दलका नेताहरुलाई प्रदेश प्रमुखको प्रश्न- पटक पटक मुख्यमन्त्री र मन्त्री फेरेर कसरी समृद्धि आउँछ ? – Nepal Press

दलका नेताहरुलाई प्रदेश प्रमुखको प्रश्न- पटक पटक मुख्यमन्त्री र मन्त्री फेरेर कसरी समृद्धि आउँछ ?

रुपन्देही । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशमा पटक पटक भइरहेका सरकार फेरबदलको विषयले आफू दिक्क भएको बताएका छन् । नयाँ संरचनामा गएको प्रदेशमा यसरी भइरहने छिटोछिटो मुख्यमन्त्री र मन्त्रीहरुको लस्करले जनतालाई निराश बनाएको उनको भनाइ थियो ।

गठबन्धन सरकारको दाबी पेश तथा मुख्यमन्त्री नियुक्ति गर्न आफूकहाँ आएका प्रदेशका शीर्ष नेताहरु, प्रदेश सांसद तथा अन्य विशिष्ट व्यक्तिहरुलाई शेरचनले भने, ‘यस्तो घिसिपिटे तालले कसरी यो संरचना बलियो हुन्छ ? कहिले कसको दाबी भनेको छ, कहिले कसको दाबी भनेको छ । मुख्यमन्त्री पनि फेरिएको फेरियै, मन्त्री पनि फेरिएको फेरियै, मलाई त वाक्क लाग्यो । कसरी स्थिरता र विकास हुन्छ यसरी ?’

प्रदेश प्रमुख शेरचनले यसो भनिरहँदा नाजवाफ गठबन्धन दलका नेताहरु मुसुमुसु हाँसिरहे र सुनिरहे । प्रदेश प्रमुख शेरचनले सरकार फेरबदलमा असन्तुष्टि राखिरहँदा सहभागी माओवादी केन्द्रका प्रदेश अधयक्ष सुदर्शन बरालले विस्तारै जवाफ दिए, ‘प्रमुखज्यू, यो हामीहरुको रहर होइन बाध्यता हो, प्रक्रिया पुर्‍याउन आएका हौं ।’

अध्यक्ष बरालको भनाइ भूईंमा खस्न नपाउँदै शेरचनले फर्काए, ‘यी सबै भन्ने कुराहरु हुन्, सबैलाई भाग चाहिएको छ, मन्त्री चाहिएको छ, कहिले कुन गठबन्धनमा गयो मन्त्री बन्यो, कहिले कुन गठबन्धनमा गयो मन्त्री बन्यो, आखिर यसरी कसरी चल्छ भन्या ?’

प्रदेश प्रमुखले यसो भनिरहँदा माओवादी नेता बरालले थपे, ‘तपाईं पनि यसैगरी त प्रदेश प्रमुख बन्नुभएको हो, माननीयज्यू ।’

कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख कार्यालयमा यस्तो सवालजवाफ चलिरहँदा चौधरीको साथमा माओवादी स्थायी कमिटी सदस्य तथा प्रदेश ससदीय दलका नेता जोखबहादुर महरा छेउमा बसेर हाँसिरहेका थिए ।

तीन महिनाअघि एमाले दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउन उनी यसैगरी प्रदेश प्रमुखकोमा पुगेका थिए । प्रदेश प्रमुखले कहिले कसलाई बनाउन आउनुहुन्छ, कहिले कसलाई बनाउन आउनुहुन्छ भनेर व्यंग्य गरिरहँदा उनी नाजवाफ थिए ।

प्रदेश प्रमुखले यसअघिको गठबन्धनमा रहेका जनमत, लोसपा, जसपा, नागरिक उन्मुक्ति सबै दलका नेताहरुलाई संकेत गर्दै भनेका थिए, ‘अब अस्थिरताका लागि पटक पटक सरकार फेरिरहने काम नगर्नुहोला । अब त खर्च नि धान्न सकिँदैन हो !’

प्रदेश प्रमुखको असन्तुष्टि यसैमा सीमित रहेन । डिल्ली चौधरीलाई संविधानको धारा १६८ को २ अुनसार यसअघिको प्रयोग र कानूनविद्को रायअनुसार नियुक्त गरेपछि बधाई दिँदै शेरचनले भने, ‘अब स्थिर भएर सरकार चलाउनुहोला, घिसेपिठे तालले होइन, प्रदेशमा देखिनगरी काम गर्नुपर्ने समय आएको छ, सरकार फेरिरहने होइन, मन्त्री फेरिरहने होइन, यसले राम्रो सन्देश दिनेछैन ।’

बिहीबार नियुक्तिपछि शुक्रबार शपथ हुने बताउँदै उनले मुख्यमन्त्री चौधरी तथा अन्य दलका नेताहरुलाई भने, ‘मन्त्रीहरु पनि एकैपटक शपथ गराउने व्यवस्था गर्नुहोला है, पटक पटक गर्दा खर्च धान्न नसक्ने भइयो, एकै शीर्षकमा कसरी खर्च देखाउने, सरकारले बजेट थप्ने होइन, बेरुजु देखाएर उस्तै छ ।’

सबैले टाउको हल्लाएर हस त भने तर वाचा गर्न सकेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर