१० हजारको बीउ पूँजीबाट अर्बौंको मालिक बनेका नवराज – Nepal Press

१० हजारको बीउ पूँजीबाट अर्बौंको मालिक बनेका नवराज

रूपन्देही । जीवनमा संघर्ष सबैले गरेका हुन्छन् तर केहीको संघर्ष भने साँच्चिकै उदाहरणीय र प्रेरणादायी बनेको हुन्छ । यस्तै उदाहरणको पात्र हुन् बुटवलका उद्यमी नवराज श्रेष्ठ । १० हजार लगानीबाट सुरू गरेको उनको व्यवसाय अहिले घरजग्गा, गाडीसहितका भौतिक संरचनाबाहेक १५ करोडको चालू पूँजी बनेको छ । भौतिक संरचना जोड्दा धेरै अर्ब पुग्ने भएपनि उनले त्यसलाई उद्योगको लगानी मान्दैनन् । धेरै उद्योगी र व्यापारीले भौतिक सम्पत्तिसमेत जोडेर उद्योगमा यति लगानी छ भनेर गरेको प्रचार उनलाई पटक्कै मन पर्दैन र त्यसबाट उद्योगीलाई फाइदा पनि केही हुँदैन । जति चालू पूँजी उद्योगमा रहेको छ त्यसलाई बताउनुपर्ने उद्योगी श्रेष्ठको भनाइ छ । १ सय जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका उनका विभिन्न औद्योगिक प्रतिष्ठानले आफ्नो क्षेत्र विस्तार गरिरहेका छन् ।

पाल्पाको रिब्दीकोट-४ चण्डीनगरमा जन्मिएको नवराजका बुबाले गाउँमै सानो कपडा व्यापार तथा खेती किसानी गर्दथे । संघर्षले भरिएको नवराजको व्यापारिक क्षेत्रको लगाव सानैदेखि नै भएपनि विद्यालय तहको शिक्षा पूरा गरेपछि मात्रै यता लागेका हुन् । उनका बुबा २०१४ सालमा पाल्पाबाट बुटवल झरेका हुन् ।

२०४० सालमा बिहे गरेका उनले सोही वर्ष श्रेष्ठ तयारी पोशाक उद्योग दर्ता गरेर व्यवसायिक यात्रा सुरू गरेका थिए । बुटवलको संगमपथमा ८ वर्ष यो उद्योग चलाएर छाडे । तयारी पोशाकसँगै २०४५ सालमा न्यू हिमालय ब्रिक फ्याक्ट्रीमा लगानी गरेर थप आम्दानीको क्षेत्र बढाए भने २०४९ सालमा बुटवल मिलनचोक तीनकुनेमा श्रेष्ठ प्लाष्टिक उद्योगको सुरूवात गरे । यो अहिलेसम्म चलिरहेको छ । प्लाष्टिक उद्योगबाट कृषि क्षेत्रका लागि आवश्यक पर्ने प्लाष्टिक थैली, पाइप, सबैथरीका पाइप फिटिङका सामान, पानी ट्याङ्की उत्पादन हुँदै आएको छ । ६६ सालमा उनले रूपन्देही र भैरहवाको बीचमा पर्ने तिलोत्तमा १५ पथ्थरडाँडामा आधुनिक उद्योग नवनेपाल प्लाष्टिक उद्योग र ०७२ सालमा सृजना प्लाष्टिक उद्योग दर्ता गरेर चलाएका छन् ।

युक्त परिवारमा रहेका नवराज उद्योगको योजना, रणनीति, लगानी तथा व्यापारका क्षेत्र निर्धारण आफैँ बसेर बनाउँछन्, तर व्यवसायमा परिवारका सदस्यलाई जिम्मेवारी बाँडफाँट गर्छन् । भाइ काशीप्रसाद श्रेष्ठको परिवार पनि सँगै व्यापार गर्छन् ।

नवराजका श्रीमति कृष्णपृया श्रेष्ठ, एक छोरा अंकित र २ छोरी छन् ।

व्यवसायमा बुबाले गरेको संघर्षलाई पनि उनी स्मरण गर्छन् । बुबा दशरथमान श्रेष्ठले अर्घाखाँची पणेनाका गिरिराज पोखरेलसँग ३ सय रूपैयाँ लिएर सुरूवात गरेको व्यापारिक जीवनको इतिहास त्यो बेलाको सहयोगलाई सम्झेर पोखरेल परिवारलाई अहिले आफैँ भेटेर आएको र कसैले पनि आफ्नो जीवनमा गरेको सानो सहयोग जीवनभर भुल्ननहुने उनको भनाइ छ ।

उद्योगीको चुनौती र भविश्यको चिन्ता

पहिलेभन्दा अहिले नेपाली उद्योगमा चुनौती बढी भएको तर प्रविधिले सहज बनाएको नवराजको अनुभव छ ।

‘पहिले उद्योगमा प्रतिस्पर्धा कम थियो, लगानी कम थियो, इमान्दारिता थियो, गुणस्तरका सामान उत्पादन हुन्थे, अहिले अस्वस्थ प्रतिस्पर्धा बढी छ, इमानदारिता हराएको छ, जसरी पनि कमाउने भन्ने बढेको छ’, श्रेष्ठ भन्छन्, ‘पहिले लगानी जुटाउन गाह्रो थियो, अहिले योजना बनाए बैंकहरू घरघरमै लगानी लिएर पुगेका छन्, प्रविधिमा नयाँपन आएको छ, यो भने सहज छ ।’

परम्परागत ढंगका उद्योग चलाएर अब चल्न नसकिने उनी बताउँछन् ।

‘उद्योगमा विविधिकरण भएन, छिमेकीले के गर्‍यो त्यही नक्कल गर्ने मात्र भयो, नयाँपन केही आएन, अर्कोतिर खुला सीमाले कमसल सामान आइरहेको छ, उपभोक्तामा मूल्यमात्र हेर्ने अवस्थाले टिक्न गाह्रो हुन्छ, मूल्यमा प्रतिस्पर्धा गर्नुछ, लगानीको भविश्य सुरक्षित छैन, अस्थिर राजनीतिक व्यवस्थाले अझै संकट थपिएको छ’, श्रेष्ठको चिन्ता छ ।

अब निकासी योजनाविनाको उद्योग नीतिले यहाँको उद्योग दीर्घकालीन नहुने उनी सुनाउँछन् । विद्युतीय क्षेत्रमा भएको विकास, सस्तो श्रमशक्ति, विभिन्न क्षेत्रमा बनेका ठूला विमानस्थल, लगानीका लागि सहज बैंकिङ व्यवस्था, जताततै रहेको जडीबुटीको भण्डार, अर्गानिक उत्पादन गर्न सकिने प्रशस्त आधारलाई ध्यान दिएर यहाँ उत्पादन भएका सामग्री निर्यातको योजना बनाउन सके औद्योगिक क्षेत्रमा चमत्कार गर्न सकिने तर त्यसको लागि स्थायी सरकार आवश्यक पर्ने उनको बुझाई छ ।

उनी नेपालमा एसेम्बलिङ उद्योग बनाएर भारत तथा चीनलगायत अन्य देशमा पठाउन सकिने, मल उद्योग चलाएर निर्यात योजना बनाउन सकिने, सिमेन्ट, फलामखानी, कृषि, पर्यटनका धेरै उद्योगहरू अन्य देशभन्दा फरक तरिकाले चलाउन सकिने प्रशस्त आधारहरू रहेको र अब यसैबाट देशको समृद्धिलाई बलियो बनाउनुपर्ने बताउँछन् ।

कृषि क्षेत्रमा बलियो सम्भावना देखेका श्रेष्ठले अब यतै लगानी गर्ने योजना बनाएको बताए । नेपालमा आवश्यक पर्ने कृषि उपज उत्पादनका लागि आवश्यक पर्ने प्राविधिक सीप तथा आधुनिक कृषि प्रणाली सुरू नभएकाले अब परम्परागत कृषि गरेर लगानी उठ्न नसक्ने नवराजको भनाइ छ ।

‘कृषि क्षेत्रमा धेरै गर्न सकिने अवस्था छ, हाम्रो धेरै जनशक्ति यसैमा भिडेको छ, तर प्रतिफल पाउन सकेको छैन, अब यो क्षेत्रमा केही गरौं भन्ने लागेर योजना अगाडि ल्याएको छु, एकीकृत कृषि योजनाबाट प्रतिफल पाउन सकिन्छ भन्ने भारतका धेरै क्षेत्र अध्ययन गरेर आएको छु’, उनले भने ।

सामाजिक क्षेत्रमा नवराजको योगदान

लामो समय बुटवल उद्योग वाणिज्य संघमा विभिन्न जिम्मेवारी पूरा गरेका नवराजले सम्मान तथा पुरस्कार पनि पाएका छन् । उनले हालै मात्र नेपाल प्रवल जनसेवा श्री पदक पाएका छन् । ०६३/६४ मा बुटवल उद्योग वाणिज्य संघको अध्यक्षहुँदै केन्द्रीय सदस्यसमेत बने उनी । अहिले पनि संघको सल्लाहकार रहेका उनी यहाँको व्यवसायिक रणनीतिमा सुझाव दिइरहेका हुन्छन् ।

बुटवल उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा बुटवल-दोभानको पर्यटन विकासको लागि बनाएको योजना, प्रादेशिक अस्पतालको आईसीयू भवन निर्माण, खुल्ला सिमाना रोक्न औद्योगिक क्षेत्रमा लाग्नु अगाडिदेखिको निरन्तर संघर्ष, मोतीपुर औद्योगिक क्षेत्रको योजना निर्माणदेखि पछिल्लो जग्गा व्यवस्थापनसम्मको सबै काममा नेतृत्वदायी भूमिका, नेपाल परिवार नियोजन संघ, रोटरी तथा लायन्स क्लबमार्फत गरिएका विभिन्न सामाजिक विकासको जिम्मेवारी उनको परिचय थपिने क्षेत्र हुन् ।

रूपन्देहीलाई हिमालसँग जोड्ने पुरानो नुन बोक्ने सडक योजना (बुटवल-दोभान-मरेक-मस्याङ-ढाक्रेबास-भैरस्थान-सिलाङथोक-रिडी-बुर्तिवाङ-ढोरपाटन) हुँदै हिमाल क्षेत्र जोड्ने करिडोरको योजना निर्मांणमा उनी निरन्तर लागिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर