लुम्बिनीका ७२ दिने स्वास्थ्यमन्त्री विष्णु पन्थीले देखाए यस्ता उपलब्धि – Nepal Press

लुम्बिनीका ७२ दिने स्वास्थ्यमन्त्री विष्णु पन्थीले देखाए यस्ता उपलब्धि

रुपन्देही । लुम्बिनी प्रदेश सभामा दोस्रो पटक निर्वाचित भएका कपिलवस्तुका विष्णु पन्थी पहिलो पटक ७२ दिनका लागि मन्त्री बन्ने अवसर पाए । आर्थिक क्षेत्रमा जानकार रहेका पन्थी प्रविधिमा पनि उसैगरी अपडेट रहने एमाले नेताहरुको सूचीमा पर्दछन् ।

पार्टी संस्थापन लाइनमा नबस्ने स्वभावका कारण उनी पटक–पटक आउने अवसर र जिम्मेवारीमा समेटिदैनन् । प्रदेश सभाको पहिलो कार्यकालमै मन्त्रीको चर्चा भएपनि पन्थीले फरक गुटको फेरो समातेकै कारण नपाएको उनी निकट नेताहरुको भनाइ छ । तत्कालीन नेकपाको बहुमत रहँदा होस् वा पार्टीका अन्य जिम्मेवारीमा उनी अक्सर छुट्ने गरेका छन् ।

लामो समय नेकपा एमालेमा माधव नेपालको पक्षमा रहेका उनी एमाले विभाजन गरेर बनाएको नेकपा एसमा नगएर मूल धारमै अडिए । पहिले पार्टी केन्द्रीय लेखा आयोगका सस्दय भएका उनी अहिले लेखा आयोगका उपाध्यक्ष रहेका छन् । यसअघि कपिलवस्तुमा कमजोर भएको एमाले बलियो बनेको केही जस पनि पाएका छन् । उनै पन्थी प्रदेश सभाको दोस्रो कार्यकालमा छोटो समय मन्त्री बनेर केही नमुना काम गरेको बताएका छन् ।

माघ २९ गते स्वास्थ्य मन्त्रीको पदभार ग्रहण गरेका पन्थीले जम्माजम्मी ७२ दिन मात्रै मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । मन्त्री रहँदा पन्थीले छोटो अवधिमै गरेका केही महत्वपूर्ण कामले उनले मात्रै होइन सरकारको नेतृत्व गरेको एमालेले समेत चर्चा कमायो ।

७२ दिनको जिम्मेवारी पूरा गर्दै मन्त्री पन्थीले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण नीतिगत निर्णय र कार्यान्वयनमा जोड दिएको बताएका छन् । यो अवधिमा स्वास्थ्य मन्त्रीले गरेको मेहनतलाई मन्त्रालयका कर्मचारीहरुले प्रशंसा गरेका छन् ।

पदभार ग्रहण गरेलगत्तै उनले गरेका निर्णय र प्रतिवद्धता पूरा भएका छन् । स्वास्थ्य मन्त्रीको पदभार ग्रहणलगत्तै मन्त्री पन्थीले प्रादेशिक सरुवा रोग अस्पताल चन्द्रौटाको शुरुवात गर्ने निर्णय कार्यान्वयन गर्दै शिलान्यास गर्दै निर्माण कार्य शुरु भएको छ ।

त्यसैगरी कपिलवस्तु अस्पताल तौलिहवाको स्तरउन्नति गर्ने प्रतिवद्धतालाई कार्यान्वयन गरेका छन् । २०७६ सालमा कपिलवस्तु अस्पताल तौलिहवाले ५० बेडको स्वीकृति पाएको थियो । अस्पतालको सेवा प्रवाह र कार्यसम्पादन उत्कृष्ट रहेको कपिलवस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय गराएका छन् ।

त्यसैगरी एक वर्षदेखि कोभिड कोषमा थन्किएर रहेको रकम मृतक परिवारले नपाउँदा समस्यामा परेका थिए । कोभिड कोष संचालक समितिको वैठक वसाली ६ सय ३६ जनाको मृत्यु भएका परिवारले पाउने जनही १ लाख गरी ६ करोड ३६ लाख राहत रकम जिल्ला प्रशासन कार्यालयमा पठाएका छन् ।

लुम्बिनी प्रदेशको आयुर्वेद चिकित्सालय बुटवललाई १५ शैयायुक्त अन्तरंग सेवा प्रवाहका लागि स्तरउन्नति गराएका छन् । कोरोनाको पहिलो संक्रमणदेखि हालसम्म कार्यरत रहेका लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी सिर्जना भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा १९३ जना र राप्ती प्रादेशिक अस्पतालमा ४३ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको हो । कोभिडका वेला ठूलो समस्याको रुपमा खड्किएको जनशक्ति अभाव पूर्ति भएको छ ।

स्वास्थ्य मन्त्रालय मातहतका कार्यालयहरुमा नेपाल स्वास्थ्य सेवा अन्तर्गत नवौं तह विषेशज्ञ चिकित्सक तथा नर्सिङ प्रशासकको स्वीकृत दरबन्दीमा रिक्त पदमा अस्थायी करारमार्फत पदपूर्ति नहुँदा चिकित्सकको अभावमा अस्पतालहरुको सेवा प्रभावित भई ढिलासुस्ती हुने, सेवाग्राही मर्का परी स्वास्थ्य सेवामा जटिलता देखिएको थियो ।

विशेषज्ञ चिकित्सकहरुको अस्थायी पदपूर्ति गर्ने नीतिगत निर्णय गरी लुम्बिनी प्रदेशका अस्पतालहरुको सेवामा सहजता ल्याउनका लागि नवौँ तहका विशेषज्ञ चिकित्सकहरुको अस्थायी पदपूर्ति गर्ने व्यवस्था गरी ६९ जनाको नियुक्ति प्रक्रिया अघि बढाएका छन् ।

त्यस्तै कपिलवस्तु अस्पताल तौलिहवा, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, बर्दिया अस्पतालमा डायलासिस सेवा सुचारु हुन सकेको थिएन । डायलासिस सेवा संचालन गर्न आवश्यक जनशक्तिको व्यवस्थापन गर्दै मेडिकल सामग्री व्यबस्थापन भएको छ ।

निःशुल्क रक्त संचार सेवा सामुदायिक र सहकारी अस्पतालबाट सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । अव सरकारी वाहेकका अस्पतालहरुमा समेत निःशुल्क ब्लडको व्यवस्था भई प्रदेशवासीलाई सहजता हुने भएको छ ।

मन्त्रालयले लागत साझेदारी कार्यक्रम तथा परियोजना कार्यान्वयनका लागि स्वास्थ्य संस्था छनौट गरी ५ करोडभन्दा बढी बराबरको सम्झौताको काम अघि बढाएका छन् ।

मन्त्री पन्थीले प्रादेशिक अस्पताल बुटवल, जिल्ला अस्पताल प्युठान, पाल्पा सहितका अस्पतालहरुमा संचालक समितिको रिक्त अध्यक्ष र सदस्यहरुमा नयाँ नेतृत्व नियुक्त गरेर सेवा प्रवाहलाई चुस्त बनाएका छन् ।

त्यसैगरी प्रदेशका सबै सरकारी अस्पताललाई अल्ट्रासाउण्ड मेसिन, अक्सिजन कनसन्ट्रटर, अक्सिजन सिलिन्डर, एक्सरे फिल्म भ्यु, भेन्टिलेटर, ओटीलाइट, आइसियू वेड लगाएतका सामग्री उपलब्ध गराएका छन् ।

यस्ता छन् मुख्य उपलब्धी

-कपिलवस्तु अस्पताल तौलिहवालाई ५० शैयाबाट १०० शैयामा स्तरउन्नति
-प्रदेशस्तरीय सरुवा रोग अस्पताल शिवराज नगरपालिका ०५ चन्द्रौटामा सिलन्यास
-लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शैय्यामा स्तरउन्नति
-लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा क्रमशः १९३ र ४३ जना अस्थाई दरबन्दी स्वीकृत
-कोभिड १९ बाट मृत्यु भएका परिवारलाई ६ करोड ३६ लाख राहत रकम निकासा
-नवौँ तहका विशेषज्ञ चिकित्सकहरुको अस्थायी पदपूर्ति गर्ने व्यवस्था
-कपिलवस्तु अस्पताल तौलिहवा, राप्ति प्रादेशिक अस्पताल तुलसीपुर, बर्दिया अस्पतालमा डायलासिस सेवा संचालन गर्न आवश्यक जनशक्ति र मेडिकल सामग्री व्यबस्थापन
-निःशुल्क रक्त संचार सेवा सामुदायिक र सहकारी अस्पतालबाट सेवा उपलब्ध
-जिल्ला र प्रादेशिक अस्पतालहरुमा विशेषज्ञ चिकित्सकहरुको अस्थायी पदपूर्ति गर्ने व्यवस्था
-लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा संचालन ।
-मुटुको भल्भ प्रतिस्थापन, मिर्गौला प्रत्यारोपण र क्यान्सर उपचारमा सहुलियतका लागि स्थापनादेखि हालसम्म ८ सय ६० जना २ लाखका दरले आर्थिक सहयोग सिफारिस ।
-राप्ती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि १० जना विशेषज्ञ डाक्टर र एक जना नर्सिङ प्रशासक व्यवस्थापन ।
-राप्ती प्रादेशिक अस्पतालमा ल्क्ष्ऋग् र एक्ष्ऋग् (नवजात शिसु) सेवा विस्तारका लागि जनशक्ति र उपकरण व्यवस्थापन ।
-राप्ती प्रादेशिक अस्पतालमा नाक, कान, घाँटीमा तथा मानसिक बिरामीको उपचार सेवा विस्तारका लागि बजेट तथा जनशक्ति व्यवस्थापन ।
-भिम अस्पतालमा सिटी स्क्यान र ब्लड वैंक सेवा संचालन ।
-प्रादेशिक अस्पताल, जिल्ला अस्पताल र पालिकाका अस्पतालहरुलाई २५ थान अल्ट्रासाउण्ड मेसिनसहित अक्सिजन कनसन्ट्रटर, अक्सिजन सिलिन्डर, एक्सरे फिल्म भ्यु, भेन्टिलेटर, ओटी लाइट, , आइसियु बेड, इसिजी महत्वपूर्ण मेडिकल सामाग्री हस्तान्तरण ।
-स्वास्थ्य ऐन पहिलो संशोधन प्रदेश सभामा पेश तथा सरोकार पक्षसँग छलफल ।
-प्रादेशिक अस्पतालसहित जिल्लाका अस्पताल विकास समितिमा रिक्त रहेका अध्यक्ष तथा सदस्यहरु एवम् मेसुको नियुक्ति ।
-सुत्केरीको लागि पोषण खाद्य आहार वितरण सम्बन्धी कार्यविधि २०७९ दोश्रो संशोधन स्वीकृति ।
-लागत साझेदारीमा कार्यक्रम तथा परियोजना कार्यान्वयनका लागि छनौट गरी ५ करोडभन्दा बढी बराबरको सम्झौताको काम अघि बढाइएको ।

-(लमही आँखा अस्पताल लमही दाङ, राप्तीआँखा अस्पताल तुल्सीपुर दाङ, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल कपिलवस्तु, अपाङ्गबाल अस्पताल तथा पुनस्थापना केन्द्र नेपालगंज बाँके, श्रीरिमुवा स्वास्थ्य चौकी बलेटक्सार, गुल्मी) ।
-अस्पताल सुदृढीकरण कार्यक्रममार्फत विभिन्न १६ वटा स्वास्थ्य सस्थामा रकम निकासा ।
-प्रदेशलाइ पूर्ण संस्थागत प्रसुती सेवायुक्त प्रदेश घोषणाको लागि कार्यविधि निर्माण
-बढ्दो प्रतिजैविक प्रतिरोध सम्बन्धी जनस्वास्थ्य समस्यालाई समयमै रोकथाम एवं निवारणका लागि कपिलबस्तु जिल्लाबाट परियोजनाको सुरुवात ।
-विभिन्न जिल्लाहरुमा एकिकृत स्वास्थ्य शिविर संचालन ।
-प्रदेश जनस्वास्थ्य प्रयोगशाला संचालन ।
-थारु समुदायमा सिकलसेल तथा थालेसेमिया परीक्षण तथा उपचारका लागि ८ वटा सरकारी अस्पतालबाट सिकलसेल र थालेसेमिया रोगको निदान, परामर्श र उपचार सुरु ।
-अस्पतालको न्युनतम सेवा मापदण्डको स्कोरमा सुधार भएको, लुम्बिनी प्रदेशका ४ वटा अस्पतालहरु देशकै उत्कृष्ठ दश अस्पतालमा परेको ।


प्रतिक्रिया

One thought on “लुम्बिनीका ७२ दिने स्वास्थ्यमन्त्री विष्णु पन्थीले देखाए यस्ता उपलब्धि

  1. नेपालमा काम गर्ने भनेकै एमाले मात्र हो । अरू त लुटेरा र स्टण्टवाज मात्र हुन् । अबको गठबन्धनको मुख्य काम मन्त्रालय फुटाउने र लुटने हुन्छ । हेर्दै जानुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर