राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र कम्बोडियाका सिनेट अध्यक्ष चे सुमबीच भेटवार्ता – Nepal Press

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र कम्बोडियाका सिनेट अध्यक्ष चे सुमबीच भेटवार्ता

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कम्बोडियाका समकक्षी सिनेटका अध्यक्ष समदेक विभोलेस्ना फेकदेक चे सुमसँग भेटवार्ता गरेका छन् ।

सोमबार दिउँसो सिनेट कार्यालय रातोघरमा दुईबीच भेटवार्ता भएको जनाइएको छ । भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दुई देशबीचको पाँच दशक लामो दौत्य सम्बन्ध, नेपालको संयुक्त राष्ट्रसंघ, आईपीयूलगायतका निकायमा हुने प्रतिनिधित्व र मुद्दामा सहयोग र सहकार्यको बारे चर्चा गर्दै पछिल्लो समय कम्बोडियाले गरेको शान्ति, विकास र प्रगतिका लागि बधाईसमेत ज्ञापन गरेको जनाइएको छ ।

यस्तै कम्बोडियन सिनेटका अध्यक्ष सुमले दुई देशबीच सन् १९६२ बाट सुरू भएको सम्बन्ध विभिन्न समयमा फरक फरक रूपमा प्रस्तुत भएको उल्लेख गर्दै दुई देशबीचको साझा हितका विषयमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तिमिल्सिनाले ९७ प्रतिशत बौद्धमार्गी रहेको कम्बोडिया र बुद्ध जन्मस्थल लुम्बिनीलाई एकापसमा जोड्न नेपाल र कम्बोडिया सीधा हवाई सेवा सुरू हुने आशा व्यक्त गरेका छन् ।

भेटवार्तामा उनले व्यापार र पारवहनका क्षेत्रमा भएका विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा गरिनुपर्नेमा पनि जोड दिएका छन् ।

अध्यक्ष तिमिल्सिना प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिन कम्बोडिया प्रस्थान गरेका थिए । उनी मंगलबार कम्बोडियाको राजधानी नोम्पेहमा आयोजना हुने प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधि तथा वर्ल्ड फेलोसिप अफ बुद्धिष्टको संरक्षक (प्याट्रोन)को उपाधि प्रदान गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर