सुदूरपश्चिम : भौतिक र अर्थ मध्ये एक नभए तीन मन्त्रालयमा माओवादीको दाबी – Nepal Press

सुदूरपश्चिम : भौतिक र अर्थ मध्ये एक नभए तीन मन्त्रालयमा माओवादीको दाबी

कैलाली। सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारलाई लिएर भागबन्डा मिल्न सकेको छैन। माओवादी केन्द्रले भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय मध्ये एक मन्त्रालय माग गरेको छ ।

त्यस्तै सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मध्ये एक मन्त्रालय पनि माओवादीको माग छ ।

माओवादीको पहिलो रोजाइमा भौतिक पूर्वाधार विकास र आर्थिक मामिला तथा योजना मन्त्रालय मध्ये एक पाउनु हो । तर, यी दुवै मन्त्रालयमा अहिले मन्त्री नियुक्त भइसकेका छन् ।

कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवाले सम्हालिरहेका छन् भने आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नरेश शाही छन् ।

यी दुवै मन्त्रालयमा मुख्यमन्त्री शाहले विश्वासको मत पाउनु भन्दा अघि नै मन्त्री नियुक्त गरेका हुन् । अहिले माओवादीले रोजेको मन्त्रालय कांग्रेस र नेकपा एकीकृत समाजवादी दुवैले छोड्न मानेका छैनन् ।

यी दुई मन्त्रालय मध्ये एक मन्त्रालय नपाए माओवादी केन्द्रले तीन मन्त्रालयको दाबी गरेको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी सांसदहरूले भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय मध्ये एक र सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मध्ये एकमा अडान लिन आग्रह गरेका थिए ।

उनीहरूले पहिलो रोजाइका दुई मन्त्रालय नपाउने अवस्थामा माओवादीले प्रदेशमा तीन मन्त्रालय पाउनु पर्ने समेत बताएका थिए ।
प्रचण्डले आज गठबन्धनका दलहरूको बैठक बस्ने र सबै भागबन्डा टुङ्गो लगाउने आश्वासन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर