कांग्रेसले मुख्यमन्त्री दाबी गरेपछि मधेशमा भएन सरकार विस्तार – Nepal Press

कांग्रेसले मुख्यमन्त्री दाबी गरेपछि मधेशमा भएन सरकार विस्तार

जनकपुरधाम । मधेश प्रदेश सरकारले पूर्णता नपाएपछि कामकाज प्रभावित बनेको छ । लामो समयदेखि मुख्यमन्त्री सरोजकुमार यादवले थप चार मन्त्रालय पनि सम्हालिरहेका छन् ।

मुख्यमन्त्री यादवले गृह तथा सञ्चार, भौतिक पूर्वाधार विकास, महिला बालबालिका युवा तथा खेलकुद र कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय पनि सम्हालिरहेका हुन् ।

प्रदेशमा सबभन्दा ठूलो दल नेकपा एमालेकै सहयोगमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए । त्यतिबेला सरकारमा जसपा, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र जनमत पार्टी सहभागी भएका थिए ।

गठबन्धन बदलिएपछि वैशाख १० मा भएको उपनिर्वाचनअघि नै एमालेका मन्त्रीहरुले राजीनामा बुझाए । अहिले सरकारमा माओवादी, जनमत र जसपा छन् ।

नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउने तयारीका साथ मुख्यमन्त्री यादवले एमालेलाई सरकार छाड्न आग्रह गरेका थिए । मुख्यमन्त्रीको आग्रहलगत्तै एमालेका मन्त्रीहरुले तत्कालै राजिनामा दिए ।

एमालेले छाडेका चार वटै मन्त्रालय मुख्यमन्त्रीले सम्हालिरहेका छन् । तर, सरकार पूर्णतामा ढिलाइ भएपछि कामकाज प्रभावित बनेको छ ।

उपनिर्वाचनको पनि दुई साता बितिसक्यो । सरकारमा अझै कांग्रेस सहभागी भएको छैन । केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एस पनि सरकारमा सहभागी हुनेछन् । तर, मुख्यमन्त्री र मन्त्रीको भागबन्डा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको छ ।

जसपालाई उपराष्ट्रपति दिएको र उपनिर्वाचनमा बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई निर्वाचित गराएको भन्दै कांग्रेसले मधेश सरकारको नेतृत्वमा दाबी गरिरहेको छ । जसपा नेतृत्व त्याग्न तयार छैन । लोसपा र जनमत पार्टीको पनि मुख्यमन्त्रीमा दाबी छ ।

स्रोतका अनुसार सरकारलाई पूर्णता दिन कांग्रेस, जसपा र लोसपाले सहमति जुटाउने जिम्मा पाएको छ । उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवविरुद्ध उम्मेदवार खडा गरेका कारण जनमतलाई छलफलमा सहभागी नगराएको स्रोतको दाबी छ ।

आज लोसपा अध्यक्ष महन्थ ठाकुर जनकपुरधाम आएका छन् । उपेन्द्र यादवसमेत जनकपुरधाम आउन लागेको जसपाका एक नेताले बताए । ती नेताका अनुसार जनकपुरमा भोलि वा पर्सि सरकारलाई पूर्णता दिने विषयमा छलफल हुने र लगत्तै टुङ्गो लाग्नेछ ।

स्रोतका अनुसार जसपा मुख्यमन्त्री र अर्थमन्त्री आफूसँगै राखेर कांग्रेसलाई चार मन्त्रालय दिने पक्षमा छ । जसपाकी सुरिता साह अहिले सामाजिक विकासमन्त्री छन् । उनलाई फिर्ता बोलाएर सामाजिक विकास मन्त्रालय र अन्य तीन मन्त्रालय कांग्रेसलाई दिन जसपा तयार छ ।

तर, कांग्रेसले मुख्यमन्त्री नै लिने अडान राखेपछि सहमति जुट्न नसकेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर