गुल्मीबाट नेपाल एयरलाइन्सको नियमित उडान गर्ने तयारी, परीक्षण उडान सफल – Nepal Press

गुल्मीबाट नेपाल एयरलाइन्सको नियमित उडान गर्ने तयारी, परीक्षण उडान सफल

रूपन्देही । गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सले शुक्रबार परीक्षण उडान गरेको छ । योसँगै यहाँबाट अब अब नियमित उडान सुरु हुने अपेक्षा गरिएको छ ।

यसअघि २०७५ र गत पुस २४ गते तारा एयरलाइन्सले परीक्षण उडान गरेको थियो । अब वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले नियमित उडान सुरु गर्ने जनाएको छ ।

आज विहान साढे ६ बजे नेपाल एयरलाइन्सको जहाज गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो । प्राविधिक टोलीसहित भएको उडानपछि नेपाल एयरलाइन्सले अब नियमित उडान अनुमति माग्ने र त्यसका साथै व्यावसायिक उडानका लागि टिकट खुला गरिने बताइएको छ।

रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले सातामा एउटा उडान गर्ने गरी नेपाल एयरलाइन्ससँग सम्झौता गरिएको जानकारी दिएका छन् ।
यसअघि पनि निगमले रेसुंगा विमानस्थलबाट नियमित उडानका लागि तयारी गरेको थियो। तर बक्यौता नतिरेकाले प्राधिकरणले उडान अनुमति दिएको थिएन। बाँकी बक्यौता चुक्ता गरेसँगै निगमले काठमाडौंबाट सातामा एक उडान अनुमति पाएको हो ।

आज परीक्षण उडान सफल भएकाले अब उक्त रिपोर्ट बुझाएपछि व्यावसायिक उडानका लागि अनुमति पाउने र त्यसपछि नियमित उडान हुनेछ। नेपाल एयरलाइन्स नियमित उडान गर्न तयार रहे पनि प्रक्रिया पूरा गर्न भने बाँकी छ।

रेसुंगा विमानस्थलको ०६३ सालमा शिलान्यास गरिएको थियो। ०७१ सालबाट नियमित काम भएर ०७५ सालमा कच्ची धावनमार्गमा परीक्षण उडान उडान गरिएको थियो। विमानस्थल निर्माणका लागि करिब ३३ करोड रूपैयाँ खर्च भएको विमानस्थल कार्यालयले जनाएको छ।

एक सय १६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको यो विमानस्थलमा १८ सिटे जहाजले उडान गर्न सक्छ। विमानस्थलको योजनाकर्ता पूर्वपर्यटनमन्त्री प्रदीप ज्ञवालीले नेपाल एयरलाइन्सको उडानसँगै लामो समय कुरेको गुल्मेलीको एउटा सपना पूरा भएको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर