रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारसँग बहुमत छ : माओवादी उपाध्यक्ष महरा (भिडिओ) – Nepal Press

रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारसँग बहुमत छ : माओवादी उपाध्यक्ष महरा (भिडिओ)

नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकै भएपनि कारबाही हुनुपर्छ : महरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्ने धारणा राखेका छन् ।

शनिवार संवाद डबलीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

उनले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कानुनको दायरामा ल्याउन, मिटरब्याज पीडितलाई न्याय दिने कुरामा अडिग रहेको बताए ।

उनले भने, ‘नक्कली शरणार्थी बनाउने जस्तो गम्भीर अपराध कार्यमा संलग्न कसैलाई पनि सरकारले छोड्नु हुँदैन । यो गम्भीर अपराध हो, गठबन्धन भित्र र बाहिर जोसुकैलाई पनि कारबाही हुन्छ ।’

उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि सरकारसँग स्पष्ट बहुमत रहेकाले सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आए पनि स्पष्ट बहुमत पुग्ने बताए ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरिसकेको छ । तर, औपचारिक रूपमा सरकारलाई जानकारी दिएको छैन । निर्णय गरेपछि औपचारिक रूपमा जानकारी गराउँछ होला नै । सरकारसँग स्पष्ट बहुमत छ । रास्वापाले फिर्ता लिँदैमा सरकारमाथि प्रश्न उठ्ने अवस्था छैन ।’

रविले भ्रष्टाचारविरुद्धका फाइल खोल्ने भएपछि मात्रै सरकारमा सहभागी हुने भन्दै आएको तर, सरकार त्यसमा अघि बढेको बेला समर्थन फिर्ता लिएको महराले बताए ।

माओवादी केन्द्रका प्रवक्तासमेत रहेका महराले सरकार जनतासँग गरेको प्रतिबद्धता अनुरूप अघि बढिरहेको बताए ।

इतिहासमै पहिलो पटक शैक्षिक सत्र सुरु हुनु पहिले नै पाठ्यपुस्तक विद्यालयमा पुर्‍याउनेसहितका कार्यले सरकारसँग जनताको आशा बढेको बताए ।

माओवादी केन्द्रसहित ६ वटा पार्टीबीच समाजवादी मोर्चा बनाउने भन्ने विषयमा छलफल जारी रहेको पनि महराले जानकारी दिए ।

विभिन्न चरणमा छलफल भइरहेको बताउँदै महराले भने, ‘हाम्रो पार्टी माओवादी केन्द्रसहित ६ पार्टीबीच समाजवादी मोर्चा बनाउनेबारे छलफल जारी रहेको छ । मोर्चामा सहभागी विचार र कार्यक्रम मिल्ने पार्टीबीच एकता गर्ने नभए राष्ट्र र राष्ट्रियता र जनजीविकाका सवालमा सहकार्य गर्ने सहमति भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर