देउखुरीवासीको जग्गा ३२ महिनादेखि रोक्का, स्थानीय आन्दोलित (तस्बिरहरू) – Nepal Press

देउखुरीवासीको जग्गा ३२ महिनादेखि रोक्का, स्थानीय आन्दोलित (तस्बिरहरू)

रुपन्देही । लामो समय जग्गा रोक्का गरिएको भन्दै स्थानीयले लुम्बिनी प्रदेशसभाको मूलद्वारमा आन्दोलन थालेका छन् । स्थानीयको आन्दोलनका कारण नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको विश्वासको मतको पूर्वनिर्धारित समय प्रभावित भएको छ ।

प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीको रोक्का गरिएको जग्गा फुकुवाको माग गर्दै आन्दोलन सुरू भएको हो । राजधानी व्यवस्थापनका नाममा ३२ महिनादेखि जग्गा रोक्का गरिएकोमा नागरिक जनदबाब तथा सङ्घर्ष समिति बनाएर फुकुवाको माग राखिएको छ । प्रदर्शनकारी बिहान ११ बजेदेखि अनशनमा बसेका छन् ।

नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने दिन नै सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राप्ती क्षेत्रका स्थानीय आन्दोलित भएका हुन् ।

जग्गा फुकुवाको विषयलाई जोडेर जनस्तरबाट संघर्ष समितिसमेत निर्माण गरिएको छ। उद्योगी व्यवसायी, किसान, मजदुर, निर्माण व्यवसायी तथा जग्गा रोक्काबाट प्रभावित नागरिकहरू संगठित भएर संघर्ष समिति निर्माण गरेका छन् । अगुवा किसान शंकर गौतमको संयोजकत्वमा जग्गा फुकुवा तथा राजधानी व्यवस्थापन संघर्ष समिति गठन गरिएको छ ।

संघर्ष समितिले आज बिहान ८ बजेदेखि प्रदेश राजधानी परिसर क्षेत्रमा धर्ना सुरू गरी प्रदेश सभा प्रबेशद्वारमा रिले अनशन बसेका छन् ।

लुम्बिनी प्रदेश राजधानी घोषणा हुनुअघि जग्गा रोक्का भएको थियो । लामो समयदेखि लुम्बिनी प्रदेशको स्थायी मुकाम भएको ठाउँको जग्गा रोक्का हुँदा दैनिक जीवनयापनसहित उद्योग, व्यापार सञ्चालनमा जटिल समस्या भएको भन्दै स्थानीयहरूले तत्काल रोक्का जग्गा फुकुवा गर्न माग गरेका छन् ।

जग्गा रोक्का हुँदा अंशबन्डा, किनबेच तथा बैंक एवम् वित्तिय संस्थाहरूबाट समेत कुनै प्रकारको ऋण लिन नपाउँदा आफूहरूले धेरै समस्या भोगेको स्थानीयको गुनासो रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *