सरस्वतीनगरकी निरा आचार्य हत्या प्रकरण : १९ लाख फिक्स डिपोजिट ‘म्याचर्ड’ भएकै दिन घटना, प्रहरी अझै ‘शून्य’मा – Nepal Press

सरस्वतीनगरकी निरा आचार्य हत्या प्रकरण : १९ लाख फिक्स डिपोजिट ‘म्याचर्ड’ भएकै दिन घटना, प्रहरी अझै ‘शून्य’मा

काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा एक महिलाको दिनदहाडै हत्या भएको एक हप्ता बित्न लाग्दा पनि प्रहरी अनुसन्धानले कुनै मेसो भेट्टाउन सकेको छैन ।

बैशाख ७ गते मातातीर्थ औंसीका दिन ३५ वर्षीया निरा आचार्य आफ्नै भाँडा पसलमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । पसलमा आइपुगेका व्यक्तिले देखेपछि उक्त घटना सार्वजनिक भएको थियो ।

‘काठमाडौंको त्यति व्यस्त ठाउँमा दिनदहाडै भएको हत्या कसैले थाहा नपाउनु अचम्मलाग्दो छ’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्, ‘अहिलेसम्म कुनै क्लु भेटिएको छैन ।’

अनुसन्धानका क्रममा आचार्यले बैंकमा फिक्स डिपोजिट राखेको १९ लाख रुपैयाँ त्यसै दिन एक वर्ष पुगेर अर्को बैंकमा सारिएको थियो । घटनास्थलमा कसैलाई बिक्री गर्न झोलामा राखिएको अवस्थामा सामान पनि भेटिएको छ ।

‘सडक छेवैमा पसल भए पनि काउन्टर भित्रपट्टि छ । अगाडि राखिएका भाँडाहरुले काउन्टर देखिँदैन । काउन्टरभित्र निरा लडेको अवस्थामा भेटिएकी थिइन्’, ती अनुसन्धान अधिकृतले भने ।

छेवैमा अर्को पसल रहे पनि सबैले अनभिज्ञता व्यक्त गरेका छन् । प्रहरीले आर्थिक कारोबार, लुटपाट र रिसइबीलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको छ । निराका श्रीमान उक्त पसलभन्दा करिब ४ सय मिटर दुरीमा अर्को भाँडा पसल सञ्चालन गर्दै आएका थिए । प्रहरीले निरा र उनका श्रीमानबीचको सम्बन्धबारे पनि अध्ययन गरिरहेको छ ।

स्रोतका अनुसार निराका आफन्तहरुलाई पनि अनुसन्धानको दायरामा राखिएको छ। ‘कसैले थाहा नपाउने गरी घटना भएर मान्छे फरार भएकाले हामीले विभिन्न पक्षहरुलाई केलाएर अनुसन्धान गरिरहेका छौं । प्राविधिक अनुसन्धानमा पनि जोड दिएका छौं’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् ।

अनुसन्धानमा दुई प्रहरी युनिटबीच तँछाडमछाड

यो घटनामा यतिबेला काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरिरहेका छन् । विगतका अन्य घटनामा झै‌ यी दुई युनिट कसले पहिला अभियुक्त पत्ता लगाउने भनेर तँछाडमछाडमा देखिएका छन् ।

त्यसो त काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसएसपी हिमालय श्रेष्ठको संयोजकत्वमा अनुसन्धान समिति पनि बनाएको छ ।

‘तर, अहिले पनि काठमाडौं उपत्यका अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसर आआफ्नै पाराले अनुसन्धान गरिरहेका छन्’, ती अधिकारीले भने, ‘दुवै युनिटले आफ्नो सम्पूर्ण शक्ति यो घटनामा लगाएको देखिन्छ । कसले पहिला मान्छे पत्ता लगाउने भन्ने होड देखिएको छ ।’

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसी र काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्की भर्ना ब्याची हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर