चितवनका सीडीओ भन्छन्- मतगणनास्थलमा दलहरूले नआए हुन्थ्यो जस्तो गरे


काठमाडौं । चितवन २ को मतगणना केहीबेरमा सुरू हुँदैछ । तर, मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नजाने सहमति भएको छ ।
मतगणना सुरू हुनुअघि बसेको सर्वदलीय बैठकमा सीडीओ मतगणनास्थलमा उपस्थित नहुने सबै सुरक्षाको जिम्मा निर्वाचन अधिकृतलाई दिने निर्णय भएको थियो ।
राजनीतिक दलहरूले नै मतगणनास्थलमा आफू नआए हुन्थ्यो जस्तो गरेपछि नजाने निर्णय गरेको उनले बताए ।
उनले भने, ‘सर्वदलीय बैठकमा पनि उहाँहरूले मतगणनास्थलमा म नआए हुन्थ्यो जस्तो गर्नुभयो । त्यसैले नजाने भएको हुँ ।’
तपाईंलाई रास्वपासँग नजिक भएर काम गर्नुभयो भन्ने आरोप कांग्रेस नेताहरूले लगाएका छन् नि ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘उहाँहरूले आरोप लगाउनुभएको हो । आरोपबारे मेरो केही भन्नु छैन ।’
निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेको तथा प्रमुख जिल्ला अधिकारीले समेत एकपक्षीय निर्णयहरू लिएको भन्दै कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठका तर्फबाट हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका थिए ।