध्यक्ष यादव आफै सरकारमा जाने चर्चा छ नि भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘अध्यक्ष आफैँ सरकारमा जानुहुन्छ भन्ने मलाई लागेको छैन। त्यो सम्भावना मैले देखेको छैन।’

उनले अन्य नेताहरू पनि आकांक्षी भएपनि नवलकिशोर शाहको सम्भावना रहेको उनले बताए।

यस्तै, अर्का आकांक्षी प्रदीप यादव पनि अब सरकारमा मन्त्री पठाउने जिम्मा अध्यक्षको भएको बताउँछन्।

उनी भन्छन्, ‘पार्टीले निर्णय गरेर उहाँलाई अधिकार दिइसकेको छ। किन ढिलाइ भइरहेको छ। हामीलाई थाहा हुने कुरा भएन।’

उनले पनि अध्यक्ष यादव नै सरकारमा जाने भन्ने विषयमा अनभिज्ञता जनाए।


प्रतिक्रिया

One thought on “उपेन्द्र यादव सरकारमा नजाने निश्चित ! यी हुन् सम्भावित नाम

  1. हेडलाइनमा ‘नजाने निश्चित’ रे । अनि फेरि सम्भावित नाम रे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर