‘चार वर्षअघि पाकिस्तानलाई हराएका थियौं, अहिले भारतलाई हराउँछौं’ (भिडिओ) – Nepal Press
नेपाल टक

‘चार वर्षअघि पाकिस्तानलाई हराएका थियौं, अहिले भारतलाई हराउँछौं’ (भिडिओ)

राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेटकी कप्तान भट्टराई भन्छिन्- पाँचवटै खेल जित्ने लक्ष्य राखेका छौं

पोखरा । नेपाली राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट टीमले सन् २०१९ मा पाकिस्तानसँग अन्तर्राष्ट्रिय सिरिज खेल्यो । उक्त सिरिज अन्तर्राष्ट्रिय मान्यता प्राप्त थियो । नेपाली राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट टोलीले विदेशमा गएर खेलेको पहिलो अन्तर्राष्ट्रिय सिरिज पनि यही थियो । ६ खेलको उक्त सिरिजमा नेपालले ४ खेलमा जीत हासिल गरेको थियो । त्यसपछि केही घरेलु प्रतियोगिता भए पनि अन्तर्राष्ट्रिय खेल हुन सकेको छैन ।

क्रिकेट एसोसिएसन अफ ब्लाइन्ड (क्याब) ले नेपाल र भारतको दृष्टिविहीन महिला अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेपालमै आयोजना गरेको छ । वैशाख १२ गते सुरु हुने उक्त सिरिजका खेलहरु पोखरा र काठमाडौंमा हुनेछन् । १५ सदस्यीय नेपाली राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट टोली यतिवेला बन्द प्रशिक्षणका लागि पोखरामा छन् । टोलीको नेतृत्व ४ वर्षअघि पाकिस्तानसँगको सिरिजमा कप्तानी गरिसकेकी भगवती भट्टराईले गरेकी छन् ।

आउँदो सिरिजका लागि नेपालको तयारी र दृष्टिविहीन महिला क्रिकेटको विषयमा कप्तान भगवती भट्टराईसँग नेपालप्रेसकर्मी रिखिराम जिसीले गरेको कुराकानीको सम्पादित अंशः

– खेल सुरु हुन धेरै दिन बाँकी छैन । तयारी कस्तो छ ?

चैत १५ देखि हाम्रो प्रशिक्षण निरन्तर चलिराखेको छ । हामीले सोचेभन्दा राम्रो भइसकेको छ । हामी तयारीको अन्तिम चरणमा पुगेका छौं । यसपटक हामीले राम्रो तयारी गरिसकेका छौं । हाम्रा गुरुहरुले राम्रोसँग सिकाउनुभएको छ । लगभग तयारी पूर्ण रुपमा भइसकेको छ ।

– प्रशिक्षण कस्तो भइरहेको छ ?

तयारीका लागि महत्वपूर्ण त ग्राउन्ड थियो । सुरुदेखि हामीले प्रयोग गर्न पाएनौं । ग्राउन्ड प्रयोगमा ल्याएको वैशाख ५ गतेदेखि हो । त्यसभन्दा अघि विभिन्न प्रतियोगिता चलिरहेको थियो । हामीले जति अनुरोध गरे पनि बेलामा पैसा तिर्न नसकेर ग्राउन्ड पहिलै बुकिङ भइसकेको थियो । हामीले भनेको समयमा उपलब्ध हुन सकेन । हामीलाई चाहिने सामान बल र ब्याट सुरुसुरुमा थिएन । हामी पुरानो ब्याटले खेलेका थियौं । १०-१५ दिनपछि हामीलाई केन्द्रबाट पूर्ण रुपमा नभए पनि केही रुपमा उपलब्ध गराउनुभयो ।

– पहिला पाकिस्तानलाई त जित्नुभयो । अब भारतसँगको प्रतिस्पर्धा कस्तो रहला ?

हामीले त्यतिबेला पनि ग्राउन्ड पाएका थिएनौं । कहिले भक्तपुरको आर्मी ग्राउन्डमा खेलेका थियौं भने कहिले मूलपानी ग्राउन्डमा खेलेका थियौं । भक्तपुरको ढुंगैढुंगा भएको पिचमा खेलेका थियौं । १०-१२ दिनपछि मात्रै हामीले मूलपानी ग्राउन्डमा खेल्न पाएका थियौं ।

चैत १५ देखि हाम्रो प्रशिक्षण निरन्तर चलिराखेको छ । हामीले सोचेभन्दा राम्रो भइसकेको छ । हामी तयारीको अन्तिम चरणमा पुगेका छौं । यसपटक हामीले राम्रो तयारी गरिसकेका छौं ।

त्यतिबेलाको अवस्था र अहिलेको पोखराको प्रशिक्षणको अवस्थामा धेरै अन्तर छ । त्यतिबेला ग्राउन्ड पिच थिएन । अहिले पोखरामा बाहिरी ग्राउन्ड पाए पनि ठीकै खालको छ । ढुंगाहरु छैन, नेटहरु दिनुभएको छ । नेटहरु प्रयोग गर्नु भन्नुभएको छ । मेयर साबहरु, बाहिरी समर्थकहरु पहिलाभन्दा पोखरामा आइराख्नुभएको छ । पोखरामा बन्दसत्र राखेर हामीलाई धेरै सपोर्ट मिलेको छ ।

– पाकिस्तानसँग खेल्दाकै ९ जना खेलाडी अहिले पनि हुनुहुन्छ, अहिलेको टीम कस्तो बनेको छ जस्तो लाग्छ ?

पहिलाको टीम र अहिलेको टीम लगभग उस्तैउस्तै छ । ४ वर्षको ग्यापले गर्दाखेरी पहिलाभन्दा फिजिकल फिटनेसमा कमजोर भएका थियौं । तर, अहिले फिजिकलमा पनि ठीकै छौं, उमेरले गर्दा पनि ठीकै छौं । पहिलेभन्दा फिजिकल फिटनेस घट्ने नै भयो । बसेर खाएको शरीर एक्कासि ग्राउन्डमा आएर खेल्दाखेरी त फिजिकल कमजोरी छ । त्यही पनि एक महिनाको प्राक्टिसले हामीलाई पूर्ण बनाएको छ । टीम चाहिँ पहिलाको भन्दा राम्रो छ ।

– ४ वर्ष अन्तर्राष्ट्रिय खेलहरु भएन, बीचको समय कसरी बिताउनुभयो ?

म शिक्षक हो । मेरो घर पोखरा हो । बिहानभरि घरको काम, दिउँसो विद्यालयको काम, मेरो दुईजना बच्चा छन् । मेरो यसरी नै दिन बितेको छ भने अरु कोही पढ्नुहुन्छ, कोही घरायसी काम गर्नुहुन्छ । हाम्रो समय यसरी नै बित्यो भनम् न ।

– भारत बलियो प्रतिस्पर्धी हो भन्ने लाग्छ कि लाग्दैन ?

भारत क्रिकेटमा एकदम अगाडि छ । हामी खेलेको १६-१७ वर्ष भयो भने भारत हामीभन्दा पहिलेबाट खेलेको हो । तर, भारतको टीम बलियो थिएन । उसले महिलाको टीमलाई अगाडि लिन चाहेको थिएन । जब महिलाको टीम बलियो बन्छ, अनि अगाडि ल्याउँछु भन्ने उसको सोच थियो । तर, खेल्न चाहिँ हामीभन्दा पहिलेबाट भारतका महिला दृष्टिविहीन टीम खेलिसकेको थियो ।

भारतभन्दा हामी केही कम छैनौं । पाकिस्तानलाई हामीले त्यस्तो सोच्थ्यौं । जब त्यहाँ गएर खेल्न सुरु गरियो । एक खेल खेलियो । हुन त उहाँहरु (पाकिस्तान) हामीभन्दा हिट हुनुहुन्थ्यो । तर, खेलिसकेपछि यत्तिको हुनुहुने रहेछ भन्ने हाम्रो मनमा भयो । भारतीय टीम पनि राम्रो छ । तर, हामी दोस्रो महिला दृष्टिविहीन क्रिकेट जित्ने सक्दो प्रयास गर्छाैं । जसरी हुन्छ अहिलेको भारतसँगको खेल जित्नैपर्छ ।

– लक्ष्य के राख्नुभएको छ ?

पाँचवटै खेल जित्ने लक्ष्य राखेका छौं ।

– त्यसपछि कुनै प्रतियोगिता हुने जानकारी पाउनुभएको छ ?

सुन्नमा आएको छ हामीले भारतलाई जित्यौं भने पाकिस्तानले तुरुन्त बोलाइहाल्ने सुन्नमा आएको छ । हाम्रो क्याप नेपालसँग पनि खासै पैसा छैन । अहिले हामीलाई भारतीय दूतावासले सहयोग गरिराख्नुभएको छ, ड्रेसका लागि । हामीले सहयोग पाइयो भने खेलाडीहरुलाई ६ महिनामा, १ वर्षमा क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गराउन पाए हुन्थ्यो । फिजिकल रुपमा उनीहरुलाई फिट बनाउन पाए हुन्थ्यो र यसका लागि हामीलाई साथ, सर्पाेट सबैले गरिदिए अति राम्रो हुन्थ्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर