प्रधानमन्त्रीलाई ओलीको प्रश्न- पुसदेखि भारत भ्रमण जान्छु भन्ने, कहिले जाने ? – Nepal Press

प्रधानमन्त्रीलाई ओलीको प्रश्न- पुसदेखि भारत भ्रमण जान्छु भन्ने, कहिले जाने ?

सरकारले राष्ट्रको हितको सबालमा बोल्न नसकेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुस १० गतेदेखि भारत भ्रमणमा जान्छु भन्न थालेको तर हालसम्म नगएको प्रति व्यंग्य गरेका छन् ।

नयाँ बानेश्वरस्थित एमाले संसदीय दलको बैठकमा ओलीले प्रचण्डले कूटनीतिक तवरले आफूलाई प्रस्तुत गरेको आशय व्यक्त गरे ।

‘पुस १० गतेदेखि भारत भ्रमणमा जान्छु भनेको माघ, फागुन बित्यो, चैत अहिले त वैशाख पनि जान लाग्यो । कहिले जाने हो ? ८५ सालमा जाने हो ? ९० सालमा जाने हो ?’, उनले भने, ‘यति अविश्वसनीय तरिकाले भारत भ्रमण, वैदेशिक सम्बन्ध कस्तो ढंगले चलेको छ भन्ने कुरा बुझ्नुपर्छ । कहिले जाने हो प्रधानमन्त्री भारत भ्रमण ?’

ओलीले अगाडि भने, ‘कमसेकम जानुभन्दा अगाडि कूटनीतिक तवरमा समय तोकेर निम्ता प्राप्त गरेर यो दिन जाने, यो दिन स्वागत गर्ने भनेपछि एक ढंगले अनि दुईतर्फबाट एकैचोटि भ्रमण तोकिन्छ ।’

अध्यक्ष ओलीले सरकारले राष्ट्रको सबालमा नसकेको, राष्ट्रको हितको सबालमा बोल्न नसकेको आरोप लगाए ।

‘छिमेकी मित्र राष्ट्र भारत, हाम्रो छिमेकी हो, हाम्रो मित्र हो । केही समस्या छन्, छिमेकी हो मित्र हो, त्यसकारण हामीले उसँग कुरा गर्नुपर्छ, प्रस्ताव राख्नुपर्छ । एउटा मित्रसँग कुरा गर्न सकिँदैन ?’, ओलीले प्रश्न गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर