नागरिकता विधेयक नयाँ शिराबाट छिट्टै संसदमा पेश हुन्छ : गृहमन्त्री श्रेष्ठ


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले नागरिकता विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन् ।
राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक संविधान र कानूनअनुसार अघि बढाउन नमिल्ने भएकाले सरकारले नयाँ शिराबाट त्यो विधेयक छिट्टै संसदमा ल्याउने तयारी गरेको उनको भनाइ थियो ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सांसदहरुले भने जस्तो राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयकलाई कानून, संविधान र नियमावलीअनुसार प्रमाणीकरण गरेर जान उपयुक्त र उचित नहुने निष्कर्षमा सरकार पुगेको बताए ।
उनले नागरिकता विधेयकमा सरकारले राष्ट्रिय सहमतिमा जोड दिन चाहेको स्पष्ट पारे । ‘यदि राष्ट्रिय सहमति भएन भने पनि संसदबाट पारित गराएर संविधानअनुसार नागरिकता पाउनेहरुलाई नागरिकता दिन सरकार प्रतिवद्ध छ’, गृहमन्त्री श्रेष्ठले भने, ‘नागरिकता अत्यन्तै संवेदनशील विषय हो । नागरिकताको विषयमा राष्ट्र विभाजित हुनु, सकेसम्म नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्र विभाजित नहुनु नै राम्रो हुन्छ ।’
उनले नागरिकता विधेयक संसदले पारित गर्ने र छिट्टै कानून बनेर नागरिकताविहीन कोही हुनुपर्ने स्थिति नहुने विश्वास व्यक्त गरे ।