रविका चालक दुर्घटनावस छतबाट खसेको प्रहरीको प्रारम्भिक निश्कर्ष, स्वास्थ्यमा सुधार आएन – Nepal Press

रविका चालक दुर्घटनावस छतबाट खसेको प्रहरीको प्रारम्भिक निश्कर्ष, स्वास्थ्यमा सुधार आएन

अस्पतालको आर्थिक दायित्व रविको काँधमा

काठमाडौं । घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको स्वास्थ्यमा सुधार हुन सकेको छैन । उनी १० दिनदेखि निरन्तर भेन्टिलेटरमै छन् ।

चितवनमा रविको अढाइ तल्ले घरबाट खसेपछि उनी अचेत बनेका थिए । टाउकोमा चोट लागेका उनलाई सुरुमा चितवनको पुरानो मेडिकल अस्पतालमा उपचार भएको थियो । भोलिपल्ट हेलिकोप्टरमा राखेर काठमाडौं ल्याई ललितपुरस्थित मेडिकल कलेजमा राखिएको छ । अस्पताल स्रोतका अनुसार उनलाई आइसीयूमा भेन्टिलेटरसहित उपचार भइरहेको छ ।
थापा पूर्णरुपमा अचेत छन् । स्वास्थ्य अवस्थामा खासै सुधार नदेखिएको अस्पताल स्रोतको भनाइ छ ।

‘यहाँ ल्याउँदा नै कोमाको अवस्थामा हुनुहुन्थ्यो । अहिले पनि कुनै सुधार देखिएको छैन । केही भन्न नसकिने अवस्था छ,’ स्रोतले भन्यो ।

चालक थापा कसरी घरको छतबाट खसे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । अढाइतल्ले घरको माथिल्लो तल्लामा रहेको कोठामा रास्वपा महामन्त्री डा. मुकुल ढकालका सवारीचालकसँगै थापा सुतेका थिए । उनीहरु दुवैले सुत्नुअघि मदिरा सेवन गरेको पुष्टि भएको छ ।

प्रहरीले घटना भएको दिन उनीसँग सुतेका डा. मुकुल ढकालका चालकसहित केहीको पोलिग्राफ लिइरहेको छ । जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्कीले अहिलेसम्मको अनुसन्धानमा दुर्घटनाजस्तो देखिएको बताए ।

‘घरमै सेक्युरिटी गार्ड र नजिकै प्रहरी विट छ । थापाजी खस्नु भएको लगभग १५ सेकेन्डमै हामी त्यहाँ पुगेका छौँ’, एसपी कार्कीले भने । घटना भएको रात रवि र उनको परिवार अढाई तले घरको भुईं तलामा सुतेका थिए । रास्वपा केन्द्रीय सदस्य दीपक बोहरा र उनको परिवार पहिलो तलामा रहेको प्रहरीले जनाएको छ ।

‘उहाँहरु अबेरसम्म मदिरा सेवन गरेर सुत्नु भएको रहेछ । कतै बेहोसीमा बाहिर निस्कँदा शरीर अनियन्त्रित भएर खस्नुभयो कि भन्ने आशंका गर्ने ठाउँ छ,’ एसपी कार्कीले भने।
थापालाई नजिकबाट चिन्नेहरुले उनी कहिलेकाहीँ राती सुत्दा एउटा खाटमा र बिहान उठ्दा अर्कै खाटमा देखिने गरेको पनि बताएका छन् । प्रहरीले आवश्यक परे रवि लामिछाने र दीपक बोहराको पनि पोलिग्राफ लिइने तर अहिले त्यो अवस्था नदेखिएको जनाएको छ ।

प्रहरीले डा. मुकुल ढकालका चालकसँग भने तत्कालै सोधपुछ गरेको थियो । उनले आफूलाई घटनाका विषयमा पछि मात्रै थाहा भएको बताएका छन् । ती चालकको भनाइ उद्वृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘म निदाइरहेको थिएँ, उठेर बाहिर निस्किएको थाहा पाइनँ ।’

उनको भनाइमा शंका गर्ने ठाउँ नभेटिएपछि प्रहरीले छाडेको थियो । चालक थापाका दुई सन्तान छन् । आर्थिक अवस्था सामान्य भएका उनको उपचार खर्चको दायित्व रास्वपा सभापति लामिछानेले नै लिएका छन् । उनले परिवारलाई खर्चको जिम्मेवारी आफूले लिने भन्दै चिन्ता नलिन आग्रह गरेको स्रोतले बतायो ।


प्रतिक्रिया

One thought on “रविका चालक दुर्घटनावस छतबाट खसेको प्रहरीको प्रारम्भिक निश्कर्ष, स्वास्थ्यमा सुधार आएन

  1. रवीको काम गर्ने लाई सबै खर्च उनैले ब्यहोर्नु पर्छ अरू कसले ब्यहोर्छ र।

Leave a Reply

Your email address will not be published. Required fields are marked *