‘कांग्रेसलाई हराउन एमालेले घण्टीलाई भोट हाल्यो’ – Nepal Press
नेपाल टक

‘कांग्रेसलाई हराउन एमालेले घण्टीलाई भोट हाल्यो’

कांग्रेस सहमहामन्त्री जीवन परियार भन्छन्- रास्वपा कांग्रेसको विकल्प हो भनेर कसैलाई लाग्नसक्ला

काठमाडौं । उपनिर्वाचनको नतिजाले ठूला दलहरूमा तरङ्ग पैदा भएको छ । चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने ४३ हजार बढी र तनहुँ १ मा रास्वपाकै डा. स्वर्णिम वाग्ले १४ हजार बढी मतान्तर विजयी बनेपछि दलहरूमा कम्पन पैदा भएको छ । वाग्ले हालैमात्र कांग्रेसको अब भविष्य नरहेको भन्दै रास्वपाबाट चुनाव लडेका थिए ।

मूलधारका राजनीतिक दलहरूले जनअपेक्षानुसार काम गर्न नसक्दा वैकल्पिक शक्तिको रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाएको छ । कतिपयले रास्वपालाई कांग्रेसको विकल्पको रूपमा उदाएको टिप्पणी गर्न थालिसकेका छन् । तर, रास्वपाको उदयलाई जनताको शान्त विद्रोहको पनि कतिपयले संज्ञा दिइरहेका छन् । रास्वपाको उदयपछि ठूला दलहरूमाझ सच्चिने कि सक्किने भन्ने प्रश्न खडा भएको छ ।

चितवन र तनहुँमा गठबन्धनको तर्फबाट कांग्रेसले अघि सारेका उम्मेदवार भारी मतले पराजित भएपछि सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले पार्टीलाई अब नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताइसकेका छन् । उपनिर्वाचनको नतिजा, रास्वपाको उदय, कांग्रेसको अबको यात्रा, सरकारको पूर्णतालगायतको विषयमा कांग्रेस सहमहामन्त्री जीवन परियारसँग नेपाल प्रेसका लागि रमेश पराजुलीले गरेको संक्षिप्त कुराकानीः

– उपनिर्वाचनको नतिजालाई कांग्रेसले कसरी लिएको छ ?

हामीले जुन गठबन्धन बनाएका थियौं । त्यो गठबन्धनको विरुद्धमा अर्काे गठबन्धन बन्यो विशेषगरी तनहुँको सन्दर्भमा । नेकपा एमालेले समेत हामीलाई हराउन घण्टीलाई सहयोग गरेको भन्ने आएको छ । मत हेर्दा पनि त्यो देखिन्छ ।

मंसिरको निर्वाचनमा एमालेको १९ हजार मत ल्याएको थियो । तर, अहिले ८ हजारमात्रै आएको छ । अरु क्षेत्रको कुरा गर्दा अहिले देशभरका मतदाताहरू पार्टीको भन्दा पनि व्यक्तिलाई केन्द्रित भएर मत दिएको देखिन्छ ।

राजनीतिक घटनाक्रममा कहिलेकाहीं यस्ता चुनौती आउँछन् नै । यसलाई दलहरूले गम्भीर रूपले लिनुपर्छ । यो केही पनि होइन भनेर बस्ने अवस्था छैन । यसले हामीलाई सचेत र चनाखो चाहिँ बनाएको छ ।

यो भनेको दलहरूप्रति पनि वितृष्णाको मत हो कि भन्ने पनि देखिएको छ । त्यसलाई हामीले सुधारेर जान आवश्यक छ । हाम्रो कमजोरी पनि भएको होला । त्यसका कारणले पनि असर परेको छ । चुनावी व्यवस्थापनमा पनि हाम्रो केही कमीकमजोरी भएको होला ।

– यो चुनावी नतिजाले ठूला दलहरूलाई त चुनौती दिएको देखियो नि ?

देशैभरि भन्दा पनि केही क्षेत्रमा त चुनौतीकै रूपमा देखिएको छ । राजनीतिक घटनाक्रममा कहिलेकाहीं यस्ता चुनौती आउँछन् नै । यसलाई दलहरूले गम्भीर रूपले लिनुपर्छ । यो केही पनि होइन भनेर बस्ने अवस्था छैन । यसले हामीलाई सचेत र चनाखो चाहिँ बनाएको छ ।

– संसदीय दलको बैठकमा पनि पार्टी सभापतिले यसबारेमा बिफ्रिङ गराउनुभएको थियो होला नि ?

अहिले चुनौतीपूर्ण अवस्था छ । पार्टीमाथि नै चुनौती देखिएकाले यसमा हामीले गम्भीरतापूर्वक सोचेर अगाडि बढ्नुपर्ने बेला आएको छ । हामीले अब नयाँ ढंगबाट सोचेर छलफल गरेर पार्टीलाई अगाडि बढाउनुपर्छ । त्यसमा सबै पार्टी कमिटी एकजुट भएर पार्टीलाई सुदृढीकरणमा लाग्नुपर्छ भन्ने कुरा राख्नुभएको थियो ।

– नयाँ ढंगले भनेको कसरी जानुपर्छ जस्तो लाग्छ ?

यो चुनौती आएपछि अहिले हामीले प्रारम्भिक छलफल गरिरहेका छौं । अहिले नै यसरी जाने भन्ने ठोस कुरा त भइसकेको छैन । कसरी जाने के गर्ने भन्ने यसको बारेमा व्यापक छलफल गर्न बाँकी नै छ । हामीले यो निर्वाचनको मात्रै होइन अघिल्लो निर्वाचनकै बारेमा समीक्षा गरिसकेका छैनौं ।

अहिले र गत मंसिरको निर्वाचनको समीक्षा गरेर पार्टीको संगठन सुदृढीकरणमा लाग्छौं र सरकार सञ्चालनको विषयमा पनि हामी नयाँ ढंगको योजनाका साथ अघि बढ्छौं । कसरी अख्तियार गर्ने भन्ने छुट्टै रणनीति र उपायहरूको खोजी गरेर अघि बढ्छौं ।

अब चाँडै सरकारले पूर्णता पाउँछ । सरकारलाई पूर्णता दिनुपर्छ भन्नेमा गठबन्धन दलबीच एकमत छ । यो गठबन्धनको विकल्प नभएको कारणले यसलाई बलियो बनाएर निरन्तरता दिनुपर्छ भन्नेमा एकजुट छौं।

अहिले गठबन्धन नेतृत्वको सरकारले पनि जनअपेक्षित काम गर्ने प्रयास गरिरहेकै छ । त्यसलाई पनि थप प्रभावकारी बनाएर जाने भन्ने विषयमा थप छलफल गरेर अघि बढ्नुको विकल्प छैन ।

– रास्वपाको उदयलाई कसरी लिनुहुन्छ ?

विभिन्न दल निर्माण गर्ने, नयाँ शक्तिहरू जन्मिने यो स्वाभाविक प्रक्रिया हो । कोही प्रतिस्पर्धामा आउँछन् । कसैले त स्वतन्त्र पनि चुनाव जितेर आएका छन् नि ! उहाँहरूले दल खोल्नुभएको छ । पार्टीको नाम नै स्वतन्त्र भए पनि राजनीतिक दल होला नि त यो । त्यसैले अहिले नयाँ दल देखिएको छ त्यो कहाँसम्म पुग्छ भन्ने कुरा भविष्यले बताउने कुरा हो ।

– कतिपयले त रास्वपा कांग्रेसको विकल्पको रूपमा उदाएको टिप्पणी गर्न थालेका छन् नि ?

कांग्रेसको विकल्प हो भनेर कसैलाई लाग्नसक्ला । कुनै कम्युनिष्ट पार्टी भएको भए कम्युनिष्टको विकल्प भन्थे । उहाँहरूले कम्युनिष्ट पार्टी भन्नुभएको छैन । त्यसैले त्यस्तो अनुमान गरे होलान् । विकल्पको रूपमा धेरै दलहरू निस्किन्छन् । पहिला मधेशका दलहरूलाई पनि त्यही भनिएको थियो । अहिले मधेशका ती दलहरू कहाँ छन् भन्ने देखिएकै कुरा हो ।

– उपनिर्वाचनपछि सरकारलाई पूर्णता दिने कुरा थियो, त्यो कहिले पूरा हुन्छ ?

अहिले त्यो विषयमा शीर्ष तहमा छलफल भइरहेको छ । अब चाँडै सरकारले पूर्णता पाउँछ । सरकारलाई पूर्णता दिनुपर्छ भन्नेमा गठबन्धन दलबीच एकमत छ । यो गठबन्धनको विकल्प नभएको कारणले यसलाई बलियो बनाएर निरन्तरता दिनुपर्छ भन्नेमा एकजुट छौं।


प्रतिक्रिया

4 thoughts on “‘कांग्रेसलाई हराउन एमालेले घण्टीलाई भोट हाल्यो’

  1. दश दलको उम्मेदवारलाई काँग्रेसको उम्मेदवार भन्ने महामन्त्रीले के गर्लान् खोई ? उम्मेदवार बनाएको ब्यक्तिले बोकेको आस्था पो काँग्रेसको होला! उनी उम्मेदवार त दश दलको थिए। अनि कसरी भन्न मिल्छ काँग्रेस हराउन एमालेले घण्टीलाई भोट हाल्यो?

  2. दश दलको उम्मेदवारलाई काँग्रेसको उम्मेदवार भन्नेले के गर्लान् खोई ? उम्मेदवार बनाएको ब्यक्तिले बोकेको आस्था पो काँग्रेसको होला! उनी उम्मेदवार त दश दलको थिए। अनि कसरी भन्न मिल्छ काँग्रेस हराउन एमालेले घण्टीलाई भोट हाल्यो?एकि‌र

  3. एमालेलाई हराउन दिल्लीका दलालहरू एक भएका होईनौ ? लाज छैन एमालेलाई भन्न ? अब तिमीहरू बनारस जाओ । अनिमात्र देशले मुक्ति पाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर