छक्कापञ्जाको सफलतामा मख्ख दीपक-दीपाः कमाइ भने खोलेनन् (भिडिओ) – Nepal Press

छक्कापञ्जाको सफलतामा मख्ख दीपक-दीपाः कमाइ भने खोलेनन् (भिडिओ)

काठमाडौं । गत फागुन १९ गतेबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ४’ ले राजधानीमा ५१ औँ दिन सेलिब्रेसन गर्यो। चलचित्रको सम्पूर्ण टिम, उद्यमी र सञ्चारकर्मीको उपस्थिति रहेको उत्सव समारोहमा चलचित्रका प्रस्तुतकर्ता, उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आई.एम.ईका प्रमुख चन्द्र ढकालले चलचित्रमा योगदान दिने सबैलाई सम्मानपत्र प्रदान गरे ।

गुमनाम झैँ रहेका चलचित्रका निर्देशक हेमराज बिसीसहित समारोहमा चलचित्रको सम्पूर्ण कास्ट एण्ड क्रिउको उपस्थिति थियो। निर्माता तथा अभिनेता दीपकराज गिरीले दीपाश्री निरौला, नीर शाह, निर्मल शर्मा, स्वस्तिमा खड्का, मलिना जोशी, राज आचार्यसहित सम्पूर्ण टिमसँग मिलेर केक काटी समारोह भव्य बनाए।

चलचित्र विकास बोर्डले वर्ष २०७९ सकिनु अघि नै ‘छक्का पञ्जा ४’ को ग्रस कलेक्सन सार्वजनिक गर्दिएपछि कलेक्सनलाई लिएर विवाद उब्जिएको थियो। उक्त विवादबारे भने गिरी बोल्न चाहेनन्। न त उनले समारोहमा चलचित्रको ५१ औँ दिनको कमाई नै खोले। उनले तार्किक हिसाबले उत्तर दिदैँ सबैलाई धन्यवाद दिए। उनले भने, ‘जब डाटा बोल्छ, मान्छे चुप लाग्नुपर्छ । सरकारी डाटा आइसकेको छ। अहिले मैले अर्को डाटा सार्वजनिक गरें भने फेरि बहस सुरु हुन्छ। त्यसैले बहस नगरौं।’

चलचित्रहरुले सोचेजस्तो व्यापार गर्न नसकिरहेको बेलामा ‘छक्का पञ्जा ४’ ले ५१ औँ दिन मनाएकोमा आफूहरु सबैप्रति कृतज्ञ रहेको दीपा र दीपकले बताए। दीपकले आफूहरु कसैलाई जित्न नभई दर्शकको मन जित्न आएको प्रतिक्रिया दिए। ‘सुरुवाती दिनहरु अलि पीडादायी थिए। रिलिज डेट सानुपर्ने समस्याहरु थिए। रिलिज भएपछि बिस्तारै खुसी छाउन थाल्यो। अहिले हाम्रो चलचित्रले माया र कमाइ दुईटै कमाउन सफल भएको छ। कसैलाई जित्न आएको होइन, मन जित्न आएका थियौ, जित्यौं,’ उनले सुनाए।

२० वटा हलहरुमा एकैसाथ ५१ औँ दिन मनाउनुले चलचित्र अझैँ विशेष भएको दीपाले सुनाइन् । ‘हामीलाई १६ वटा हलमा ५१ दिन मनाए जस्तो लागेको थियो तर आज यहाँ विश्लेषण गर्दा २० वटा हल पुगेछ। एकदमै खुसी छौ’, उनले थपिन्।

सामान्यतय दशैँ–तिहारलाई मध्यनजर गरेर रिलिज हुने छक्का–पञ्जाका सिरिजहरु यसपाली भने फागुनमा रिलिज भयो। छायांकनको हिसावले हेर्ने हो भने यो चौथो श्रृंखला अरु श्रृंखलाभन्दा धेरै समय लगाएर सुट गरिएको चलचित्र हो। लगभग ७० दिन। अगाडीका तीनवटै सिरिजहरु आफैले निर्देशन गरेकी दीपाले यसपाली भने निर्देशनको जिम्मा निर्देशक हेमराज बिसीलाई सुम्पिईन। उनले बिसीको कामबाट आफू एकदमै प्रफुलित भएको प्रतिक्रिया दिईन। ‘हाम्रो ब्यानरबाट अक्रो निर्देशक लिन पायौँ। त्यस्तो नाम कमाएको हेमराज बिसीलाई भित्र्याउन पायौँ। आफूले त गरिरहेको नै हो। आफ्नो टिममा अक्रो नामी निर्देशक भित्र्याउनु, त्यहीँ ठूलो कुरा हो।’, उनले बताईन्।

‘चलचित्र भनेको टिम वर्क हो। हामी सबै कुरा एउटै व्यक्तिमा छाड्दैँनौ। मैले गरेको निर्देशन अथवा दीपकजीले लेखेको कथामा पनि करेक्सन भईरहेको हुन्छ। राम्रो अनि बुज्ने निर्देशक पायौ, हामीलाई काम गर्न झनै सहज भयो’,उनले भनिन्।

निर्देशकमा नाम हेमराज बिसीको आएपनि स्याडो डाईरेक्टर त तपाई हो भनिन्छ नि भन्ने प्रश्नको खण्डन गर्दै गिरीले भने, ‘म हरेक चलचित्रको असिसटेन्ट डाइरेक्टर हो। म काम गर्दा कहिल्यै कसैलाई हस्तक्षेप गर्दिन। काम गर्दैगर्दा केही मनमा लाग्यो भने म भन्छु तर मैले भनेको कुरा उहाँहरुलाई चित्त बुझेन वा हैन यो नगरौँ भन्नुभयो भने म त्यो कुरा दोस्रोचोटी भन्दिन।’

वर्ष २०७९ मा धेरै कलाकारहरुको चलचित्र रिलिज भएपनि बक्स अफिसमा भने अभिनेता दयाहाङ राई र दिपकराज गिरीको क्रेजले बाजी मार्यो। चकलेटी अनि ह्यान्डसम हिरोहरुको दिन गएकै हुन त? भन्ने प्रश्नमा गिरीले भने, ‘त्यस्तो हैन। मलाई उहाँहरुको चलचित्र मनपर्छ। न त उहाँहरुलाई कसैले घृणा नै गर्नुभएको छ। म त आफूलाई हिरोभन्दा पनि कलाकार भन्न रुचाउने व्यक्ति। कलाकार भएरै यस क्षेत्रमा आए। उहाँहरुको आफ्नै शैली छ। फरक यति हो, हामी स्क्रिप्टले बनाएका नायक हौ। कथावस्तु र भूमिकाले बनाएको नायक।’

छक्का पञ्जाको आउने सिरिजहरुमा दिपकराज गिरीको सट्टामा अरु कोही चकलटी हिरोहरुको ईन्ट्री हुन्छ की हुँदैन भन्ने प्रश्नमा भने दिपक–दीपा दुवै मुस्कुराए। दीपाले मुस्कुराउँदै जवाफ दिईन, ‘ठाउँ विस्तापित नगरौँ। कथाले के माग्छ भन्ने कुरा हो। अहिले हिरो निश्चित व्यक्तिभन्दा पनि चलचित्रको स्क्रिप्ट हो। हामीले यसपाली चकलेटी बेनिशा हमाल र राज आचार्यलाई भित्र्याएका छौ। हेरौ पछि के हुन्छ।’

दिपकले पनि हाँस्दै जवाफ दिए, ‘मलाई अहिले नै यति चाँडो किन निकाल्न खोज्या? कसैको ईन्ट्री भयो भने पनि मेरो ठाउँमा मै हुन्छु। उहाँको ठाउँमा उहाँहरु नै हुनुहुन्छ।’

छक्कापञ्जाको पाँचौं श्रृंखला भने अब केही वर्षको ग्यापपछि मात्र आउने भएको छ। चलचित्रको स्क्रिप्ट लेख्न नै लगभग एक वर्ष लाग्ने दिपकको भनाइ छ। ग्यापको समयमा संयुक्त लगानीका केही प्रोजेक्टमा काम गर्ने दीपक–दीपाको सोच छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर