नेपाली मूलका व्यवसायी राज भण्डारीले पाए अमेरिकी अवार्ड, ह्वाइट हाउसमा बाइडेनले दिए बधाई – Nepal Press

नेपाली मूलका व्यवसायी राज भण्डारीले पाए अमेरिकी अवार्ड, ह्वाइट हाउसमा बाइडेनले दिए बधाई

न्युयोर्क । अमेरिकास्थित नेपाली मूलका व्यवसायी त्यहाँका प्रतिष्ठित अवार्डबाट सम्मानित भएका छन् । पुर्ख्यौली थलो कास्की पोखरा रहेका नेपाली मूलका राज भण्डारीको साइनसीक्स नामको व्यवसायलाई सन् २०२३ को एक्सपोर्टर अफ द इयर अवार्ड प्रदान गरिएको हो ।

अमेरिकी सरकारको साना व्यवसाय प्रशासन एसबीएले साइनसीक्सलाई उक्त अवार्डका लागि छनौट गरेको स्थानीय सन्चारमाध्यमले जनाएका छन् ।

नर्थ क्यारोलाइनमा मुख्यालय रहेको कम्पनीका सञ्चालक राज भण्डारी हुन् भने अपरेशन म्यानेजर रञ्जन कार्की हुन् । ग्लोबल मार्केटिङका निर्देशक लिसा बामफोर्डले निरीक्षणपछि सो सिफारिस गरेकी हुन् ।

साइनसीक्स र अन्य राष्ट्रिय साना व्यापार सप्ताह पुरस्कार विजेताहरूलाई अप्रिल ३० देखि मे २ सम्म वाशिंगटन डीसीमा सम्मानित गरिएको हो । ह्वाइट हाउसमा आयोजित कार्यक्रममा राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले साइनसीक्स टोलीलाई भेटेर बधाई दिएका थिए ।

विश्वभर ग्राहकहरूको बढ्दो सूचीको साथ साइनसीक्सले एसबीएका ट्रेड उपकरणहरूलाई तिनीहरूको राजस्व बढाउन र विविधीकरण गर्न तथा अन्तर्राष्ट्रिय व्यापारका अन्य धेरै फाइदाहरू प्राप्त गर्न काम गरेको एसबीएककी प्रमुख इसाबेला कासिलास गुजम्यानले बताइन् ।

यो वर्ष राष्ट्रिय साना व्यवसाय सप्ताह मनाउँदै गर्दा साइनसीक्सका मालिक राज, र टोलीका नेता रञ्जन र लिसालाई बधाई दिन पाउँदा खुसी भएको उनले बताइन् ।

सन् १९८५ मा यसको स्थापना भएदेखि कम्पनीले हाइ पर्फमेन्स लिक्वीड क्रोमेटोग्राफी र मास स्पेक्ट्रोमेट्री भागहरू निर्माण गरेको छ, जसको प्रयोगहरूमा औषधि परीक्षण, प्रदूषण विश्लेषण, कीटनाशक पत्ता लगाउने लगायत समावेश गरेको कम्पनीले जनाएको छ । कम्पनीको नर्थ क्यारोलिनामा मुख्यालय र मिनेसोटामा उत्पादन कारखाना रहेको छ ।

५० राज्यबाट छानिएका सर्वोत्कृष्ट व्यवसायी अमेरिकामा साढे ३ करोड साना व्यवसायी छन् । अमेरिकाको ४५ प्रतिशत अर्थतन्त्र साना व्यवसायीले धानेको बताइन्छ । यस वर्ष अमेरिकाले सामान निर्यात गर्नेमा साना व्यवासायीहरूको छनौट गर्ने क्रममा ५० राज्यबाट टप ५० व्यवसाय छनौट गरिएको थियो । ती टप ५० मध्य नर्थ क्यारोलिना राज्यबाट राज भण्डारीको व्यसाय छनौट भएको थियो ।

यो कम्पनीमा आफ्नो एकल लगानी रहेको र पोखराकै रन्जन कार्की आफूसँग भाइस प्रेसिडेन्टको रुपमा रहेको भण्डारीले नेपाल प्रेसलाई बताए । उनले भने, ‘हामीले धेरै मेहनत गरेर यो कम्पनी खडा गरेका हौं । ५० राज्यबाट छानिएका ५० कम्पनीमध्ये टप टेन कम्पनी छान्दा पनि हामी परेका हौं । ती टप टेनबाट पनि नम्बर वानमा हामी परेका हौं । आज राष्ट्रपति र उपराष्ट्रपतिले भेटेर बधाई दिनुभयो ।’

अमेरिकाको यस्तो प्रतिष्ठित अवार्ड पाउने राज भण्डारी पहिलो नेपाली हुन् । राष्ट्रपति बाइडेनले विदेशबाट आएर अमेरिकामा जब क्रियट गरेको भन्दै आफूलाई बधाई दिएको र तिमीहरू हामीलाई चाहिन्छ भनेर धन्यावाद दिएको उनले बताए । अमेरिकाले मे महिनाको पहिलो साता स्मल बिजनेश वीक भनेर अभियान नै सञ्चालन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *