रंगशालाविहीन देशमा क्रिकेटको यतिसम्म क्रेज – Nepal Press
ब्लग

रंगशालाविहीन देशमा क्रिकेटको यतिसम्म क्रेज

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा सोमबार उज्यालो नहुँदै दर्शकहरु जम्मा हुन थालिसकेका थिए ।

सुरक्षामा खटिएका एक अधिकारीका अनुसार उनीहरु ड्युटीमा पुग्दा त्यहाँ दर्शकहरुको भीड लागिसकेको थियो । ‘त्यसरी आएका दर्शकहरु कहाँ जान्छन् त !’, मध्यान्ह भारी वर्षाबीच दर्शकदीर्घा नछाडेका हजारौं दर्शकलाई हेर्दै असई दर्जाका ती प्रहरी अधिकारी भन्दै थिए ।

त्रिवि क्रिकेट मैदानमा विगतका २-३ दिन झैं सोमबार पनि वर्षा हुन सक्ने बिहानैदेखि संकेत देखिएको थियो । तर, निर्धारित समयमा खेल सुरु हुन व्यवधान भएन । खेल सुरु भएको करिब डेढ घण्टापछि भने वर्षा भयो । करिब २० मिनेट रोकिएर खेल पुनः सुरु भएको थियो ।

त्यसपछि यूएईले २७.३ बल ब्याटिङ गरिसक्दा फेरि वर्षा भयो । यसपटक पानी मज्जाले पर्न थालेको थियो । पानी रोकिन सक्ने कुनै संकेत देखिएको थिएन । तर, दर्शकले ठाउँ छाडेनन् । बरु उनीहरु छाता ओडेर बसिरहे । खेल सुरु हुने प्रतीक्षा गरिरहे । २-३ घण्टासम्म उनीहरुले खेल पुनः सुरु हुने आशा मारेनन् ।

मैदानमा ढाकिएको कभरमा पानी छचल्किरहे पनि दर्शकको आशा मरेको देखिएन । घरी उनीहरु साथमा ल्याएको बाजा बजाउँथे त घरी आकाशमा उडिरहेको ड्रोनतर्फ हेरेर चिच्याउँथे । बेला बेलामा ‘नेपाल… नेपाल…’ भन्दै खेल भइरहे झैं माहोल ल्याउँथे । वर्षाबीच हजारौं समर्थकले छाता ओडेर खेल कुरिरहेको तस्विर सामाजिक सञ्जालमा राख्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाली समर्थकले धैर्यता देखाएको भन्दै नेपाललाई छानोसहितको रंगशाला आवश्यक रहेको उल्लेख गरे ।

वर्षाले खेल रोकिनुअघि यूएई १०६/९ को खराब स्थितिमा रहेको थियो । यो खेलमा नेपाल निकै बलियो अवस्थामा छ ।

दर्शक ओइरिनुका केही खास कारणहरु थिए । नेपालले पछिल्लो समय निकै माथिल्लोस्तरको प्रदर्शन गरिरहेको छ । विश्वकप लिग- २ का अन्तिम १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता कायम राख्नुका साथै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

त्यसयता पनि नेपालको बेजोड प्रदर्शन कायमै छ । जारी एसीसी प्रिमियर कपको विजेता टोली भारत र पाकिस्तान सहभागी हुने एसिया कपका लागि छनोट हुने भएकाले यो प्रतियोगिताले निकै महत्व पाएको छ ।

तस्बिर : उमेश कार्की 

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो १३ मध्ये १२ खेल जितेको छ । यस्तै त्रिवि क्रिकेट मैदानमा खेलेका पछिल्ला सबै ११ खेल नै जितेको छ । यस्तै यूएईसँग भएका पछिल्ला ६ भिडन्तमा ५ वटा जितेको छ । वर्षाका कारण स्थगित भएको सोमबारको खेल सोही अवस्थाबाट मंगलबार बिहान सुरु हुनेछ । नेपाल क्रिकेट संघले मंगलबार दर्शकले खेल हेर्न पैसा तिर्न नपर्ने जनाएको छ ।

पानी नपरेको भए, सम्भवतः सोमबार नै नेपाल विजेता बनेको र एसिया कपका लागि छनोट भएको हेर्ने अवसर उनीहरुलाई जुर्न सक्थ्यो । १०६/९ को अवस्थाबाट खेल अगाडि बढाएर घरेलु टोलीलाई हराउन यूएईलाई सामान्य प्रदर्शन अब पर्याप्त हुने छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *