समूहबाट ऋण झिकेर, मजदुरीबाट बचेको पैसाले पार्टी सदस्यता नवीकरण – Nepal Press

समूहबाट ऋण झिकेर, मजदुरीबाट बचेको पैसाले पार्टी सदस्यता नवीकरण

कैलाली । बाजुरा जिल्लाको गौमुल गाउँपालिका-४ घोगाला गाउँकी खिरी रोकायाले महिला समूहबाट ऋण झिकेर नेकपा एमाले पार्टी संगठित सदस्यता नवीकरण गरेकी छन् । रोकायाले श्रीमान् र आफ्नो गरी दुई वर्षको प्रति व्यक्ति ४ सय ८० का दरले ९ सय ६० रूपैयाँ तिरेर सदस्यता नवीकरण गरेकी हुन् ।

रोकायाले गाउँमा भएको महिला समूहबाट १ हजार ऋण निकालेर श्रीमान् र आफ्नो गरी २०७९/०८० साल दुई वर्षको पार्टी संगठित सदस्यता नवीकरण गरेको बताइन् ।

कैलाली धनगढी उपमहानगरपालिका १९ का बेधनिधी पोख्रेल दृष्टिविहीन हुन् । आँखाको उपचारमा रकम अभाव झेलिरहेका उनले त्यही उपचार गर्ने रकमबाट पार्टीको संगठित सदस्यता नवीकरण गरे ।

एक वर्षको सदस्यता नवीकरण गरेका पोखरेललाई त्यसपछि एमालेले उपचार खर्च भन्दै ३२ हजार रकम सहयोग समेत गरेको थियो । मजदुरीबाट छाक टार्दै आएका कैलालीको घोडाघोडी नगरपालिका १ विसाखर जोशीले बचेखुचेको पैसाले पार्टी सदस्यता नवीकरण गरे । उनीजस्तै रत्नप्रसाद रिजालले पनि मजदुरीबाट आएको पैसाले सदस्यता नवीकरण गरेका हुन् ।

‘सिद्धान्त, विचार र पार्टीमा क्रियाशील रहन ऋण झिकेर भएपनि सदस्यता नवीकरण गर्नेहरू पनि छन्’ घोडाघोडी नगर अध्यक्ष वक्तबहादुर शाहीले भने, ‘यहाँ केही ऋण झिकेर र केहीले मजदुरी गरेर पनि सदस्यता नवीकरण गरेका छन् ।’

एमाले धनगढी उपमहानगरपालिका अध्यक्ष रामचन्द्र जोशीले पनि नवीकरण अभियानमा निकै विपन्न परिवारमा पनि पार्टीप्रतिको आस्था बढ्दो देखिएको बताए ।

‘कैलालीमा सबैभन्दा धेरै संगठित सदस्य भएको पालिका हाम्रै हो । यहाँ सबै वर्गका व्यक्तिहरूको बसोबास छ’ उनले भने ‘अति विपन्न समुदायका नागरिकहरूले पनि दैनिक मजदुरी गरेको पैसा हो भन्दै सदस्यता नवीकरण गर्न दिनुभएको छ ।’

कैलाली जिल्लामा २२ हजार २४७ संगठित सदस्य छन् । तीमध्ये यस अवधिमा करिब ८ हजारले नवीकरण गरेको पार्टी जिल्ला सचिव डेजी पाण्डेयले जानकारी दिए । विपन्न वर्गमा पार्टी प्रतिको आस्था, सिद्धान्त र बिचार उस्तै रहेको उनी बताउँछन् ।

‘आफ्नो छाक कटाएर पनि सदस्यता नवीकरण गर्नेहरु छन् । एमालेप्रति सर्वहारा वर्गको आकर्षण घटेको छैन’ जिल्ला सचिव पाण्डेले भन्छन्, ‘विपन्न वर्गहरूको भरोसा अझै पार्टीमै छ ।’

एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियानमै धेरैले आफ्नो सदस्यता नवीकरण गरेका छन् । उनीहरूले अभियानमा खटिएका नेता कार्यकर्ताहरूलाई आफ्नो पसिनाको कमाइबाट सदस्यता नवीकरण गरेको भन्दै देश र जनताको लागि काम गर्न पनि सुझाव दिएका थिए ।

थलरा गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष गंगुदेवी खडायत पनि केही वर्षअघि सम्म खेतमा लगाएको भट्ट बेचेर सदस्यता नवीकरण गरेको बताउँछिन् ।

विगतमा अधिवेशन र महाधिवेशनमा सदस्यता नवीकरण गर्दा पार्टी सिद्धान्त र विचार नबुझेकाहरू पनि सदस्य भइरहने गरेको स्मरण गर्दै केन्द्रीय सल्लाहकार परिषद् सदस्य डिल्लीराज भट्ट भन्छन्, ‘यस पटक आफ्नो सदस्यता आफै नवीकरण गर्नेहरू छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर