बुटवलमा अर्को सहकारी सम्पर्कविहीन – Nepal Press

बुटवलमा अर्को सहकारी सम्पर्कविहीन

रुपन्देही । आर्थिक संकटमा पर्दै गएपछि रुपन्देहीको सप्तदीप बहुद्देश्यीय सहकारी बन्द भएको छ । सदस्यहरुले बचत रकम फिर्ता माग्न थालेपछि सञ्चालकहरु कार्यालय बन्द गरी सम्पर्कविहीन भएका छन् ।

संस्थाकी बचतकर्ता सीता घिमिरेले वैशाख १० गते पैसा दिने भनी सहकारीले टोकन दिए पनि अहिलेसम्म आफूले रकम फिर्ता नपाएको बताइन् । टोकन लिएर सहकारीमा जाँदा कार्यालयमा ताला लगाइएको पाएको उनले जानकारी दिइन् ।

सहकारी सदस्य लक्ष्मी मल्लले भनिन्, ‘हामीले खाइ नखाइ दुःखले रकम जम्मा ग¥यौं । तर, अहिले सहकारीमा ताला लगाइएको छ । यसबारे हामी कहाँ गएर बोल्ने ?’

कार्यालयमा कुनै पनि सूचना नटाँसी सञ्चालकहरु सम्पर्कविहीन भएपछि बचतकर्ताहरुले सहकारीमै धर्ना दिन थालेका छन् । विगत १५ दिनदेखि कार्यालयमा ताला लगाएर सञ्चालकहरु सम्पर्कविहीन भएपछि सहकारीमा धर्ना दिन आएको मल्लले बताइन् ।

कार्यालयका कर्मचारी फर्सुराम ढकालले कार्यालयका विषयमा आफूलाई धेरै जानकारी नभएको बताए । सञ्चालकहरु सम्पर्कविहीन भएपछि बचतकर्ताहरु इलाका प्रशासन कार्यालय अगाडिसमेत धर्ना दिन पुगेका थिए ।

यसअघि सुप्रिम, शिवशिखर, उपकार र आगन्तुक सहकारीले पनि यसैगरी नै कार्यालय बन्द गरेका थिए । तिनीहरुले अझैसम्म बचकर्ताको रकम फिर्ता दिन सकेका छैनन् ।

शिवशिखर सहकारीले घरभाडाबापतको झण्डै २५ लाख रुपैयाँसमेत तिरेको छैन । अहिले पनि शिवशिखर सहकारीमा बचतकर्ता पुग्ने गरे पनि ताला लगाएको छ ।

बुटवल उपमहानगरपालिका सहकारी विभाग प्रमुख गुणाखर खनालले नगरको क्षेत्राधिकारमा परेका सबै सहकारीमा अनुगमनको काम भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर