गण्डकीमा मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै, अझै टुंगिएन भागवण्डा – Nepal Press

गण्डकीमा मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै, अझै टुंगिएन भागवण्डा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार विश्वासको मत लिँदै छन् । उक्त प्रयोजनका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले नियुक्त भएको ७ दिनमै विश्वासको मत लिन लागेका हुन् । संविधानको १६८ को उपधारा २ बमोजिम ३५ सांसदको समर्थनमा वैशाख १४ गते नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बिहीबार विश्वासको मत लिन लागेका हुन् ।

अझै कांग्रेस र माओवादीबिच भागबण्डा टुंगिएको छैन । दुवै पार्टीभित्र धेरैको मन्त्री बन्ने दौड त छ नै कुन दलले कति मन्त्रालय पाउने भन्नेमै कुरा मिल्न सकेको छैन । सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी भएको नेकपा माओवादी केन्द्रले ३ मन्त्रालय मागिरहेको छ भने कांग्रेस २ मन्त्रालय दिने मुडमा देखिन्छ ।

अहिले कांग्रेसबाट मुख्यमन्त्रीसहित २ जना र माओवादी केन्द्रबाट एउटा मन्त्री बनिसकेका छन् । अहिले कांग्रेसबाट सरस्वती अर्याल र माओवादीबाट सुशिला सिंखडा विनाविभागीय मन्त्रीको रूपमा मुख्यमन्त्रीसँगै शपथ लिएका हुन् ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले हालसम्म भागबण्डा नटुंगिएको बताए । ‘नेताहरुले टुंग्याउने कुरा हो, टुंगिएको अहिलेसम्म जानकारी पाएको छैन, भोली (बिहीबार) बिहानसम्म टुग्याउलान् नि,’ चुमानले भने ।

२ मन्त्रीसहित सपथ लिएका मुख्यमन्त्री पाण्डेले भागबण्डामा कुरा नमिलेपछि मन्त्रिपरिषद विस्तार अघिनै विश्वासको मत लिन लागेका हुन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि सरकारलाई ३१ सांसद आवश्यक पर्छ ।

प्रदेशमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् । उनलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र स्वतन्त्र निर्वाचित भएर एकीकृत समाजवादी प्रवेश गरेका एक सांसदको समर्थन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर