डिजिटल नेपालको लक्ष्य प्राप्तिमा निजी क्षेत्र र सरकारबीच थप साझेदारी आवश्यक : चन्द्र ढकाल – Nepal Press

डिजिटल नेपालको लक्ष्य प्राप्तिमा निजी क्षेत्र र सरकारबीच थप साझेदारी आवश्यक : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन दिई डिजिटल नेपाल बनाउने लक्ष्य हासिल गर्न निजी क्षेत्र र सरकारको थप साझेदारीका लागि आह्वान गरेका छन् ।

‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३’ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रलाई डिजिटलाइज गर्न निजी क्षेत्र अगाडि बढिसकेकाले थप सहजीकरणका लागि ध्यानाकर्षण गराए ।

‘डिजिटल नेपाल बनाउनको लागि निजी क्षेत्र र सरकारको उल्लेखनीय लगानीको आवश्यकता छ । सूचना प्रविधिको लागि आवश्यक मानवीय संसाधन र प्राविधिक शिक्षा, इन्टरनेटको सहजता र सुलभता हुनु जरुरी छ । सूचना प्रविधिको प्रयोगले नेपाली उत्पादन र सेवाको निर्यातलाई बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिने भएकोले यसमा सरकार र निजी क्षेत्रबिच थप साझेदारी आवश्यक छ’, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघले सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी छुट्टै सूचना तथा सञ्चार प्रविधि विकास समिति गठन गरेको ढकालको भनाई थियो । सूचना प्रविधि क्षेत्रमा लागेका निजी क्षेत्रका व्यवसायीहरुले निरन्तर पोलका समस्या, विद्युतीय शुल्क, अनलाइन पेमेन्टलगायतका समस्या भोग्नु परेकाले प्राथमिकताका साथ समाधान गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर