टिपरलाई ट्राफिकले दु:ख दिएको व्यवसायीको गुनासो, गिटी-बालुवा र ढुंगा ढुवानी बन्द गर्ने चेतावनी – Nepal Press

टिपरलाई ट्राफिकले दु:ख दिएको व्यवसायीको गुनासो, गिटी-बालुवा र ढुंगा ढुवानी बन्द गर्ने चेतावनी

काठमाडौं । ट्राफिक प्रहरीले दु:ख दिएको भन्दै ढुवानी र क्रसर व्यवसायीहरूले संयुक्त आन्दोलनको तयारी गरेका छन् ।

केही समय पहिले गृहमन्त्रालयले नियमविपरीत सञ्चालन भएका क्रसर उद्योग बन्द गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएपछि खानीजन्य वस्तुको ढुवानी प्रभावित बनेको थियो ।

बागमती टिपर व्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले ट्राफिकले अनावश्यक दु:ख दिएको कारणले समस्या भएको बताए ।

‘मालवाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ को अनुसूची ३ मा टिपरहरू चारपाँग्रेले ३, ६ पाँग्रे सानोले ५, ठूलोले ७.५, १० पांग्रेले १२ र १२ पाँग्रेले १४.५ घनमिटर माटो, ढुंगा, गिटी, बालुवा र राडा बोक्न पाउने व्यवस्था रहेको छ । तर, ७.५ घनमिटर निर्माण सामाग्री बोग्दा नै अहिले कारबाही गरिएको छ,’ खत्रीले भने, ‘३२ को डालामा ७.५ घनमिटर नै निर्माण समाग्री बोकेर हिँड्दा हाम्रा टिपर प्रहरीको कारबाहीमा परिरहेका छन् । सरकारी नियमअनुसार नै ढुवानी गर्दा कारबाहीमा पर्छौं भने आन्दोलनको विकल्प छैन ।’

सीडीओलाई ज्ञापनपत्र बुझाइसकेको भन्दै उनले अब आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताए ।

नेपाल क्रसर तथा खानी उद्योग संघ काभ्रोका अध्यक्ष भरत घिमिरे पनि प्रहरीको कारण क्रसरबाट निर्माण सामाग्री ढुवानीमा समस्या रहेको बताए ।

उनले भने, ‘निर्माण सामाग्रीमा नापतौल हुँदैन । तर, अहिले आएर व्यवसायमाथि नै समस्या पर्ने गरी प्रहरीले दु:ख दिइरहेको छ । खानीबाट निकालिने बस्तुलाई जोखेर टिपरमा हाल्ने भन्ने हुदैन । सिमेन्ट, डन्डी होर ? ठ्याकै १० टनभनलाई कही तलमाथि हुन्छ । तर, प्रहरीले त्यसलाई नै गल्ती भन्दै ढुवानी गर्ने टिपरहरुलाई कारबाही गरिरहेको छ । यो गलत हो ।’

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले एक सूचना निकालेर मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका (संशोधन सहित) २०७४ मा भएको व्यवस्था कडाईका साथ कार्यन्वयन गर्ने भनेको छ ।

‘यस जिल्लामा रहेका ३ वटा तौलपुल ( पनौती, पाँचखाल र नमोबुद्ध ) मा मालबाहक सवारी साधनमा अनिवार्यरूपमा तौलपुलमा भारवाहन गरी लोड सीट लिएको हुनुपर्ने व्यवस्था लागू गरिएको छ,’ सूचनामा उल्लेख छ ।

भएको के हो ? कानूनी व्यवस्था के छ ?

निर्देशिकाले ७.५ घनमिटर भनेको छ । तोकेअनुसारको घनमिटर नै निर्माण सामाग्री बोक्दा पनि कुनै वस्तु १० टनभन्दा धेरै हुन जान्छ । ओसिलो ठाउँको र पानी खाने वस्तु ७.५ घनमिटर बोक्दा नै १० टनभन्दा धेरै हुने गरेको व्यवसायीको भनाई छ ।

सरकारले सिमेन्ट र डन्डीजस्तो तौल तोकिएको वस्तुमा ६ पाँग्रे ठूला टिपर १० टन बोक्न पाउने भनेको हो । तर, प्रहरीले ढुंगा, बालुवा, गिटी र रोडालगायत ढुवानी गर्दा पनि १० टन मात्रै हुनुपर्छ भनेर दु:ख दिइरहेको व्यवसायीहरू बताउँछन् ।

‘मालवाहक सवारीको खाली वजन निर्माता कम्पनीले तयार पारेको बडीको हकमा कम्पनीले घोषणा गरे बमोजिम र निर्माता कम्पनी बाहेक अन्य पक्षले तयार पारेको बडीको हकमा सवारी दर्ता गर्ने सम्बन्धित यातायात व्यवस्था कार्यालयले निर्धारण गरे बमोजिम हुनेछ । सवारीको मालसामान राख्ने बक्सको ज्यामितिअनुसार सूत्र प्रयोग गरी सवारीले बोकेको समाग्रीको आयतनको हिसाब गर्नुपर्नेछ,’ मालवाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशका २०७४ को स्पष्टीकरण उल्लेख छ ।

व्यसायीले गाडी किन्दा नै ७.५ घनमिटर बोक्ने भनेर उल्लेख गरेका छन् । तर, कानूनी व्यवस्थाको कुनै एक पक्षलाई समायर प्रहरीले दु:ख दिएको खत्रीले आरोप लगाए ।

अहिले काभ्रेमा निर्माण सामाग्री बोकेको टिपरहरूलाई तौलपुलबाट तौल दिएर दु:ख दिइरहेको व्यवसायीहरूको गुनासो छ । अन्य जिल्लामा यस्तो व्यवस्था नरहेको व्यवसायीको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर