बढुवामा छुटेका एसएसपी सिंहको व्यंग्य- देश लुटेराहरुलाई ठूलो धक्का, बधाई छ डाक्टर साब – Nepal Press

बढुवामा छुटेका एसएसपी सिंहको व्यंग्य- देश लुटेराहरुलाई ठूलो धक्का, बधाई छ डाक्टर साब

काठमाडौं । नेपाल प्रहरीमा हालै नायब प्रहरी महानिरीक्षक (डीआईजी)का लागि भएको बढुवामा छुटेका वरिष्ठ प्रहरी उपरीक्षक चक्र सिंहले तनहुँको चुनावी परिणामलाई लिएर सरकारप्रति व्यंग्य गरेका छन् ।

मंगलबार बिहान फेसबुकमा स्टाटस लेख्दै देश लुटेराहरुलाई ठूलो धक्का लागेको उल्लेख गरेका छन् । बढुवामा छुटेका एसएसपीको व्यंग्य, ‘देश लुटेराहरुलाई ठूलो धक्का । बधाई छ डाक्टर साब ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेले तनहुँ १ मा सत्ता गठबन्धनका उम्मेदवारलाई करिब १४ हजार मतान्तरले हराउँदै जितेका थिए ।

उक्त क्षेत्रबाट वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल गत निर्वाचनमा निर्वाचित भएका थिए ।

नेपाल प्रहरीमा १३ डीआईजीको रिक्त दरबन्दीमा बढुवा सिफारिस हुँदा सिंहलाई छुटाइएको थियो । बढुवा सिफारिसविरुद्ध उजुरी परे पनि एक दिनमै छिनोफानो गरेर सिफारिसलाई सदर गरिएको थियो ।

यसअघि बढुवा सिफारिसलगत्तै पनि सिंहले सामाजिक सञ्जालमा स्टाटस लेखेर आक्रोश पोखेका थिए । आफूले सेवा सुरु गरेको २८ वर्षसम्म बढुवा कसरी भइन्छ भनेर थाहा नपाएको आशयको उक्त स्टाटस पछि हटाइएको थियो ।

त्यस्तै उनले राष्ट्रपतिबाट पदक पाएको तस्विर राख्दै पदक पाए पनि पदकको कदर नभएको उल्लेख गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *