पत्रकारिता दिवसमा सरकारले गरेको पत्रकार सम्मानप्रति चार संगठनहरुको असहमति


काठमाडौं । नेपाल सरकारले ८ औँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आइतबार वितरण गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान’ प्रति पत्रकारका संगठनहरुले असहमति जनाएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष गजुरधन राई, राष्ट्रिय दलित पत्रकार संघका महासचिव लक्ष्मण दर्नाल, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह र मुस्लिम जर्नलिष्ट क्लबका अध्यक्ष आलम खानले संयुक्त विज्ञप्ति जारी गर्दै असहमति जनाएका हुन् ।
पुरस्कृत र सम्मानित व्यक्तित्वप्रति सम्मान रहेको तर नेपालको संविधानले अवलम्बन गरेका समावेशी समानुपातिक प्रतिनिधित्वको चरम उपहास गर्दै गरिएको छनोट प्रक्रियाप्रति गम्भीर असहमति रहेको विज्ञप्तिमा उल्लेख छ ।
छनोट प्रक्रिया समावेशीताको सिद्धान्त विपरीत रहेको हाम्रो ठहर गर्दै उनीहरुले यस घटनाबाट नेपाल सरकार आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम र अल्पसङ्ख्यक समुदायका पत्रकारहरूप्रति पूर्वाग्रही मात्रै देखिएन, उनीहरूको योगदानलाई सम्मान र कदर गर्न तयार नरहेको प्रमाणित भएको विज्ञप्तिमा भनिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक पद्धति अवलम्बन गरेको राज्य व्यवस्थामाथि सरकार आफैले प्रहार गरेको छ ।
सरकारको यस्तो निर्णयको भर्त्र्सना गर्दै आगामी दिनमा यस्ता नस्लवादी चरित्रमा सुधार ल्याउन उनीहरुले माग गरेका छन् ।
समानुपातिकको नक्कली ठेकेदारको पत्रकारितामा चाहिँ पुरानै ढर्रा ?