महिला हिंसाको अन्त्यका लागि चाँडै कानून पारित गरिन्छ : कृष्णकुमारी पौडेल – Nepal Press

महिला हिंसाको अन्त्यका लागि चाँडै कानून पारित गरिन्छ : कृष्णकुमारी पौडेल

कालिकोट । राष्ट्रिय महिला आयोग सदस्य कृष्णकुमारी पौडेलले महिलाविरुद्ध हुने विभिन्न प्रकारका हिंसा अझै पनि नेपाली समाजमा व्याप्त रहेको बताएकी छन् ।

उनले भेदभाव, छाउपडी प्रथा, बालविवाह, दाइजो, बहुविवाह, विधुवाहरू विरुद्धको भेदभाव, बोक्सीको आरोप, दलित विरुद्धको विभेद, आदिवासी महिला र बालिका विरुद्ध विभेद, झुमा, देउकी र धन खाने प्रचलन अझै पनि भेटिने गरेको बताइन् ।

कालिकोटको खाडाचक्र नगरपालिकामा भएको समाजमा विद्यमान रहेका हानिकारक अभ्यासहरु छाउपडी तथा, बोक्सिको आरोप, बालविवाह लगायतका प्रथा सम्बन्धी अन्तरक्रियामा पौडेलले हानिकारक अभ्यासहरू उपर प्रतिबन्ध लगाउने कानून चाँडै पारित गरिने पनि बताइन् ।

त्यस्ता कार्य गर्नेहरू उपर अनुसन्धान तथा अभियोजन गरी पर्याप्त सजायको व्यवस्था गर्ने र पीडितलाई क्षतिपूर्ति समेत दिलाउने व्यवस्था गर्ने पौडेलले बताइन् ।

‘हानिकारक अभ्यासहरू सम्बन्धी कानुनी व्यवस्था र त्यस्ता अभ्यासले महिला र बालिकाहरूमाथि पर्ने दुष्प्रभावकासम्बन्धमा प्रहरी, न्यायपालिका, गाउँमा रहेका स्वास्थ्य सञ्जाल, धार्मिक समुदायका राजनितिक दल समेतका सरोकारवालाहरू माझ जनचेतना अभिवृद्धि गर्नका निमित्त ठोस लक्ष्य र स्रोतहरूको व्यवस्था समेत गरी नागरिक सवाल र स्थानीय सरकार समेतसँगको सहकार्यमा विस्तृत रणनीति विकास गर्ने योजनामा रहेको छौँ’, उनले भनिन् ।

विवाहयोग्य हुने उमेर २० वर्ष तोकी अपराध संहिताको व्यवस्था अनुकूल हुने गरी देवानी संहिताका सम्बन्धित दफाहरूमा परिमार्जन गर्न तयार भएको विधेयकलाई पारित गर्न प्राथमिकताका साथ कार्य भइरहेको पौडेलको भनाइ छ ।

यस्तै, प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझिले कालीकोट जिल्ला आर्थिक, राजनीतिक, सामाजिक र भौतिक पूर्वाधार विकासको अवस्थामा पछाडि परेको बताए ।

गरिबी, विपन्नता, अभाव, विकट भौगोलिक बनावट, पूर्वाधार विकासको कमजोर अवस्था, न्यून साक्षरता दर, कमजोर स्वास्थ्य र पोषण, लैंगिक विभेद, जातीय विभेद यहाँको समस्याको रुपमा रहेको धारणा व्यक्त गरे ।

साथै, उनले कालिकोटमा छाउपडी बोक्सी जस्ता कुसंस्कारको अन्त्य भए पनि महिला तथा बालबालिका माथि हुने घरेलु हिंसा, यौन दुर्व्यवहार र बालविवाहका घटना कालीकोट जिल्लाका लैंगिक हिंसाका प्रमुख दृष्टान्त रहेको जनाए ।

कार्यक्रममा प्रहरी निरीक्षक सुबराज बमले कालिकोटमा जातिय छुवाछुतमा हालसम्म उजुरी नपरेको बताए । त्यस्तै, बहुविवाहमा ०७७/०७८ मा ६ वटा मुद्दा दर्ता र ६ फर्छैट भएका छन् भने ०७८/०७९ मा ४ दर्ता र ४ फर्छैट भएका छन् । यस्तै, ०७९/०८० माम ४ दर्ता र ४ फर्छैट भएको बमले जानकारी दिएका छन् ।

साथै, बालविवाह ०७७/०७८ मा २ मुद्दा दर्ता र २ फर्छैट भएका छन् । ०७८/०७९ मा भने कुनै पनि ुमद्दा दर्ता भएका छैनन् । ०७९/०८० माम ४ दर्ता र ४ फर्छैट भएका छन् ।

कार्यक्रममा सहभागी नरहरीनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादर विष्टले कालिकोटमा दाईजो प्रथा र बोक्सि प्रथा नभएको बताए । कालिकोटमा छाउपडी र छुवाछुतको अझै पनि अन्त्य नभएको विष्ट धारणा राखे ।

यस्तै, पचालझरना गाउँपालिका उपाअध्यक्ष अल्किना बमले महिलाहरुको हक हितका लागि १० बर्षीय जनयुद्ध लडेको बताइन् । उक्त युद्धले हिंसा पूर्णरुपमा अन्त्य नभएपनि केहि मात्रामा न्यूनिकरण भएको भनाइ राखिन् ।

साथै, सान्नी त्रिवेणी गाउँपालिका उपाअध्यक्ष पार्वति सिंहले आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिक परम्पराले महिला हिंसा हुने गरेको बताइन् ।

यस्तै, शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द्र प्रसाद आचार्यले विचार र विकास दरिद्रा रहेको बताए ।

साथै, महाबै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले पितृसत्तात्मक व्यवस्थाका कारण सदियौँ देखि विभेदको शिकार हुँदै आएका महिला माथि हुने हिंसाको अन्त्य गर्नका लागि सबैले लागि पर्नुपर्ने बताए ।

यस्तै, रास्कोट नगरपालिका नगरप्रमुख धर्मराज शाहीले पुरुषहरुले मिलेर महिलाका अधिकार सम्बन्धि कार्यक्रम बाडिचुडि खाएको बताए ।

उक्त कार्यक्रममा सरोकारवाला निकाय, महिला अधिकारकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *