साधुको निधनपछि उनकै चितामा चेलाले गरे आत्मदाह – Nepal Press

साधुको निधनपछि उनकै चितामा चेलाले गरे आत्मदाह

जनकपुरधाम । महाभारतमा गुरु द्रोणाचार्यलाई गुरु दक्षिणामा एकलव्यले आफ्नै औंला काटेर चढाएका थिए ।

तर, भर्खरै गुरुका लागि शिष्यले प्राण त्यागेको घटना सार्वजनिक भएको छ । सिरहाको नेपाल-भारत सीमा क्षेत्रमा यो घटना भएको हो ।

धनुषाको सबैला नगरपालिका-९ कोल्हुवामोड घर भई लामो समयदेखि सिरहामा बस्दै आएका एक साधुको मृत्युपछि शिष्यले पनि प्राण त्यागेका छन् । साधुको दाहसंस्कार भइरहँदा त्यही चितामा हाम फालेर उनले आत्मदाह गरेका हुन् । मलामीहरूको बचाउने प्रयास असफल भएको छ ।

सुखीपुर नगरपालिका-२ छजनास्थित हनुमान मन्दिरमा १२२ वर्षीय साधु विष्णु दासको सोमबार निधन भयो ।

बरियारपट्टीमा क्याम्पस निर्माणार्थ भएको विष्णु महायज्ञमा सहभागी हुन पुगेका उनी केही दिनदेखि छजनाको हनुमान मन्दिरमा आश्रय लिएर बसेका थिए ।

नेपाल र भारतमा मानव सेवा गरेका कारण साधु दासको दाहसंस्कार सीमावर्ती क्षेत्रमा गर्ने गाउँलेले निर्णय गरे । सोही बमोजिम बरियारपट्टी गाउँपालिकाको गरगम्मा र भारत विहार राज्यको मधुवनी जिल्लामा पर्ने लक्ष्मीनियाँ गाउँको बीचमा उनको दाहसंस्कार गरियो ।

साधु दासको दाहसंस्कार भइरहेकै बेला भारतीय गाउँ लक्ष्मीनियाँकै ५५ वर्षीय रामचन्द्र महतोले चितामै हामफालेर आत्मदाह गरेका हुन् । स्थानीयका अनुसार महतो साधु दासको चेला हुन् । उनी लामो समयदेखि साधुसँगै बस्दै आएका थिए ।

‘उनी अचानक चितामा हामफाले,’ स्थानीय सञ्जय यादवले नेपाल प्रेससँग भने, ‘नेपाल र भारतकाहरू मलामी थिए । सबैले उनको खुट्टा तानेर बचाउने प्रयास गरे । तर दनदनी बलेको आगोबाट महतोलाई तान्न सकिएनन् । उनी पनि बाबाकै चितामा जले ।’

गुरुकै चितामा शिष्यले पनि प्राण त्यागेको भिडियो यतिबेला सामाजिक सञ्जालमा समेत भाइरल भएको छ । यसबारे भने नेपाल प्रहरी अनभिज्ञ छन् । निधन भएका साधुको दाहसंस्कार भारतीय भूमिमा गरिएकोले शिष्यले चितामै आत्मदाह गरेको घटनाको रेकर्ड नराखिएको सिरहाका एक प्रहरी अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *