दोस्रोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री, सरकार बन्ने निश्चित नहुँदै गठबन्धनमा आलोपालो सहमति – Nepal Press
लुम्बिनी प्रदेश

दोस्रोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री, सरकार बन्ने निश्चित नहुँदै गठबन्धनमा आलोपालो सहमति

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज दोस्रोपटक विश्वासको मत लिँदैछन् । पुस २७ मा मुख्यमन्त्री बनेका गिरीले माघ ५ मा विश्वासको मत पाएका थिए । तर, चैत १२ मा ५ दलले उनीमाथिको समर्थन फिर्ता लिएपछि गिरी अल्पमतमा परेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा अहिले २९ सांसद रहेको एमाले र ४ सांसद रहेको राप्रपामात्रै सरकारमा छन् । अन्य ८ दलका ५३ सांसदले कांग्रेस दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन चैत १२ मै प्रदेश प्रमुद अमिक शेरचनसमक्ष दाबी गरिसकेका छन् । विश्वासको मत लिनुअघि मुख्यमन्त्री गिरीले माओवादी र साना दलसँग पनि छलफल गरेपनि विश्वासको मत दिनेबारे कुनै सहमति भएको छैन ।

आइतबार एमाले संसदीय दलको बैठकले सदनमा विश्वासको मत माग्ने र सबै दलसँग प्रदेशको स्थायित्वको लागि आग्रह गर्ने र त्यो सम्भावना नभए धारा ३ अनुसार सरकार गठन प्रकृयामा जानेगरी तयारी गर्ने निर्णय गरेको छ ।

कांग्रेस-माओवादी आलोपालोको सहमति

लुम्बिनी प्रदेशमा आगामी नेतृत्वका लागि गठबन्धनको नेतृत्व गरेका कांग्रेस र माओवादीले आलोपालोको सहमति गरेका छन् । दुवै दलका संसदीय दलका नेता काठमाडौं पुगेर पार्टी नेतृत्वसँगको छलफलपछि पहिलो चरणमा लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई समर्थन गर्ने सहमति भएको हो । नेपाली कांग्रेसले यसअघिको गठबन्धनमा माओवादीले आधा कार्यकाल मुख्यमन्त्री दिने बताएपनि नदिएकाले अहिले पहिलो नेतृत्व गर्ने भएको हो ।

आइतबार माओवादी लुम्बिनी प्रदेशका संसदीय दलका नेता जोखबहादुर महरा र प्रदेश अध्यक्ष सुदर्शन बरालसहितले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेर पहिलो चरणमा कांग्रेस नेतृत्वको सरकारमा जाने सहमति भएको हो । माओवादीभित्र एमाले सरकारमा सहभागी भएदेखि नै मन्त्री र मन्त्रालय बाँडफाँटमा निरन्तर विवाद भएकाले यसको पनि किनारा लगाउन टोली काठमाडौं पुगेको हो ।

विवाद बढ्दै गएर माओवादीभित्र संसदीय दलको नेता फेर्ने भन्दै एक समूहले निवेदन पार्टी केन्द्रमा दिइसकेका छन् । केन्द्रमा जस्तो समीकरण भए पनि प्रदेशमा फरक ढंगले जान पनि सकिने र एमालेले ५ मन्त्रालय दिएर मिलेर जान प्रस्ताव गरेकाले माओवादीभित्रको एक समूहले एमालेको प्रस्तावमाथि पनि छलफल हुनुपर्ने भन्दै अडान लिँदै आएको थियो । तर, माओवादीका संसदीय दलका नेता, प्रदेश अध्यक्ष र असन्तुष्ट प्रदेशसभा सदस्यसमेतले संयुक्त रूपमै दाहाललाई भेटेर सरकारमा सहभागी हुने सहमति गरेपछि त्यो सम्भावना करिब सकिएको एक नेताले बताए ।

सरकारको नेतृत्वका लागि अध्यक्ष दाहाललाई कांग्रेस संसदीय दलका नेता चौधरीले भने शुक्रबार नै भेटेर पहिलो चरणमा आफू मुख्यमन्त्री बन्ने गरी आलोपालोमा सहमति जनाएका थिए । सोमबारको प्रदेशसभा बैठकका लागि कांग्रेस र माओवादी दुवै दलका संसदीय दलका नेता आइतबार काठमाडौंबाट दाङको देउखुरी पुगेका छन् ।

कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले अल्पमतमा परेको सरकारलाई विश्वासको मत नदिनेमा माओवादी र गठबन्धनका अन्य साना दलबीच सहमति भइसकेको बताए । सरकार गठन र शक्ति बाँडफाँटको विषयमा सोमबार नै गठबन्धनका दलबीच बैठक बसेर छलफल गरिने उनले बताए ।

दुई दलबीच आलोपालो मुख्यमन्त्रीमा सहमति भए पनि मन्त्रालय बाँडफाँटमा भने चुनौती देखिएको छ । माओवादीले एमाले नेतृत्वको सरकारमा पाइरहेका मन्त्रालय नछोड्ने स्पष्ट अडान राखिसकेको छ । जनमत पार्टीले पनि मन्त्रालय नछोड्ने विषयमा छलफल गरिसकेको छ । त्यस्तै जसपाले पनि अहिलेकै मन्त्रालय लिने तयारीमै छ । लुम्बिनीमा गिरी नेतृत्वको सरकारमा माओवादीले आर्थिक मामिला, भौतिक पूर्वाधार विकास र आन्तरिक मामिला, कानूनन तथा सहकारी मन्त्रालय पाएको थियो । त्यस्तै जनमत पार्टीले सामाजिक विकास र जसपाले कृषि तथा भूमि व्यवस्था मन्त्रालय पाएको थियो । जनमत पार्टीका नेता एवं पूर्वमन्त्री चन्द्रकेश गुप्ताले कांग्रेससँगको छलफलमा आफ्नो दलले पहिलेकै मन्त्रालय पाउने र अन्य दललाई पनि पुराना मन्त्रालय यथावत् राख्ने गरी प्रारम्भिक छलफल गरिएको बताए ।

अहिले सरकारको नेतृत्व गरेको एमालेले विश्वासको मत नपाए धारा ३ अनुसार ठूलो दलको हैसियतमा सरकार बनाएर सरकारको आयु लम्ब्याउन योजनामा भएपनि ८ दलीय गठबन्धनले २ अनुसार नै सरकार बनाउनेगरी प्रदेश प्रमुखलाई दाबी पेश गरेका छन् । दुवै पक्षले आफू अनुकूल कानूनको व्याख्या गरेपनि प्रदेश प्रमुखले कुन धारा प्रयोग गर्छन् भन्ने संकेत गरेका छैनन् ।


प्रतिक्रिया

One thought on “दोस्रोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री, सरकार बन्ने निश्चित नहुँदै गठबन्धनमा आलोपालो सहमति

  1. I think nepal press should highlight what happened to sudur pradesh. Previous government could not get vote and now government is from largest party, should not all states should have same law.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर