डीएसपीकाे कक्षमा पूर्वगृहमन्त्री थुनुवा, ‘तपाईँहरूकै मान्छे हुँ’ भन्दै प्रहरीको मन जित्ने प्रयास – Nepal Press

डीएसपीकाे कक्षमा पूर्वगृहमन्त्री थुनुवा, ‘तपाईँहरूकै मान्छे हुँ’ भन्दै प्रहरीको मन जित्ने प्रयास

काठमाडौं । सेवाग्राहीको भिडभाड देखिरहने टेकुस्थित काठमाडौं प्रहरी परिसरको रुम नम्बर ३ मा बिहीबार दिनभर बाहिरबाट चुकुल लगाइएको थियो । बाहिर सादा पोसाकका प्रहरी तैनाथ थिए ।

सँधै त्यहाँभित्र देखिने डीएसपी भने यताउता गरिरहेका थिए । बाहिरबाट बन्द गरिएको त्यस कोठालाई त्यत्तिकै प्रहरीले सुरक्षा दिइरहेको थिएन । त्यहाँ थिए हाईप्रोफाइल एक थुनुवा ।

विगत दुई दिनदेखि प्रहरीले दुईजना डीएसपी बस्ने उक्त कार्यकक्षलाई त्यस कोठाभित्र राखिरहेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई करिब ५० मिटर दूरीमा रहेको १५० जनासम्म थुनुवा राख्न सकिने हिरासत कक्षमा नराखेर डीएसपीको कार्यकक्षमा राखिएको हो ।

‘उहाँले अन्त कतै बस्न र जान मान्नु भएन’, काठमाडौं प्रहरी परिसरका एक अधिकारी भन्छन् । बुधबार साँझ अदालतबाट म्याद थपेर ल्याएपछि प्रहरीले उनलाई दरबारमार्गस्थित वृत्तमा राख्ने तयारी गरेको थियो । तर खाणले आफू टेकुबाहेक अन्त नजाने बताएपछि डीएसपीकै कार्यकक्षमा एउटा खाट राखेर उनलाई बस्ने व्यवस्था मिलाएको छ ।

बुधबार प्रहरीकै मेसको खाना खाएका खाणले बिहीबार बिहान भने रोटी खाने इच्छा व्यक्त गरेका थिए । तर आफन्तले नै खाना ल्याई दिएको बुझिएको छ । बुधबार उनका मेयर भाई कपडा लिएर आएका थिए । एक प्रदेश मन्त्री पनि भेट्न पुगेका थिए । त्यसबाहेक हाईप्रोफाइल व्यक्तिहरु उनीसँग भेट गर्न गएका छैनन् ।

‘उहाँ शान्त रुपमा बसिरहनु भएको छ । उहाँमा तनाव देखिँदैन’, परिसरका एक अधिकारी भन्छन् । परिसरका तल्लो दर्जाका अधिकारीहरुले उनको रेखदेख गरिरहेका छन् ।

खाणले आफूलाई ‘प्रहरीकै मान्छे’ भनेर बताउने गरेका छन् ।

‘आफुले भनेकाे कुरा प्रहरीले इन्कार गर्दा जित्न नसकेपछि  नमस्कार गरेर चुप्प लाग्नुहुन्छ ’, परिसरका एक अधिकारी भन्छन् ।

बुधबार बिहान मैजुबहालस्थित घरमा खाणलाई पक्राउ गर्न जाँदा पनि प्रहरीलाई  उनले ‘म तपाईहरुकै मान्छे त हुँ नि’ भनेर उनीहरुलाई केही समय ‘होल्ड’ गर्न खोजेका थिए । पछि उनले बढुवा नभएको रिस फेरेको हाे कि पनि भन्न भ्याए ।

‘प्रहरीको सरुवा बढुवामा प्रहरी कर्मचारीहरु आफूबाट असन्तुष्ट छन् भन्ने पनि उहाँलाई रहेछ’, एक अधिकारी भन्छन् ।

प्रहरी नियन्त्रणमा राखिँदा पनि उनले आफुलाई एक्लै छाडिदिन आग्रह गर्ने गरेका छन् ।

‘वरिपरि प्रहरी नबसिदिए हुन्थ्यो भनेजस्तो गर्नुहुन्छ । तर हाम्रो काम त सुरक्षासँगसँगै रेखदेख पनि गर्ने हो’, परिसर स्रोत भन्छ । प्रहरीले खाणको नाम पोल्ने तत्कालिन सचिव टेकनारायण पान्डेलाई भने सिंहदरबार वृत्तमा राखेको छ ।


प्रतिक्रिया

One thought on “डीएसपीकाे कक्षमा पूर्वगृहमन्त्री थुनुवा, ‘तपाईँहरूकै मान्छे हुँ’ भन्दै प्रहरीको मन जित्ने प्रयास

  1. देश को दुर्घन्धित कसिङ्रर प्रमाणित भैईसकेको अबस्था मा पनि फेरि किन यो नाटक मन्चन भयेको होला, बुझ्न सकियेन!!
    जय् मात्रीभुमी!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर