दार्चुला हिमपहिरो अपडेट : दुई महिलासहित तीन जनाको शव भेटियो – Nepal Press

दार्चुला हिमपहिरो अपडेट : दुई महिलासहित तीन जनाको शव भेटियो

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ ।

मङ्गलवारदेखि हिमपहिरोमा परी सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँच जना सम्पर्कविहीन थिए ।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाई किलोमिटर तल हिउँभन्दा बाहिर मृतास्थामा तीन शव भेटिएको जानकारी दिए ।

‘शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ ।’ उनले भने ‘शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन ।’

मङ्गलबार दिउँसोबाट सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो । ‘हिजो पनि राति ९ः३० बजेसम्म खोजीमा जुट्यौँ,’ उनले भने, ‘आज पनि बिहानबाट टोली खटिएको छ ।’

उनका अनुसार सो क्षेत्रमा यार्सा सङ्कलकहरु त्रिपालमा बसिरहेका थिए ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर