राष्ट्रपति रनिङ सिल्ड : एकदिनको प्रशिक्षणपछि सहभागी हुँदा गण्डकीकाे लज्जास्पद प्रदर्शन, जिम्मेवार को ? – Nepal Press

राष्ट्रपति रनिङ सिल्ड : एकदिनको प्रशिक्षणपछि सहभागी हुँदा गण्डकीकाे लज्जास्पद प्रदर्शन, जिम्मेवार को ?

पोखरा । गत हप्ता काठमाडौंमा भएको १३ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सबैभन्दा धेरै स्वर्णपदक जित्दै लुम्बिनी प्रदेश लगातार तेस्रोपटक च्याम्पियन बन्यो ।

नवौं राष्ट्रिय खेलकुद उत्कृष्ट प्रदर्शन गरेको गण्डकी प्रदेशको प्रदर्शन भने लज्जास्पद रह्यो । ३३ पदकसहित लुम्बिनी प्रदेश च्याम्पियन बन्यो ।

गत असोज/कात्तिकमा भएको नवौं राष्ट्रिय खेलकुदमा प्रदेशतर्फ उत्कृष्ट प्रदर्शन गरेको गण्डकीको १३ औं राष्ट्रपति रनिङ सिल्डको प्रदर्शन बिर्सनयोग्य भयो । च्याम्पियन बनेको लुम्बिनीले २० स्वर्ण जित्दा गण्डकीमात्र ३ स्वर्णमा सीमित रह्यो । गण्डकीले एथलेटिक्समा २ र करातेमा १ स्वर्ण पदक जित्यो ।

नवौं खेलकुदमा प्रदेशतर्फ पहिलो भएको गण्डकी १३ औं रनिङ सिल्डमा १४ पदकसहित छैटौंमा सीमित रहन पुग्यो । नवौं खेलकुदमा ३७१ पदकसहित पहिलो त्रिभुवन आर्मी क्लब समग्रमा पहिलो बन्दा गण्डकी प्रदेश १२० पदकसहित समग्रमा चौथो र प्रदेशतर्फ पहिलो बनेको थियो ।

तर, त्यसको ६ महिनापछि भएको रनिङ सिल्डमा भने गण्डकीले लज्जास्पद हार बेहोरेको छ । विभागीय टिमको सहभागिता नरहेको रनिङ सिल्डमा गण्डकी ७ मध्ये छैटौं प्रदेश बनेको हो । गण्डकीले मधेस प्रदेशलाई मात्रै पछाडि पारेको छ ।

यसअघि १२ औं राष्ट्रपति रनिङ सिल्डमा गण्डकी प्रदेश चौथो भएको थियो । लुम्बिनी प्रदेश च्याम्पियन बनेको १२ औं राष्ट्रपति रनिङ सिल्डमा गण्डकीले ५ स्वर्ण, ११ रजत र ११ काश्यसहित चौथो स्थान हासिल गरेको थियो ।

गण्डकी भलिबलमा उर्वरभूमि मानिन्छ । गण्डकीमा सिनियर टोलीले विभागीय टोलीलाई टक्कर दिन्छन् । रनिङ सिल्डमा भलिबलबाट स्वर्ण पदकको अपेक्षा गरिएको थियो । तर, महिला, पुरुष दुवै टोलीबाट स्वर्ण पदक आउन सकेन । पुरुषतर्फ दोस्रो र महिलातर्फ तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेलले विद्यालय स्तरमा खेलकुद गतिविधि नहुँदा प्रतियोगितामा अनपेक्षित हार व्यहोरेको बताए । ‘प्रदेशका विद्यालयहरु खेलकुदका गतिविधि सञ्चालन भएनन्, त्यस कारण पनि हामी पछाडि पर्यौं,’ उनले भने ।

कमजोर अवस्था, फितलो तयारी

वैशाख ११ र १२ गते गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन भयो । त्यो प्रतियोगिताबाट वैशाख १५ गते काठमाडौंमा सञ्चालन हुने १३ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि खेलाडी छनोट भए ।

छनोट भएका खेलाडीलाई तयारीका लागि १ दिनको मात्र समय थियो । १२ गते छनोट भएका खेलाडी १४ गते काठमाडौं प्रस्थान गर्नुपर्ने अवस्था थियो । उनीहरु १ दिनमात्रै अभ्यास गरेर काठमाडौं गएका थिए ।

आवश्यक तयारी हुन नपाउँदा सोचेअनुसारको नतिजा निकाल्न नसकेको प्रदेश महिला भलिबल टिमका प्रशिक्षक मलिन रोकाले बताए । ‘हामीले राम्रै खेलेको हो । तर, हाम्रो तयारी पर्याप्त भएन, सबै प्रदेशमा १०÷१५ अघिबाट तयारी सुरु भएको थियो, हाम्रोमा १÷२ दिनमात्रै तयारी भयो, तयारी पुगेन,’ उनले भने, ‘तयारी नपुग्दा सोचेअनुसार नतिजा निकाल्न सकिएन ।’

तयारी नहुँदा गण्डकीले हालसम्मकै खराब नतिजा बेहोर्नुपरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिबी नेपालीले बताए । ‘अब ११ र १२ गते प्रदेश स्तरीय रनिङ सिल्ड भयो, खेलाडीका लागि तयारीका लागि १ दिनमात्रै बाँकी थियो, १ दिनको क्याम्पले के नै हुन्छ र, पर्याप्त तयारी नहुँदा हार बेहोर्नुपर्यो,’ उनले भने ।

प्रदेश खेलकुद परिषदले रनिङलाई प्राथमिकता दिएर जानुपर्ने कार्यालय प्रमुख नेपालीले सुनाए । उनले भने, ‘प्रदेश खेलकुदले बजेटको हिसाबले यसलाई प्राथमिकता राख्नुपर्यो । अनि बल्ल राम्रो नतिजा आउँछ ।’

बजेट अभावले १ दिनमात्रै क्लोज क्याम्प गरिएको सदस्य सचिव घनश्याम पौडेलले बताउँछन् । ‘हामीलाई बजेट एकदमै कम थियो । अन्य प्रदेशमा १ करोड जति बजेट छुट्याएका थिए, हामीसँग २२ लाखमात्रै थियो । त्यस कारण तयारी राम्रो हुन सकेन,’ उनले भने ।

केन्द्रीय रनिङ सिल्ड सुरु हुन ३ दिनमात्रै बाँकी हुँदा प्रदेश छनोट गरिएको थियो । खेलाडीका लागि एक दिनमात्रै समय राखेर छनोट गरिएको थियो ।

सदस्य सचिव पौडेलले बजेट अभावका कारण प्रदेशको छनोट अन्तिम चरणमा गरिएका बताउँछन् । ‘हामीले खेलाडी छनोट छिट्टै गरेर १०/१५ दिन खेलाडीलाई क्लोज क्याम्पमा राख्नुपर्ने थियो,’ उनले भने, ‘तर, बजेट नहुँदा क्लोज क्याम्पसमा राख्न नपर्ने गरी छनोट प्रतियोगिता गरेका हौं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर