उप निर्वाचनबारे लिङ्देनको विश्लेषण- मतदाताले विकल्प खोजे, तर रास्वपाको रंग अझै स्पष्ट छैन – Nepal Press

उप निर्वाचनबारे लिङ्देनको विश्लेषण- मतदाताले विकल्प खोजे, तर रास्वपाको रंग अझै स्पष्ट छैन

रुपन्देही । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपनिर्वाचनको मत परिणामले मतदाता विकल्पतर्फ र व्यक्ति केन्द्रित हुँदै गएको भन्ने प्रष्ट देखिएको बताए । तर चुनावमा राम्रो नतिजा ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीको अझै रङ्ग स्पष्ट नभएको उनको टिप्पणी छ ।

वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले उपनिर्वाचनमा राम्रो मतान्तरले २ सीट जितेर राम्रो नतिजा ल्याए पनि अरू दलको जस्तै अझै उसको रङ्ग भने स्पष्ट हुन नसकेको लिङ्देनले बताए ।

शनिवार राप्रपाको लुम्बिनी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई कपिलवस्तुमा सम्बोधन गर्न आएका उनले पत्रकारसँग कुरा गर्दै सो कुरा बताएका हुन ।

राप्रपासहितका कांग्रेस, एमाले, माओवादीजस्ता पार्टीहरूको रङ प्रष्ट भइसकेको तर रास्वपाको रङ प्रष्ट भई नसकेको उनको भनाइ छ ।

‘कांग्रेस, एमाले, माओवादी, राप्रपा के हो, रङ प्रष्ट छ,त्यसलाई मन पराउने नपराउने छान्ने अधिकार जनतामा छ, तर रास्वपाको रङ प्रष्ट छैन’ उनले भनेका छन् ।

उपनिर्वाचनमा रास्वपाको सफलतालाई राप्रपाले सकारात्मक रूपमा लिएको बताउँदै उनले भने, ‘रास्वपाले २ वटा सीटमा राम्रो मतान्तरसहित जित हात पार्‍यो, यसले आमजनता परिवर्तनको पक्षमा जान थाल्यो भन्ने कुरालाई प्रमाणित गरेको छ ।’

उनले रास्वपासँग डराउनुपर्ने स्थितिमा राप्रपा नभएको दाबी गरे । उनले राप्रपाका मूल एजेण्डालाई केही वर्षभित्रै कांग्रेस, एमालेसहितका प्रमुख राजनीतिक दलले लिएर अघि बढ्ने परिस्थितिको सिर्जना गर्ने दाबी गरे ।

अध्यक्ष लिङ्देनले छोटो समय सरकारमा रहँदा ४ वर्षदेखि हुन नसकेको विद्युत् सम्झौता खुल्ला गरेको बताउँदै तमोर, बुढी गण्डकी, दुधकोशीजस्ता जलाशययुक्त आयोजनाहरू बन्ने सुनिश्चित गरेको दाबी गरे ।

उनले आगामी २०८४ मा हुने चुनावबाट संघीय सांसदमा हालको प्रतिनिधित्व १४ औँ गुणा बढ्ने र सोही अनुरूपमा काम गर्न पार्टी नेता, कर्यकर्तालाई निर्देशनसमेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर