उपनिर्वाचन भएका तीन क्षेत्रमा अघिल्लोपटक विजयी हुने उम्मेदवारको कति थियो मत ? – Nepal Press

उपनिर्वाचन भएका तीन क्षेत्रमा अघिल्लोपटक विजयी हुने उम्मेदवारको कति थियो मत ?

काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत आइतबार मतदान सकिएको छ । तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचनको मतदान सकिएको हो । अब आवश्यक प्रक्रिया पूरा भएपछि मत गणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

गत मंसिरमा भएको निर्वाचनमा तनहुँ १ मा रामचन्द्र पौडेल, बारा २ बाट रामसहायप्रसाद यादव र चितवन २ बाट रवि लामिछाने निर्वाचित भएका थिए ।

तनहुँ १ मा रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएका थिए । उक्त क्षेत्रमा दोस्रो भएका नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९८१ मत पाए थिए । यहाँ खसेको कुल मतमध्ये ६२ हजार ६९५ सदर भएको थियो ।

यस क्षेत्रबाट निर्वाचित पौडेल राष्ट्रपति निर्वाचित भएपछि आज यहाँ उपनिर्वाचन भएको हो ।

यस्तै बारा २ मा रामसहायले १३ हजार ८२२ मत ल्याएका थिए । दोस्रो स्थानमा रहेका उम्मेदवार तत्कालीन सत्ता गठबन्धनबाट माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए । त्यस वेला बारा २ मा खसेको मतमध्ये ६३ हजार ७४२ मत सदर भएको थियो ।

यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा क्षेत्र नं २ सांसद रिक्त हुन पुगेको थियो । उक्त बेला दोस्रो स्थानमा रहेका कुशवाहा यसपटक जनमत पार्टीबाट उम्मेदवार बनेका छन् ।

चितवन क्षेत्र नं २ बाट मंसिर ४ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ४९ हजार ३०० मत ल्याएर निर्वाचित भएका थिए । उनी नागरिकता मुद्दामा दोषी ठहर भएपछि उनको क्षेत्र पनि रिक्त हुन पुगेको थियो । आज भएको उपनिर्वाचनमा रवि पुनः चुनावी मैदानमा छन् ।

मंसिर ४ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ १४ हजार ९८८ मत ल्याएर दोस्रो भएका थिए । त्यस वेला खसेको मतमध्ये ८० हजार ७५३ मत सदर भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर