(अ)सामाजिक सञ्जालको गुलाम – Nepal Press

(अ)सामाजिक सञ्जालको गुलाम

झट्ट हेर्दा राम्रो देखिने तर हामीलाई भित्रभित्रै एक्लो (असामाजिक) बनाउने जाल हो सामाजिक सञ्जाल । नाममा सामाजिक मिसिए पनि यसले हामीलाई कतिसम्म असामाजिक बनाएको छ भन्ने कुरा बुझ्न हामी धेरै टाढा जानुपर्दैन । बरु प्राणवायु (अक्सिजन)विना जीवन कल्पना होला । तर, सामाजिक सञ्जाल अझै मोबाइलविनाको जीवन कल्पना बाहिरको संसार जस्तो भैसकेछ मोबाइल फोबिया भएकाहरुलाई । यति असामाजिक चिजलाई पनि कसले सामाजिक भनेर नामकरण गर्‍यो भन्ने कुरामा पटक पटक सोच्न बाध्य बनाउँछ । सायद सामाजिक सञ्जालको उद्देश्य मान्छेलाई सामाजिक बनाउनु नै थियो होला । तर, अहिले हेर्दा मान्छेलाई मान्छेभन्दा टाढा राख्ने भाँडो भन्दा फरक नपर्ला !

कसरी फस्छाैं हामी ?

हामी सामाजिक सञ्जालमा यसरी फस्नुको पछाडि केवल हाम्रो दोष छैन भन्दा अचम्म लाग्न पनि सक्छ । तर, यो सत्य हो । किनकि हामी र हाम्रो ध्यानलाई त्यतातिर मात्रै तान्न विभिन्न कम्पनीहरुको ठूलो लगानी रहेको हुन्छ । जसमा उनीहरुले विभिन्न क्षेत्रका विशेषज्ञहरुलाई राखेर काम गरिरहेका हुन्छन् । ती विशेषज्ञहरुले हामी प्रयोगकर्ताहरुलाई उनीहरुकै साइटमा मात्रै ध्यान केन्द्रित होस् भनेर काम गरिरहेका हुन्छन् । अर्को कारण हो, हाम्रो मान्छेको मनोविज्ञान । हाम्रो मन चाहिं जुन चिजमा क्षणिक आनन्द आउँछ, त्यही चिजमात्रै गर्न खोज्ने हुन्छ । चाहे त्यो कुराले भविष्यमा आफ्नो लागि लाभहानी जे गरोस्, हेक्का नै नराखी त्यही काममात्र गर्ने बानीले गर्दा पनि हाम्रो मनलाई उनीहरुले सजिलैसँग नियन्त्रण गर्छन् ।

अहिलेको समयमा बरु अरु चिजको लतमा नपरेको मान्छे सहजै भेटिएला । तर, यो सामाजिक सञ्जालको लत नलागेका मान्छे हरु सायदै भेटिएलान् । चाहे त्यो बालबालिका र वृद्धवृद्धा नै किन नहोऊन्, कुनै न कुनै रुपले सबै फसेकै देखिन्छ । बालबालिकामा त झन यो लत यति हावी भैसकेको छ कि उनीहरुलाई खाना खुवाउन पनि मोबाइलकै सहारा लिनुपर्छ । यस्तो नहोस् पनि कसरी ? जबकि अहिलेका शिक्षित भनिएका अभिभावकहरु पनि घरमा भएको बेलामा घर र परिवारलाई समय दिनुको साटो आआफ्नो मोबाइलमै व्यस्त हुन्छन् । अनि बच्चाले सिकोस् के ? सार्वजनिक स्थानमा बस्दा होस् या, अन्य कुनै लाइनमा बस्दा होस् या साथीभाइसँग बस्दा नै किन नहोस् एक न एक चोटी मोबाइल नहेरी वा नछोइ बस्यो भने उसको अवचेतन मनमा एक चोटी घन्टी बजिसक्छ । मोबाइल छुन नपाउँदाको पीडा त प्रेमीप्रेमिकासँग भेट्न नपाएको प्रेमीप्रेमिकाको जस्तो हुन्छ । युवा पुस्तामाझ बढी लोकप्रिय भए पनि यसले बालबालिकादेखि वृद्धवृद्धा कसैलाई पनि नछोडेको कुरा त दोहोराइरहनु पर्दैन । एउटा भनाइ प्रचलित नै छ, पहिले घरमा कोही पाहुना आउँदा हालखबर सोधिन्थ्यो भने आजभोलि वाइफाइको पासवर्ड सोधिन्छ । सामाजिक सञ्जालले टाढा भएकाहरुलाई नजिक बनाए पनि नजिक भएकाहरुलाई टाढा बनाएको पत्तै नहुने अवस्था आइसक्यो ।

यति असामाजिक चिजलाई पनि कसले सामाजिक भनेर नामकरण गर्‍यो भन्ने कुरामा पटक पटक सोच्न बाध्य बनाउँछ । सायद सामाजिक सञ्जालको उद्देश्य मान्छेलाई सामाजिक बनाउनु नै थियो होला । तर, अहिले हेर्दा मान्छेलाई मान्छेभन्दा टाढा राख्ने भाँडो भन्दा फरक नपर्ला !

कसरी आउने बाहिर ?

कुनै पनि कुरा छोड्छु भनेर मात्रै छोडिने भए त मादकपदार्थ सेवन गर्ने व्यक्ति पनि यो संसारमा कमै हुन्थे । किनकि ‘भोलिदेखि त पक्का पिउँदिनँ’ भनेर कसम खानेहरु भोलि फेरि त्यही भट्टीमा भेटिन्छन् । त्यस्तै सामाजिक सञ्जालको पनि कथा उही हो । भोलिदेखि चलाउन छोड्छु भन्दाभन्दै झन बढी चलाउँछन् । उसो भए के कुनै पनि बानी र लत छोड्न सकिन्न त ? त्यस्तो कदापि हुँदैन ।

कुनै पनि कुरा छोड्न हामीले सामान्यतया हाम्रो मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरो बुझ्नुपर्छ । हाम्रो मनले हामीसँग त्यही काम गराउँछ, जसमा मजा आउँछ । तर, त्यही मजाले पछि दीर्घकालमा दुःख दिन्छ भन्ने कुरा मनलाई थाहा हुँदैन । उसो भए गर्ने के त ? त्यसको लागि हामीले आफ्नो बुद्धिको प्रयोग गर्नुपर्छ । हामीले सबैभन्दा पहिले यो कुरा बुझ्नुपर्छ कि हाम्रो मस्तिष्कले प्रतिस्थापनको सिद्धान्तमा काम गर्छ । अर्थात हामीले कुनै चिज छोड्नु भन्दा पनि कुनै नयाँ कुरामा बानी बसाल्न सकेनौं भने हामीले जति मेहनत गरे पनि जहाँको त्यही भइन्छ । त्यसबाट हामीले गरेको मेहनत खेर जान्छ ।

एउटा उदाहरणबाट बुझौंः हामीलाई साइकलको लतबाट बाहिर आउनु छ भने मोटरसाइकलको बानी बसाल्न थाल्नुपर्छ । जसले साइकलको लत आफैं छुट्दै जान्छ । यसको सीधा अर्थ हो, हाम्रो जीवनमा कुनै पनि लतभन्दा ठूलो लक्ष्य छैन भने हामीले जति मेहनत गरे पनि सफल हुँदैनौं । यदि तपाईंको जीवनको लक्ष्य सामाजिक सञ्जालको लतभन्दा पनि ठूलो छ भने तपाईं चाहेर पनि त्यसको गुलाम भएर बस्न सक्नुहुन्न । अथवा कसैले तपाईंलाई चाहेर पनि फसाउन सक्दैन ।

नकारात्मक पक्ष

१) कमजोर सामाजिक सम्बन्ध : हामी सामाजिक प्राणी भए तापनि समाजमा भन्दा पनि मोबाइलको सामिप्यमा बस्ने भएकाले हाम्रा सामाजिक सम्बन्ध कमजोर भएका छन् ।

२) खराब स्वास्थ्य : हाम्रो शरीर सामान्यतया हिँडडुल गर्न बनेको भए पनि बढ्दो सामाजिक सञ्जालको प्रयोगले गर्दा एकै ठाउँमा बसिरहने गर्छौं । जसले गर्दा हाम्रो ढाड, घाँटीलगायत शरीरका अन्य भागमा जस्तैः आँखा र टाउको दुख्ने समस्या बढ्दै जान्छ ।

हाम्रो ध्यानलाई त्यतातिर मात्रै तान्न विभिन्न कम्पनीहरुको ठूलो लगानी रहेको हुन्छ । जसमा उनीहरुले विभिन्न क्षेत्रका विशेषज्ञहरुलाई राखेर काम गरिरहेका हुन्छन् । ती विशेषज्ञहरुले हामी प्रयोगकर्ताहरुलाई उनीहरुकै साइटमा मात्रै ध्यान केन्द्रित होस् भनेर काम गरिरहेका हुन्छन् ।

३) मानसिक चिन्ता : सामाजिक सञ्जाल र यसमा आउने कन्टेन्टहरुले गर्दा अनावश्यक रुपमा मान्छेको अवचेतन मनमा नराम्रो छाप छोड्छ । जसले गर्दा मानसिक चिन्ता बढ्छ । जसको असर शरीरमा पनि देखिने गर्छ । यसको माध्यमबाट हुने अपराधबाट पनि मान्छेहरु अछुतो छैनन् ।

सकारात्मक पक्ष

यसका नकारात्मक पक्ष धेरै भयङ्कर भए पनि सकारात्मक पक्ष पनि उत्तिकै शक्तिशाली छन्ः

१) सम्भावना : बढ्दो प्रविधिको प्रयोगले गर्दा सूचना आदानप्रदानदेखि अन्य विभिन्न कुराहरुसम्ममा एउटा महत्वपूर्ण भूमिका खेलेको छ । हामीले यसको भरपुर फाइदा उठाएर यसलाई आफ्नो आम्दानीको स्रोत पनि बनाउन सकिन्छ ।

२) कम खर्चिलो र समयको बचत : हामीले गर्ने व्यापार र व्यवसायलाई डिजिटल रुपमा गर्दा अरुको तुलनामा कम खर्चिलो हुन्छ र धेरैसामु पुग्न सकिन्छ । यसले समयको बचत हुन्छ ।

३) सिक्ने स्रोत : हामीले इन्टरनेटको माध्यमबाट सजिलै जुनसुकै कुरा पनि सजिलै खोज्न र त्यसको सही तथ्य फेला पार्न सक्छौं ।

सकारात्मक र नकारात्मक पक्ष जे जस्ता भए पनि हामीले यसको सही सदुपयोग गर्न सक्यौं भने पक्कै पनि यसबाट लाभान्वित हुनेछौं । सामाजिक सञ्जाल वास्तवमै सामाजिक बनोस् र यसलाई सही तरिकाले प्रयोग गरी टाढा भएकालाई नजिक बनाए जस्तै नजिक भएकालाई पनि झन नजिक बनाउन हामी सबैले पहल गर्नुपर्छ ।

सामाजिक सञ्जाल र यसमा आउने कन्टेन्टहरुले गर्दा अनावश्यक रुपमा मान्छेको अवचेतन मनमा नराम्रो छाप छोड्छ । जसले गर्दा मानसिक चिन्ता बढ्छ । जसको असर शरीरमा पनि देखिने गर्छ । यसको माध्यमबाट हुने अपराधबाट पनि मान्छेहरु अछुतो छैनन् ।

प्रतिक्रिया

One thought on “(अ)सामाजिक सञ्जालको गुलाम

  1. सामाजिक संजाल धेरै उपयोगी र संभावनायुक्त प्लेटफर्म हो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *